अनिल खत्री
१७ फागुन, गुल्मी । गुल्मीको रिडी रुरुमा प्रथम आईटि एफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । जिल्लाको रुरु गाउँपालिका १ स्थित रिडीमा आईटिएफ तेक्वान्दो डोजाङ्ग गुल्मीको आयोजनामा सुुरु भएको हो ।
खेलको शुक्रवार प्रदेश नम्बर ५ का बिशेष अधिकार समिति सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन् । खेलदकुद क्षेत्रको बिकासको निम्ति प्रदेश सरकार लागि परेको बताए । उनले बिभिन्न खेलकुद क्षेत्रको बिकासको निम्ति बजेटको व्यवस्था गरेर अगाडी बढ्ने बताए । उनले खेलकुद क्षेत्रले नेपाल र त्यसमा पनि गुल्मीले पनि धेरै प्रगती गरिरहेको बताए ।
पछिल्लो समयमा यता गुल्मीमा बिभिन्न क्लव संघ संस्थाहरु बिभिन्न खेलकुद आयोजना गरेर खेलक्षेत्रलाई अगाडी ल्याउन खोजि रहेको बताए । रुरु क्षेत्रलाई खेल क्षेत्रको माध्यमबाट पनि चिनाउने र पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आईटिएफ तेक्वान्दो डोजाङ्ग गुल्मीका अध्यक्ष विकल पौडेलले जानकारी दिए ।
प्रतियोगितामा प्रदेश नम्बर ४ र ५ का १७ जिल्लाका २ सय २५ जना खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ देखि ५५ केजी समुहका महिला र पुरुषको छुट्टाछुट्टै खेल सञ्चालन भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने महिला पुरुषलाई मेडल, प्रमाणपत्र र ट्रफि दिइने आयोजकले जनाएको छ । प्रतियोगिता १८ शनिवार सम्पन्न हुने आयोजकले जनाएको छ ।