जिल्ला समाचार

अभिभावक बिहिन गुल्मीका ४ बालबालिका एसोएस भर्ना

टोपलाल अर्याल
गुल्मी, २० मंसिर । गुल्मीमा लामो समयदेखि अभिभावक बिहिन चार बालबालिकालाई एसोएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसोएसले संरक्षण गरेको छ । मदाने गाउँपालिका ५ मलायगिरीका ४ बर्षीय बालक कुलदिप र १३ बर्षीया बालिका लक्ष्मी विक चार बर्षदेखि अभिभावक बिहिन थिए । मालिका ३ ह्वाङदीका ५ बर्षीय सन्दिप र ३ बर्षीय प्रदिप घर्ति मगर १४ महिनादेखि अभिभाव बिहिन भएका थिए ।

लामो समय बालबालिकाको बिचल्ली भएपछि इन्सेक गुल्मीसंग आफन्त र वडा कार्यालयबाट संरक्षणमा पहल गर्न निवेदन पेश भएको थियो । बालबालिकाको संरक्षण गर्न इन्सेकको पहलमा जिल्ला प्रशासन कार्यालय र दुवै स्थानीय तहको समन्वयमा एसोएसमा बालबालिका भर्ना गरिएको हो ।

मदानेका दुई दिदि भाई गाउँपालिका उपाध्यक्ष सरिता खड्का र मालिकाका दुई दाजुभाई वडाध्यक्ष राजकुमार विकले एसोएसमा लगेर भर्ना गरेका हुन् । एसोएस भैरहवाको टोलीले ११ कार्तिमा गाउँ आएर बालबालिकाको वास्तविक अवस्था प्रतिवेदन बनाएको थियो । प्रतिवेदनको आधारमा बालबालिकालाई एसोएस बालग्राममा भर्ना गरिएको कार्यालय प्रमुख गोविन्द ढकालले जानकारी दिए ।

भर्ना भएका मध्ये दिदि लक्ष्मी विक काठमाण्डौ होटलमा काम गर्थिन् । ढकालले अभिभावक बिहिन बालिका होटलमा बालश्रम गरिरहेको पाइएपछि एसोएसको प्रतिवेदनका आधारमा बालिकालाई होटलबाट समेत उद्धार गरिएको बताए । एसोएसको सिद्धान्तमा पनि भाई बहिनीलाई छुटाउनु नपाइने भएकाले होटलबाट समेत उद्धार गरेर संरक्षण गर्न पाएकोमा ढकालले खुसी व्यक्त गरे ।

गाउँमा निकै बिचल्लीमा परेका बालबालिकाको उद्धार भएपछि निकै खुसीको महसुस गरेको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन् । ‘सवैको मेहेनतपछि बालबालिकाको उद्धार गर्न पाएका छौ । स्थानीय तहको पनि ठुलै उपलब्धि हो,’उनले भनिन,‘दुई बषदेखि प्रयत्न गर्ने इन्सेक गुल्मी र समन्वय गर्ने सिडिओ सापहरु एवं सहयोग गर्ने सवैप्रति आभारी छौ ।’

एकै परिवारका चार जनाको मृत्यु

मदाने ५ का लक्ष्मी र कुलदिप विकका बुबा आमा चार महिनाको फरकमा बिते । बुबा मीन बहादुर विक ०७६ बैशाखमा बिते । आमा जुठी विक सोहि बर्षकै भदौमा बितिन । मीन बहादुर विक भारतमा मजदुरी गर्थे । मीन बहादुरका १४ बर्षीया छोरी अस्मिता विक र २१ बर्षीय छोरा सुर्य विकको पनि केहि बर्ष पहिले भारतको जीरापुरमा गाडीले ठक्कर दिएर मृत्यु भएको थियो ।

छोरीको मृत्युको चोट नसेलाउँदै कमाउन थालेको छोराको पनि मृत्यु भएपछि शोक र रोगले मिन बहादुर थला परे । भारतमै दुई छोराछोरीसहित श्रीमानको ज्यान गएपछि तीन छोराछोरी बोकेर जुठी गाउँ आएको वडाध्यक्ष हिमाल खड्काले जानकारी दिए । गाउँ आउने बित्तिकै बिरामी परेकी आमा पनि बितिन । जसका कारण बालबालिका बिचल्लीमा परे ।

बालबालिकाको टाउको ओत्ने घर थिएन । एक टुक्रो जमिक पनि साहुको बन्धकीमा रह्यो । लक्ष्मीले डेढ बर्षको दुधे भाई र ९ बर्षकी बहिनी मोनिका हुर्काइन । मिठो खाएनन । स्कुल पाएनन् । दैनिक अवस्था बल्झिदै गएपछि केहि समय अघि बहिनी मोनिका भारत आफन्तसंग गइन् । लक्ष्मीले काठमाण्डौ होटलमा मजदुरी गर्न थालिन । भाइ गाउँमै आफन्तको थिए । मोनिका भारतबाट नआएकाले अहिले लक्ष्मी र कुलदिपलाई एसोएसमा संरक्षण गरिएको वडाध्यक्ष खड्काले बताए ।

बाबुले आत्महत्या गरे आमाले छोडिन

मालिका गाउँपालिका ३ का चन्द्र बहादुर घर्ति मगरले ११ असोज ०७७ मा आत्महत्या गरे । दशैको अर्को दिन आत्महत्या गरेकाले परिवार शोकमा डुब्यो । श्रीमान बितेपछि पाँच महिना नपुग्दै फागुनमा टीका घर्तिमगर अर्कैसंग बिबाह गरेर घर छोडिन् । ५ बर्षीय सन्दीप र ३ बर्षका प्रदिप घर्ति मगर घरमै अलपत्र परे । अभिभाव बिहिन बालक करिव एक बर्षदेखि गाउँमै अलपत्र थिए ।

उचित खानपान र स्याहारको अभावमा दुई भाईनै शारिरीक रुपमा तन्दुरुस्त छैनन् । सन्दीपले एक आँखाले देख्दैनन् । भने प्रदिपमा पनि कुपोषणको समस्या रहेको मालिका गाउँपालिका ३ का वडाध्यक्ष राजकुमार विकले जानकारी दिए । ‘गाउँमा उनीहरुको अवस्था देख्दा भक्कानो फुट्थ्यो । अभिभावनै नभएपछि अरुले कतिन्जेल सहयोग गर्ने,’उनले भने,‘इन्सेक र एसोएसले निकै ठुलो गुण लगाउनु भएको छ ।’

मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले दुई दाजुभाईको अवस्था देखेर पनि स्थानीय तहको तर्फबाट संरक्षणको लागि केहि गर्नु नसक्नु बिडम्बनाको बिषय भएको बताए । आफुहरुले पाँच बर्षमा भौतिक पुर्वाधारसंगै आर्थिक समाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेपनि बालकहरुको अवस्थाले कम्जोर महसुस भएको गिरीले बताए । उनले जिल्लामा सवै स्थानीय तहको पहल र समन्वय भए अनाथ बालबालिकाहरुकाहरुको लागि राम्रो काम गर्न सकिने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D