६ महिना बित्यो बुढाबुढीले भत्ता पाएनन्

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, चैत १६ – गएको दुई महिनाअघि पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता वापतको रकम छ महिना वित्दासम्म पनि गुल्मीमा वृद्धवृद्धाहरुले पाउन सकेका छैनन् ।

सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाएका कारण यहाँका वृद्धवृद्धाले गाउँपालिका र नगरपालिकाका वडा सचिवहरुसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् ।

सरकारले स्थानीय तहको पुनर्संरचना गरेको तीन साता बितिसक्दा पनि जिल्ला समन्वय समितिले गाउँपालिका र नगरपालिका कार्यालयको खातामा रकम उपलव्ध नगराएका कारण बुढाबुढीहरु सामाजिक सुरक्षा भत्ता पाउनबवाट बञ्चित भएका हुन् ।
old people nepal
सामाजिक सुरक्षा कार्यविधि २०७३ अनुसार गएको माघ १५ गतेभित्र बाड्नु पर्ने रकम तत्कालीन जिल्ला विकास समितिले समयमै गाउँ विकास समितिका खातामा रकम उपलब्ध नगराएका कारण उनीहरुले समयमा भत्ता पाउनबाट बञ्चित भएको साविकका गाविस सचिव हकहित संरक्षण केन्द्र गुल्मीका अध्यक्ष गोपाल सेनले बताउनु भएको छ ।

‘जिविसले पहिल्यै गाविसको खातामा रकम पठाई सक्नु पर्ने थियो, पठाउन सकेन, सेनले भन्नु भयो, ‘गाउँमा जाँदा बुढाबुढीहरुले सचिवहरुले ल्याएर खातामा राखेका छन् की भनेर शंका गर्छन्, हामीहरुलाई त गाउँमा गएर ती बुढाबुढीहरुको अगाडि मुख देखाउन पनि लाजमर्दो हुन लाइसक्यो ।’
स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले भने साविकको जिल्ला विकास समितिबाट चेक काटेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाई सकेको अवस्थामा सरकारले स्थानीय तहको पुनर्संरचना गरेपछि चेक रोकिँदा समस्या आएको बताउनु भयो ।

‘हामीले सबै प्रक्रिया पूरा गरेर खातामा रकम पठाउनका लागि कोलेनीका पठाएका थियौं, नयाँ संरचना लागु भएपछि चेक रोकियो, नयाँ खाता खोल्न पत्र पठाई सकेका छौँ, अब चाँडै खातामा रकम जान्छ’ स्थानीय विकास अधिकारी श्रेष्ठले भन्नु भयो ।

श्रेष्ठले बुढाबुढीहरुले समयमै भत्ता रकम पाउन नसकेकोमा आफू पनि चिन्तित बनेको बताउनु भएको छ । हाल दुई नगरपालिका र १० गाउँपालिहरु रहेको गुल्मी जिल्लामा एउटा वडामा न्यूतम २० लाखदेखि अधिकतम ७० लाख रुपैयाँसम्म सामाजिक सुरक्षा भत्ता रकम बाँडिदै आएको बताइएको छ ।

Comments

comments

Comments are closed.