सन्जु काउछा
भदौ २६ । अध्ययनप्रतिको मोह धेर थोर सबैलाई हुन्छ । मोह नहुनेले पनि नपढी सुखै छैन अहिलेको जमानामा । तर कसै कसैलाई पढाईको हुटहुटी यती सम्म चल्छ की फरक फरक बिषयमा थुप्रै डिग्री लिँदा पनि पढाईको मोह झन् झन् बढ्दै जाने । यस्तै हुटहुटीले छोड्न नसकेको छ गुल्मीमा जन्मे हुर्केका एक राष्ट्रसेवक कर्मचारीलाई ।
यो पनि पढ्नुस्: परदेशबाट फर्किएर गाउँमै भैसी पालन: दुध-घ्यु देखी सुकुटी सम्म बेचेर ६ लाख रुपैँया आम्दानी
नाम जीवन कुँवर, घर गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वार्ड नं ३ हाडहाडे । गणित र कानुनमा स्नातक गरेका कुँवरले पब्लिक एड्मिनिस्ट्रेसन अर्थात जनप्रशासनमा स्नातकोत्तर (एमपीए) अनी पोलिटिकल साइन्स अर्थात राजनितिशास्त्रमा पनि स्नातकोत्तर (एमए) गरिसकेका छन् । गुल्मी घर भए पनि जागिरको सिलसिलामा यतिबेला मकवानपुरमा रहेका छन् । त्यहाँ स्थित भीमफेदी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत कुँवरले स्थानिय महेन्द्र माविमा १८ महिने सिभिल इन्जिनियरिङ कक्षामा भर्ना भएर अध्ययन गरिरहेका छन् ।

दीपक मावि भनभनेबाट एसएलसी दिएका कुँवरले काठमाडौं स्थित रेन्वो इन्टरनेशनल कलेज गणित बिषयमा स्नातक, नेपाल ल क्याम्पसबाट एलएलबी, त्रिभुवन विश्वविद्यालयबाट मास्टर इन पब्लिक एड्मिनिस्ट्रेसन (एमपीए) र पोलिटिकल साइन्स (एमए) सकिसकेका छन् ।
भर्खर ३० कटेका कुँवरले आफु सम्बन्धित कामको प्राविधिक दक्षतालाई परिस्कृत गर्न सिभिल ईन्जिनियरिङमा भर्ना भएको बताए । आफ्नो कामको दौरानमा स्थानीय तहमा काम गर्दा पूर्वाधार विकास सम्बन्धी काम गर्नुपर्ने तर आफूलाई यसमा प्राविधिक ज्ञान कम भएकाले फिल्डमा जाँदा प्राविधिक समस्या आएकाले सिभिल इन्जिनियरिङ अध्ययन गर्ने सोच बनाएको कुँवरले बताए । स्थानिय निकायहरुको योजनाको डिजाइनिङ, स्टिमेट, मूल्यांकन गर्दा कठिनाइ महसुस गरिरहेका उनले आफ्नो कामसँग सम्बन्धित प्राविधिक ज्ञानले आफ्नो दैनिक कार्यमा थप सहजता ल्याउने आशा गरेका छन् ।
अर्को कुरा आफुले पछी सम्मको सोच राखेर प्राविधिक शिक्षामा जोडिन लागेको गुल्मीन्युज डट कमसँगको टेलिफोन कुराकानीमा बताए । “भोली रिटायर्ड लाइफमा पनि आफूसँग प्राविधिक ज्ञान भए आफ्नै व्यावसायिक काम गर्न पनि सकिन्छ” कुँवरले भने, “प्राविधिक शिक्षाप्रतिको नयाँ विद्यार्थीको आकर्षण बढाउनु पनि अर्को उद्देश्य हो ।”
बिहानको कक्षा भएकोले ९ बजेसम्म विद्यालयमा पढ्ने कुँवरले कार्यालय समयका केही कक्षा भने छोड्नु पर्छ । छुटेका कक्षाहरु स्वअध्ययन वा ट्युसन मार्फत् कभर गर्ने सोचाँई रहेको पनि उनले बताए ।
२०६७ सालबाट सरकारी सेवा सुरु गरेका कुंवरले यस अघी पुनरावेदन अदालत जनकपुर, सर्वोच्च अदालत, बैदेशिक रोजगार न्यायधीकरण, बाजुराको हिमाली गाउँपालिका, कैलालीको चुरे गाउँपालिका, पिछडिएको समुदाय उत्थान बिकास समितीमा पनि सेवा गरिसकेका छन् ।