gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

सरुवाले कर्मचारी आतंकित

घनश्याम गौतम
गुल्मी आश्विन ५ । निर्वाचन आचारसंहिता जारी रहेकै बेला धमाधम सरुवाका पत्र आउन थालेपछि कर्मचारी आतंकित भएका छन्। गृह, भूमिसुधार, सञ्चार र स्थानीय मन्त्रालयअन्तर्गतका धेरै कर्मचारी सरुवा भएका छन्। सरुवाले सेवाग्राहीको बढी भीड हुने कार्यालयका काम प्रभावित भएका छन्। जनस्वास्थ्य कार्यालयले पनि कर्मचारी सरुवा गर्दाको असर बिरामीको उपचार सेवामा परेको छ।

सामान्य प्रशासनले मालपोत कार्यालय मजुवाका नासु हरिहर गौतमलाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरेपछि कार्यालय कर्मचारीविहीनजस्तै भएको छ। साबिकका २८ गाविसलाई सेवा दिँदै आएको कार्यालयमा अहिले कार्यालय प्रमुख रामप्रसाद भुसाल र नासु डिल्लीराज गौतम मात्र छन्। १४ जनाको दरबन्दी रहेको कार्यालयमा ४ कार्यालय सहयोगीसहित ६ कर्मचारी छन्। ‘सेवा दिनै नसकिने अवस्था आयो,’ भुसालले भने, ‘दुई कर्मचारीले कसरी दैनिक ७ जनासम्म सेवाग्राहीलाई सेवा दिन सकिन्छ।’

जिल्ला प्रशासन कार्यालयबाट ४ जनाको सरुवा भएको छ। प्रशासकिय अधिकृत भक्तिराम मरासिनीलाई प्यूठान जिल्ला प्रशासन कार्यालय, नासु शालिकराम गैरेलाई जिसस र अर्का नासु नुमलाल पन्थीलाई जिसस अर्घाखाँचीमा सरुवा गरेको छ। दुवैलाई भदौ १६ को मितिमा सरुवापत्र आएको छ। त्यस्तै गृहअन्तर्गतकै कारागार शाखामा कार्यरत रामप्रसाद पन्थीलाई पाल्पा कारागारमा सरुवा गरिएको छ। निर्वाचन आयोगले भदौ १६ गतेदेखि आचारसंहिता लागू भएको जनाएको छ। ‘आयोगले आचारसंहिता भन्छ, मन्त्रालयहरूले धमाधम सरुवा गर्दै छन्’, प्यूठान जिप्रकामा सरुवा भएका भक्तिराम मरासिनीले भने, ‘आचारसंहिता कहाँ र कसका लागि लगाएको हो, जानकारी भएन।’ पछिल्लो एक सातादेखि धमाधम पत्र आउन थालेपछि धेरै कर्मचारी आतंकित हुन थालेको उनले बताए। मालपोत कार्यालयका रोमनाथ भुसाल र नापी कार्यालयका डिलबहादुर थापाको पनि जिससमा सरुवा गरिएको छ।

त्यस्तै जनस्वास्थ्य कार्यालयले पनि अव्यवस्थित ढंगले स्वास्थ्यचौकीका कर्मचारीलाई स्थानीय तहमा सरुवा गर्न थालेपछि स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहीन भएका छन्। शान्तिपुर हेल्थपोस्टका इन्चार्ज ढकनारायण थापा र हेल्थ असिस्टेन्ट सन्तोष पुन दुवैलाई चन्द्रकोट गाउँपालिकामा सरुवा गरिएको छ। दुवै गापामा हाजिर हुन थालेपछि हेपो स्वास्थ्यकर्मीविहीन हुँदा दैनिक १ सय ५० बिरामी प्रभावित हुने गरेका छन्। ‘दुवै स्वास्थ्यकर्मी नहुँदा बिरामी समस्यामा छन्,’ स्थानीय भरत कुमालले भने, ‘बिरामी जाँच्ने स्वास्थ्यकर्मीलाई गापामा कामविहीन गराएर राखिएको छ।’ हेपो इन्चार्ज थापाले भने सरुवाको पत्र आएपछि गापामा नियमित हाजिर हुने तर गम्भीर बिरामी आए हेपोमा गएर सेवा दिने गरेको बताए।

ट्रेड युनियनका अध्यक्ष जयश्वर पन्थीले सामान्य प्रशासन मन्त्रालयले छलफलबिना नै रातारात सरुवा गरेको जनाए। ‘अहिले निजामती कर्मचारीहरू त्रसित अवस्थामा छन्,’ उनले भने, ‘कुनै संघ, संगठन तथा आधिकारिक ट्रेड युनियनसँग कुनै छलफल नगरी सरुवा गर्दा अस्तव्यस्त भएको अवस्था छ।’ त्यसले कतै कर्मचारी बढी हुने, कुनै कार्यालय कर्मचारीविहीन अवस्थामा पुगेको उनले बताए। प्रशासनमा कार्यरत भन्दै सामान्यले राजेन्द्र रेग्मीको सरुवा गरेको छ तर त्यो नामका कर्मचारी प्रशासनमा नभएको उनले बताए।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D