gulminews logo
शुक्रबार, २०८० चैत्र १६

मौरीबाट आम्दानी बढाउँदै गुल्मीका किसान, महबाट मात्र बर्सेनी ३ करोड ५० लाख आम्दानी

घनश्याम गौतम
गुल्मी, कार्तिक १० । मौरी किसानले प्राय: कात्तिक महिनालाई मह निकाल्ने सिजन भन्छन् । गुल्मी दरबार गाउँपालिकाका बलिथुमका मौरी किसान सूर्य रानालाई पनि कात्तिक लागेसँगै मह निकाल्ने चटारो बढेको छ । चिसो बढेसँगै बजारमा महको माग बढने गर्छ ।

‘चिसो बढ्न लाग्यो, बजारमा महको खोजी हुन थालेको छ,’ उनले भने । उनले असोज अन्तिम सातादेखि नै मह निकाल्न सुरु गरेको बताए । घरबाटै प्रतिकिलो १ हजारदेखि १ हजार २ सय रुपैयाँ बिक्री हुने गरेको उनले सुनाए । उनले मौरी पाल्न ६ वर्षदेखि थाले पनि व्यावसायिक रूपमा भने ३ वर्षदेखि सुरु गरेका हुन् । ‘१२ वर्षअघि मौरी पाल्ने तालिम लिए पनि त्यति राम्रो आम्दानी नदेखेपछि पालिएन,’ उनले भने, ‘हाल बल्ल महको खपत बढदो छ, त्यसले आम्दानी पनि बढायो ।’ कम मेहनतमै खेर गइरहेको बारी र पाखोमा मौरी पाल्दा उनले वार्षिक १ लाख ५० हजारदेखि २ लाख रुपैयाँ आम्दानी गरिरहेको बताए । रानाको घर वरिपरिको बारी र पाखोमा ८४ घारमा मौरी भुनभुनाइरहेका छन् । बलिथुममा मात्र हाल ९ सयभन्दा बढी मौरीका घार छन् ।

रेसुंगा नगरपालिका रैयाका रोम अर्यालको घरमा पनि हाल १ सय ८० घार मौरी छन् । जंगलको छेउमा रहेको पाखोमा पालेका मौरीबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुने अर्यालले सुनाए । ‘लगानीबिनाकै आम्दानीको पेसा हो मौरीपालन,’ उनले भने, ‘दु:ख पनि गर्न नपर्ने, जग्गा जमिन पनि धेरै नचाहिने, त्यसैले धेरै नै पालेको छु ।’ १५ घारबाट सुरु गरेका उनको हाल १ सय ८० पुगेको छ । उनले यस वर्ष कृषि कार्यालयलाई १ सय ५० घार गोला मौरी उपलब्ध गराउने भएका छन् । ९ वर्ष अगाडि मौरी पाल्दा घरमा खान मात्र प्रयोग हुने गरेकामा हाल व्यावसायिक बनेको उनले बताए । उनले भने, ‘अहिले घार नै बिक्री गर्ने गाउँमै दर्जन बढी किसान छन् ।’ कृषि विकास कार्यालयका प्रमुख चक्रपाणि पन्थीका अनुसार २ सय बढी घार मौरी पाल्ने किसान १२ जना छन् । जिल्लाभर व्यावसायिक रूपमा ५० घारभन्दा बढी मौरी पाल्ने किसान ६० भन्दा धेरै छन् ।

१ घारबाट न्यूनतम ८ किलोसम्म मह निस्कन्छ । ‘बर्सेनि मह बिक्रीबाट मात्र झन्डै ३ करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ,’ उनले भने, ‘हरेक वर्ष मह उत्पादन र बिक्री बढदो छ ।’ हालसम्म जिल्लामा उत्पादन भएको मह जिल्लामै खपत भएर पाल्पा, रूपन्देही र अर्घाखाँचीसम्म पुग्ने गरेको उनले बताए । कार्यालयका अनुसार मह उत्पादनका लागि रेसुंगा नगरपालिका, वामीटक्सार र हर्दिनेटा पकेट क्षेत्र हुन् ।

दसैं, तिहार र वैशाख मौरीको मह बिक्री हुने प्रमुख सिजन हुन् । मौरीपालन महासंघका अध्यक्ष चेतमान कुँवरले पछिल्लो तीन वर्षमा जिल्लामा मह उत्पादन बढेसँगै किसानको आम्दानी पनि बढेको बताए । किसान बढ्दै छन्,’ उनले भने, ‘उत्पादन र आम्दानी पनि बढदो छ ।’ हाल बजारमा माग बढेकाले धेरै किसान मह निकाल्ने हतारोमै रहेको उनले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D