५ वर्षदेखि फरार ‘शिक्षक’ तम्घासबाट पक्राउ

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी, असार २ । शैक्षिक प्रमाणपत्र कीर्ते गरेको फैसला भएपछि ५ वर्ष देखि फरार शिक्षकलाई प्रहरीले शुक्रबार तम्घासबाटै पक्राउ गरी जेल पठाएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका ६ धुर्कोटरजस्थलका पुस्कर केसीलाई विशेष अदालतले २०६८ चैतमा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएको प्रमाणित गर्दै ६ महिना कैद फैसला गरेको थियो ।

फैसलापछि प्रहरीको फरार सुचीमा रहेका उनी लामो समय देखि तम्घासमै थिए । २०६८ सालमा गणेश मावि पिपलधारामा विज्ञान विषयका शिक्षक रहेका उनले विज्ञान विषयको नक्कली लाईसेन्स प्रयोग गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

विशेष अदालतमा लगत नं. ४३२ रहेको भ्रष्टाचार मुद्धाको जानकारी आएपछि अदालतले उनको खोजी गरी जेल चलान गर्न प्रहरीलाई पत्राचार गरेको थियो । गुल्मीको सदरमुकाम तम्घासमा रहेको आदर्श बोर्डिङ स्कुलमा अध्यापन गराईरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक भोला रावलले बताए । केसीलाई प्रहरीले आजै जेल चलान गरेको छ ।

बिशेष अदालतले केसीलाई २०६८ चैत २६ गते भ्रष्टाचारी ठहर गर्दै ६ महिना कैद फैसला गरेर त्यसको लगत जिल्ला अदालत गुल्मीमा पठाएको थियो । प्रहरीले त्यही लगतका आधारमा पक्राउ गरेको हो ।

Comments

comments

Comments are closed.