कमल पौडेल
३० फाल्गुण, बडिगाड, बागलुङ। दादुरा रुवेला खोप अभियान २०७६÷७७ अन्तरगत बडिगाड गाउँपालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रम गाउँपालिकाको सभाहल खार बजारमा सम्पन्न भएको छ। सो कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सवै स्वास्थ्यकर्मि तथा जनप्रतिनिधिलाई इमान्दारी पुर्वक जिम्मेवारी बहन गर्न आग्रह गर्नुभएको छ। एक जनाको हेलचेक्राईले कैयौँ बालक खोपवाट छुट्न सक्ने भन्दै सवै प्रकारका महामारी विरुद्ध एकजुट हुन आह्वान समेत गर्नुभएको छ। कार्यक्रममा बडिगाड गाउँपालिकाका सवै कार्यपालिका सदस्यहरु तथा बडिगाड भित्रका स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो। सो कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखाका चुरामणि कँडेलले गर्नुभएको थियो।
त्यस्तै दगातुन्डाडा स्वास्थ्य चौकी अन्तरगत खर्वाङ स्वास्थ्य इकाई र सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रम जिल्ला समन्वय समितिको हल खर्वाङमा सम्पन्न भएको छ। सो कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचनले वडा नं. २ का ९ महिना देखि ५ वर्ष भित्रका सवै बालवालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप पुग्नुपर्ने त्यसको लागी वडाको तर्फवाट पूर्ण सहयोग रहने बताउनु भएको थियो। कार्यक्रम दगातुन्डाडा स्वास्थ्यचौकीका इन्चार्ज हेम पुनको सहजिकरणमा सम्पन्न भएको थियो।