टोपलाल अर्याल
गुल्मी, २१ बैशाख । व्यावसायीले सिण्डीकेट खारेज गर्ने सरकारको निर्णय बिरुद्ध सार्वजनिक यातयात बन्द गरेपछि नागरिकलाई सास्ती भएको छ । बन्दका कारण जिल्लाबाट लामो तथा छोटो दुरीका सार्वजनिक यातयातका साधन छुटेका छैनन् । जसका कारण यात्रुहरुले प्राइभेट गाडीमा चर्को मुल्य तिरेर यात्रा गर्न बाध्य भएका छन् ।
गाउँबाट सदरमुकाम आउने, फर्कर्ने तथा जिल्ला बाहिर जाने नागरिकले समेत प्राइभेट गाडी रिर्जभ गरेर पुग्नु पर्ने बाध्यता रहेको पत्रकार शिवलाल सुवेदीले बताए । ‘रिर्जभ नगेरसम्म गन्तव्यमा पुग्न नागरिकलाई समस्या छ, ’उनले भने, ‘मौका समातेर प्राइभेट गाडीले पनि चर्को मुल्य असुलेका छन् ।’ यातयात व्यावसायीले सार्वजनिक यातयातका साधन बसपार्क र सडकमा नचलाएर राखेका छन् । भने बस तथा टीकट काउण्टर बन्द रहेका छन् ।
गुल्मीका प्रजिअ कोशलराज शर्माले आफुले व्यावसायीहरुलाई बोलाएर सौहार्दपूर्ण रुपमा सवारी संचालन गर्न निर्देशन दिएको बताए । तर जवरजस्ती कसैलाई नगरिएको उनले बताए । गुल्मीमा मुख्य रुपमा गुल्मी यातयात, पश्चिम नेपाल बस व्यावसायी समिति र रेसुंगा मिनि माइक्रो समितिका सार्वजनिक सवारी साधन संचालनमा रहेका छन् । गुल्मी यातयात व्यावसायी समितिका कार्यालय प्रमुख डोल बहादुर कुवंरले आफुहरु पनि महासंघमा आवद्ध भएकाले माथीको निर्देशनको पालना गर्न बाध्य भएको बताए ।
बैशाख २२ गते पनि बिप्लप नेतृत्वको नेकपा माओवादीले आम हड्तालको आव्हान गरेकाले नागरिकमा अझै अन्यौलता छाएको छ ।