समाचार

२१ वर्षदेखि क्यान्सरसँग लड्डै अर्याल दिदीभाइ ! बेखबर छ राज्य

टोपलाल अर्याल
गुल्मी, १६ असोज | एउटा सानो गरिव परिवारमा दुई जना क्यान्सर पीडित सन्तान । त्यो जस्तो दुर्भाग्य र बिडम्बना अरु के हुन सक्ला । जेठी छोरीले बिहे गरिन् । जेठो छोराले प्लस टु उतिर्ण गरे । तर, आर्थिक अभावकै कारण घरमै छन् । कान्छो छोरा र कान्छी छोरी क्यान्सर पीडित । मालिका गाउँपालिका ६ अर्जे उदिनाका डिलाराम अर्यालको मन र घर उज्यालो छैन । कान्छी छोरी तुलसा २१ बर्षको भइन् । छोरा नरेश १५ बर्षमा पुगे ।

कालो दाग नै क्यान्सर बन्यो
जन्मिएको छ महिनामै तुलसाको गालामा सानो कालो दाग थियो । त्यो दाग आज क्यान्सर बन्यो । ‘गाउँमा पहिले पहिले त्यस्तो दाग देखिए मख्या भन्थे,’बुवा डिलारामले भने,‘ म त भारत आउने जाने गर्थे, घरमा ख्याल गरेनन् ।’ अहिले त्यो कालो दागले तुलसाको शरिर ढोपेको छ । भने पटक पटक मासु पलाएपछि आँखा समेत देख्दैनन् । उनी कक्षा ६ पढेपछि बिद्यालय समेत जान सकिनन् । नरेश अहिलेसम्म बिद्यालय पुग्दैछन् । उनलाई पनि छ महिनाबाटै समस्या आयो । बुबा डिलारामका अनुसार दिदिलाई पालैपाले आँखामा बढि संक्रमण देखिने गरेको छ । भने नरेशलाई नाक र कानमा बढि घाउ हुने गरेका छन् । अहिले पनि नरेश उपचारकै लागि एक महिनादेखि काठमाण्डौको टिचिङ्गमै छन् ।
cancer for aryal
पढाईमा उत्कृष्ठ नरेश
नरेश बिद्यालयको उत्कृष्ट बिद्यार्थी पनि हुन् । उनी कक्षा ७ सम्म रानीपोखरी निमाविमामा कक्षा प्रथम हुन्थे । अहिले कक्षा ८ मा द्धतिय भएर अर्जे माविमा गएको शिक्षक शिवलाल भटराईले बताए । ‘नरेशले धेरै समय उपचारकै लागि हस्पिटलमा बिताउँछ,’उनले भने,‘तर तीन महिना पढेर भएपनि उत्कृष्ट बन्छ ।’ नाक र कानमा बढि संक्रमण भएका नरेशलाई घाउको पीडा छ । तर उनले शिक्षकले भनेका वा अरु बाहिरी धेरै कुरामा अब्बल रहेको शिक्षक भटराइले बताए । उनीहरुलाई चिकित्सकले बाहिर घाममा ननिकस्कन सुझाव दिएका थिए । तर गाउँमा त्यो सम्भव नभएकाले अझ उनीहरुमा बढि संक्रमण देखिएको नरेशका काका कृष्ण चन्द्र अर्यालले बताए । उनी करिव डेढदेखि दुई घण्टाको बाटो हिडेर बिद्यालय पुग्छन् । यो उनको दैनिकी हो । नरेश बिद्यालय जाने र केहि घरको काममा सहजीकरण गर्छन । भने छोरी तुलसाले घरको सवै काम गर्छिन । तुलसालाई अरु कुनैसंग गुनासो छैन् । बरु कहिलेकाँहि आफुलाई नै सोध्ने उनले बताईन् । ‘मृत्यु निश्चत छ, सुधार भन्दा समस्या धेरै आउन थाल्यो,’ उनले भनिन,‘ भगवानसँग मात्र एउटै गुनासो छ, म किन बाँचिरहेछु ।’

सम्पती सवै बेच्थें निको हुँदैन
उमेर छहुन्जेल भारतमा कमाएको पैसाबाट डिलारामले आज सम्म परिवार धाने । अहिलेसम्म दिदि भाईका लागि १२ देखि १५ लाख सकिसक्यो । तर उनीहरुलाई निको हुने निधो छैन् । ‘छोरी २१ र छोरो १५ बर्षका भए, अवस्था झन बल्झिदै छ,’ उनले भने,‘ डाक्टरले पनि निको हुँदैन भनेका छन् ।’ टाउको ओत्ने घर र केहि महिना पालिने पाखो बारी उनको बाँकी सम्पती हो । ‘छोराछोरीलाई निको हुने भए यो सवै सम्पती बेच्थे,‘ अर्यालले भने,’मृत्यु पर सार्ने बाहेक अरु उपाय रहेन् ।’ दैनिक महङ्गो औषधी खुवाउनु पर्ने भएकाले पनि उनलाई बढि आर्थिक बोझ छ । एक पटक दुवै जनालाई चेकजाँच गरेर आउँदा एक देखि डेढ लाख सम्म खर्च हुने डिलारामले बताए । ‘के गर्ने उनीहरुको पीडा यी आँखाले देख्न सक्दैनन,’उनले भने,‘ दैव पनि गरिव र निमुखा माथी नै लाग्ने रहेछ ।’ अहिलेसम्म क्रृण धन गरेर औषधी उपचार गरेपनि अब आफ्नोे कुनै उपाय नभएको अर्यालले बताए । ‘आफ्नो आर्थिक स्थितीले भ्याएसम्म अरुलाई आफ्नो पीडा किन देखाउनु,’ उनले भने,‘अब मेरो उपाय छैन, त्यसैले सहयोग चाहन्छु ।’

यस्ता परिवारलाई राज्यले नै हेर्नुपर्छ: वडाध्यक्ष

मालिका गाउँपालिका वडा नं ६ का वडाध्यक्ष शोभाखर गिरी यो परिवारसंग धेरै समयदेखि नजिक छन् । त्यो पीडा र दुखाईले उनलाई पनि पोल्छ । तर आफु भएकै स्थानबाट सहयोग गरिहाल्ने ठोस उपाय उनीसंग छ्रैन् । ‘स्थानीय तहहरुले पनि पछिलाई सोच्नै पर्ने बाध्यता छ, तत्काल सानो सहयोग मात्र हो,’ उनले भने,‘ राज्यले नै यस्ता परिवारलाई ख्याल गर्नुपर्छ ।’ सरकारले भर्खरै लागु गरेको स्वास्थ्य बिमा यो परिवारसम्म छिटो आउनुपर्नेमा गिरीले जोड दिए । भर्खरै आएका जनप्रतिनिधी र स्थानीय तहमा अर्याल परिवार जस्तालाई राहत दिने कुनै निती र कार्यक्रम छैन ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।