Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गाउँपालिकाले जोतिदिएको खेतमा धान पहेँलै झुल्यो - Gulminews

गाउँपालिकाले जोतिदिएको खेतमा धान पहेँलै झुल्यो

गुल्मी, मंसिर ०७ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ ।

गाउँपालिकाले भूमि बैंकमार्फत जग्गाको तथ्याङ्क सङ्कलन गरी किसान र भूमिबीचको समन्वय गरेको थियो । स्थानीय किसानको १२ वर्षदेखि बाँझो खेतमा अहिले धान झुलेको छ । एकातर्फ काम गर्नेहरुको जग्गा नहुने र अर्कोतर्फ जग्गा भएकाहरुले काम नगर्ने वा बसाइँसराइ गरेर अन्यत्रै बस्ने गरेकाले गाउँपालिकाले भूमि बैंकको अवधारणा कार्यक्रम अगाडि सारेको हो । उक्त कार्यक्रमअन्तर्गत काम गर्न चाहने किसान र बाँझो जग्गाको लगत सङ्कलन गरिन्छ । गाउँपालिकाले काम चाहनेलाई खेत उपलब्ध गराई खेती गर्न प्रोत्साहित गर्ने गर्दछ ।

गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले भूमि बैंकमार्फत झण्डै २०० रोपनी बाँझो जग्गा जोतिएको जानकारी दिए । गाउँपालिकाले बाँझो जग्गाको लगत सङ्कलन गरी काम गर्न इच्छुक किसानलाई खेत प्रदान गर्ने थापाले बताए । यसका साथै खेतमा पहिलो चरणमा राख्ने रासायनिक मल पनि गाउँपालिकाले नै प्रदान गर्ने जानकारी दिए । गाउँपालिकाको यसै काममार्फत वडा नं ६ कुमालटारीमा १०० रोपनी बाँझो खेत जोती धानखेती गरिएको छ ।

कुमालटारी खाद्यान्न तथा तरकारी उत्पादक कृषक समूहका सदस्य बद्रीनाथ अर्यालले गाउँपालिकाले ट्र्याक्टरको प्रयोग गरी निःशुल्क खेत जोतिदिएकाले आफूहरुमा काम गर्ने उत्साह पलाएको बताए । स्थानीय किसान यमबहादुर शाहीले १२ वर्षदेखि बाँझो खेतमा अहिले यसरी लहलह धान झुल्ला भनेर आफूले नसोचेको बताए । ‘बसाइँसराइले गर्दा मानिसले गाउँ छाडेपछि खेत पनि बाँझो भए । गाउँपालिकाले भूमि बैंकमार्फत बाँझो जग्गा जोतिदिने अभियान ल्याएपछि कुमालटारीका युवा सामूहिक खेतीतर्फ आकर्षित भएका छन्’, उनले भने ।

उक्त कार्यक्रमअन्तर्गत अहिले करिब ३० जनाको ६० रोपनी खेतमा १५ जना मिलेर सामूहिक धानखेती गरेका छन् । यसमा रु ७५ हजार लागत परेको र १०० मुरी धान उत्पादन हुने लक्ष्य छ । समान परिश्रम र समान प्रतिफल हुने नियम बनाइएको छ ।

कुमालटारीमा मात्रै १०० रोपनी खेतमध्ये व्यक्तिगत र सामूहिकमा गरी कूल ८५ मुरी धान उत्पादन भइसकेको शाहीले बताए । रेसुङ्गा नगरपालिका र गुल्मीदरबारको बठुकारखोला भन्ने छ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको छ ।

गाउँपालिकाको उक्त कार्यले किसानमा खुशी छाए पनि गाउँको बसाइँसराइ रोक्नका लागि कृषिमा थप योजना ल्याउनुपर्ने कृषकको भनाइ छ । कृषक कृष्णप्रसाद ज्ञवालीले थप कृषि औजार, आवश्यक मललगायतको व्यवस्था हुनुपर्ने धारणा राखे । रासस

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D