पुरन राजकोटी मगर
कोरोनाको कहरमा विभिन्न रहरले औधी छ्लाङ मार्दै स्वदेशमा नै केहि गर्नुपर्छ भन्ने सोचको बिकास गरेको परिवेशमा एउटा यात्रा अविस्मरणीय रह्यो जुन धेरै वर्ष अघिको भीषण चाहना थियो । आज पुरा हुने लगभग पक्का थियो तर भएन । म एउटा विकट गाउँमा जन्मेको सामान्य परिवारमा हुर्केको युवा । करिब १२-१३ बर्ष सम्म मेरो जन्म भएकै ठाउँमा ब्यतित गरें जहाँ हजारौं संख्यामा प्राकृतिक सौन्दर्यताका प्रतिकहरु थिए । त्यसैले बाल्यकालमा प्रकृतिसंग परम मित्रता थियो मेरो र त अहिले मलाई आफुलाइ प्रकृती संगै विलीन हुन मन लाग्छ, आफैलाइ प्रकृती प्रेमी भन्न मन लाग्छ ।
चराहरु जस्तै घुमन्ते जिन्दगीको स्वादको खोजी गर्दै लुम्बिनी अञ्चलकै ऎतिहासिक थाप्ले लेक हेर्ने ठुलो चाहानासंगै आजको यात्रा सुरु भयो है………..
स्वागत छ तपाइलाइ पर्यटकीय क्षेत्र सानो सत्यवतीमा । तल्लो सत्यवती सम्मको बोलेरो यात्रा खासै आनन्दित भएन किनभने गाडीमा हिँड्न खासै मन पर्दैन मलाई । बरु पैदल यात्रा साथीहरूसंगै तितामिठा गफ गरेर हिँड्न मन लाग्छ । तल्लो सत्यवती सम्म बोलेरोमा सवारपछि बुढी सत्यवती सम्मको यात्रा भने हामी पैदलमार्ग हुँदै हिडेर नै पुग्नुपर्ने थियो । हामी हिँड्न सुरु गर्यौं । झन्डै दिउँसोको १२ बजेतिर हामीले हाम्रो बुढी सत्यवतीको लागी यात्रा तय गरेका थियौं ।
यात्राको सहयात्रीहरु चाहिँ मसंग ६ जना थियौं, सबै नयाँ अनुभवकै लागी जानुपर्ने थियो । म बाहेक केहि चाँही पहिलेनै बुढी सत्यवती पुगिसकेका रहेछन् तर बाल्यकालमा । जे होस् जान्ने भए देखीको समग्रमा हामी सबैको पहिलो अनि फरक अनुभव थियो । जब म अगाडि बढ्ने क्रममा उकाली चढ्न थालेँ मेरो मन बुढी सत्यवतीको शिरमा पुग्दै थियो । अनि खुट्टा अगाडि बढ्दै थियो, शरीरबाट खलखली पसिनाले मेरो टिसर्टलाइ भिजाउँदै थियो । तर पनि यात्रा गन्तव्य तर्फ उन्मुख थियो । विभिन्न खुराकयुक्त मसलेदार गफगाफ गर्दै बनजंगल र वनपैदावरहरुसंग सामीप्यता बढाउँदै हामी पाठा पोल्ने डाँडामा पुग्यौं । त्यँहा केहि समय बसेर झोलिमा बोकेर लगेका पानीले प्यास मेट्नको लागी केहि समय बिश्राम गर्ने निर्णय गर्यौँ । त्यसैबिचमा मादलसंगै एउटा गित गाएर हामी फेरि उकाली लाग्दै गर्दा उच्च भुभागमा अक्सिजनको मात्रा काम भएकोले पनि होला हिँडाइमा अलि असहज भएको भान भयो ।
हिँड्दै जाँदा प्राकृतिक रुपमै धेरै आकृती भएका ठुला साना ढुंगाहरु देखिन्थे र बाटोभरी पँहेला फुलसंगका चुत्रो, ऐँसेलु पनि हाम्रा लागी स्वागत गर्दै थिए । हामी मध्य केही साथीहरु अलिक अगाडि गएकाले हामी उनिहरुलाइ भेट्न हतारमा थियौं । त्यो भन्दा बढी हतार मलाई लुम्बिनी अञ्चलकै सर्बोच्च भाग “थाप्ले” लेकलाई हेरेर त्यसको जस्तै शालीनता र सहनशिलताको नमुना सिक्नु छ । आफु पनि आफ्नो लागी जीवनमा उसले जसरी हावाहुरी चोट पिर मर्का झेलेर भएपनि शिर ठाडो पारेर बाच्नुपर्छ भन्ने आदर्श लिनको लागी लालायित थिएँ । बुढी सत्यवतीको जस्तो महिमा र बिश्वास दिलाउन प्रयास गर्ने कल्पना गर्दै थिएँ, पहिलोपटक प्रीय थाप्ले लेक र बुढी सत्यवतीकोको समिपमा पुग्दा खुशी र उत्साहको सिमा नै थिएन ।
कालिगण्डकि गाउँपालिका र सत्यवती गाउँपालिकाको ऐतिहासिक पर्यटकीय स्थल त्यसैमा बहुमुल्य जडिबुटी र रंगिचंगी फलफुल को उद्गम थलो । अघिपछि अग्ला अग्ला पहाडका चुच्चोहरु देख्दा मन त्यसै आकर्षित हुँदै थियो । मैले एकदम खोज्नुपर्ने बिखमा र सतुवाको खोजिमा थिए म बुढी सत्यवती पुग्नु अघि मैले बिखमा भन्ने बहुमुल्य औसधि चाही पहिलो पटक फेला पारेँ देखेँ । सतुवा भने फेला पार्न सकिन, सायद मैले नचिनेको भएर पनि हुनसक्छ । समग्रमा हाम्रा लेकमा हजारौंको संख्यामा सुन भन्दा बहुमुल्य जडिबुटीहरु पाइदोरहेछ । करिब ३०००/३५०० मिटर उचाईसम्मको यात्रा हामिले लगभग केही घण्टामा पार गर्यौं । मैले देख्न चाहेको पुग्न चाहेको गन्तव्यमा पुग्यौं ।
मन्दिरमा पुजा आजा दर्शन गरेर फेरि अगाडी बढ्यौं हाम्रो खोजी थियो स्वर्ग जाने बाटोको हिँडेर माथी डाँडामा पुग्यौं फेरि अर्को पुरानो भवन र ठुलो प्रस्थर र पानी संकलनको लागी म नजन्मँदै निर्माण गरिएको कलेक्सन ट्याङ्की रहेछ । निकै समथर र फराकिलो स्थान रहेछ । त्यहाँ मेला लाग्दा निकै रमाइलो हुँदो हो भनेर कल्पना गर्न पुगेँ । यत्तिकैमा पारिपट्टी शिर ठाडो पारेर शानसँग उभिएको शालिन थाप्ले लेक देखेँ । एकछिन हेरिरहें र त्यहाँ पुगेको कल्पना मात्र गरेँ ।
स्वर्ग जाने बाटोमा पुग्ने चाहानालाइ पुरा गर्न फेरि पाइलाहरु अगाडि बढ्यो । यतिबेला ज्यानले निकै थकाइ अनुभुती गरेको थियो तर पनि गोरेटो बाटो हुँदै बुढी सत्यवती पुगेपछी जो कोहि पनि पुग्न खोज्ने ठाउँ स्वर्ग जाने बाटो हेर्न भनी खोज्दै थियौं । लामो हिँडाइ पछि अनकन्टार जंगलमा पुगिएछ तर स्वर्ग जाने बाटो कतै भेट्टाउन सकिएन । हामी निराश हुँदै फर्कियौं । ठुलो ढुंगाको मुनि छिरेर हेर्दा सानो प्वालबाट माथिको निलो आकाश देखिन्छ रे । अनि त्यहाँ पुगेपछी भित्री भागमा भर्र्याङ् जस्तो सिँढीहरु छन् रे । त्यस्मा स्वास बन्द गरेर माथी गएर तल झर्न सक्यो भने स्वर्ग पुगिन्छ रे भन्ने जस्ता जनबिश्वास रहेछ त्यस स्थानको बारेमा ।
अन्ततः बाटो फेला पार्न नसकेपछी निराश हुँदै फर्किनु पर्यो, अर्को पटक पक्कै पुग्ने आशा सहित । खैर केहि छैन तपाइहरु पनि गुल्मिको ऐतिहासिक पर्यटकीयस्थल बुढी सत्यवती जाँदै हुनुहुन्छ भने स्वर्ग जाने बाटो चाही अवस्य पुग्नुहोला ।
धन्यवाद