स्टिमर सेवाले बजार सस्तियो

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी, कार्तिक १४ । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि आन्तरिक पर्यटक बढ्नुका साथै यसले सेवा दिने क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य घटेको छ । मिर्मी जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएको हो । गुल्मी, पर्वत र स्याङ्जाको संगमस्थलमा पर्ने मिर्मी जलविद्युत् परियोजनाको बाँधले बनाएको तालमा स्थानीय व्यवसायीले काठको ढाँचामा ट्रकका इन्जिन उपयोग गरेर बनाइएको स्टिमर सञ्चालन गर्दै आएका छन् ।

वर्षातको समयमा कालीगण्डकीको बहाव बढ्ने भएकाले स्टिमरको सेवा बन्द थियो । पानीको बहाव घटेसँगै सञ्चालन सुरु गरिएको हो । पछिल्ला दुई वर्षमा कालीगण्डकी करिडोरअन्तर्गतको हर्मिचौर–पूर्तिघाट सडक सञ्चालन भएपछि जलयात्रा गर्ने गाउँलेको संख्या घटेको थियो । स्थानीय व्यवसायीको पहलमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस क्षेत्रमा पुन: स्टिमर सञ्चालनमा ल्याइएको हो । स्थानीय व्यवसायी प्रेम अर्यालले भने, ‘गाडीबाट भन्दा स्टिमरबाटै ढुवानी पनि सस्तो पर्ने भयो ।’ उनका अनुसार स्टिमर सञ्चालन भएपछि प्रतिकिलो ३ रुपैयाँ पर्ने ढुवानी भाडा १ रुपैयाँमा झरेको छ । बुधबारदेखि सञ्चालनमा आएका स्टिमर प्रतिदिन १५ देखि २० पटकसम्म आवतजावत गर्ने गरेका छन् ।

image-stamberमिर्मी बाँधदेखि गुल्मी र स्याङ्जाको धार्मिकस्थल एवं एसियाकै ठूला शिला शालिग्राम रहेको सेतीवेणी बजारसम्म झन्डै ७ किमि दूरीमा कालीगण्डकीको पानीमाथि स्टिमर चल्ने गरेको छ । दुई ठूला पहाडको खोंचबाट सुस्त गतिमा बढेको कालीगण्डकीको पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने गरेकाले पर्यटक रमाउने सेतीवेणीका होटल व्यवसायी शोभाखर तिवारीले बताए । ]

‘स्टिमर चलेपछि सेतीवेणी बजारमा चहलपहल बढेको छ,’ उनले भने, ‘पर्यटक भित्र्याउन भए पनि स्टिमर चल्नुपर्छ ।’ कालीगण्डकी जलविद्युत् परियोजनाका प्राविधिक मुक्तिराम पाण्डेले पनि स्टिमर चल्दा र नचल्दाको यस क्षेत्रको अनुभव नै फरक हुने गरेको बताए । ‘सय रूपैयाँ भाडामा बढीमा ४५ मिनेटमा ७ किमि यात्रा सकिन्छ,’ उनले भने, ‘स्टिमरमा हिँड्नु नेपालकै नौलो यात्रा अनुभव हो ।’ काठले बनेका, इन्जिनबाट चल्ने यस्ता स्टिमर अन्यत्र नरहेकाले पनि यसमा बसेर यात्रा गर्नेहरू रमाउने उनले बताए । यसबाट पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने उनले बताए ।

अर्बेनीको शालिग्राम उच्चमाविका शिक्षक पशुपति न्यौपानेका अनुसार अहिले विद्यार्थीको अध्ययन अवलोकन भ्रमण भएकाले पनि दैनिक चार सयजनासम्म विद्यार्थी मिर्मी परियोजना, स्टिमर यात्रा र सेतीवेणी शिला अवलोकनका लागि आउने गरेका छन् । ‘अहिले विद्यार्थीको भ्रमण सिजन हो,’ उनले भने, ‘अब स्टिमर सञ्चालन गरेर वर्षातको समयमा बाहेक हरेक महिना पर्यटक आउने अवस्था गराउनुपर्छ ।’ यस क्षेत्रको भ्रमणमा आउने ५० प्रतिशत पर्यटक स्टिमर यात्रापछि बढी प्रभावित हुने गरेको उनले बताए ।

Comments

comments

Comments are closed.