सामाजिक संस्था नै नक्कली नोटको कारोबारमा, बुटवलमा भेटियो पैसा छाप्ने कारखाना

  •  
  •  
  •  
  •  
  •  

बुटवल । ‘असाहयका लागि सहयोगी हातहरू’ भन्ने संस्थाले नक्कली नोट छाप्ने गरेको खुलासा भएको छ । नक्कली नोट छापेको आरोपमा प्रहरीले रुपन्देही, कँचनपुर गाउँपालिका वडा नं. ६ घर भई बुटवल उपमहानगर ११ बुद्दनगर बस्ने सन्तोष मल्ललाई पक्राउ गरेको छ ।

‘नवदिपपथ अर्फन हेल्पिङ हेन्ड’ नामको कार्यालय सञ्चालन गर्दै आएका मल्लको कार्यालय र डेरामा खानतलासी लिने क्रममा नक्कली नोट तयार गर्ने फ्रि ईन्क प्रिन्ट मेसिन, ल्यापटप र नक्कली नोट लगायतका सामानहरु बरामद गरेको बताइएको छ । प्रमाणसहित अभियुक्त मल्ललाई अदालतबाट खोटा चलन मुद्दामा म्यादथप लिई हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीले प्रेस नोटमा जनाएको छ ।

सन्तोष मल्लको घरबाट एक हजार दरका एक सय थान नोट र पाँच सय दरका एक सय थान नोट बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, निजले सञ्चालन गरेको अफिसबाट एक हजार दरका दुई सय ५९ थान र एक सय दरका पाँच थान नोटका साथमा एक थान फ्रि ईन्क प्रिन्ट मेसिन, एक थान ल्यापटप, अर्फन हेल्पिङ हेन्ड नामको व्यानर, अर्फन हेल्पिङ हेन्ड नामको रसिद १० ठेली, अर्फन हेल्पिङ हेन्ड नामको रवर छाप एक थान र पैसा छाप्न प्रयोगमा ल्याईएको कागजहरु बरामद गरिएको छ ।
fake bank notes news
प्रहरीका अनुसार अभियुक्त मल्लले प्रभु बैंक शाखा कार्यालय, बुटवलमा खाता खोली बैंकमा पैसा साट्ने क्रममा बैंकका कर्मचारीलाई झुक्याएर बैंकबाट आफूले चेक साटेर प्राप्त गरेको पैसा आफूसँगै लगेको नक्कली नोटसँग साट्ने चलाखीपूर्ण काम गर्दै आएका थिए । उनले पहिलोपटक बैंकमा जम्मा गर्न लगेको पैसामा एक थान रु एक हजारको नोट समावेश गरेर साटेको र दोस्रोपटक रु एक हजारको १०० थान भित्र १४ थान नक्कली नोट राखेर साट्न सफल भएपछि अन्तिमपटक रु एक लाखको चेक साटेर आएको पैसा तत्कालै आफूले लगेको नक्कली नोटको गड्डीसँग साट्न सफल भएका थिए ।

पछिल्लो पटक मङ्गलबार बैंकले रु एक हजार दरको ७० थान नक्कली नोट फेला परेको भन्ने प्रहरीलाई सूचना दिएपछि प्रहरीले अनुसन्धान गर्दै जाने क्रममा बैंकमा राखेको सिसी क्यामेराको रेकर्ड हेर्दा पक्राउ परेका मल्लले नक्कली नोट ल्याएको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर उनको कार्यालय र निवासमा छापा मार्दा ती सामानसमेत बरामद भएको छ ।

Comments

comments

Comments are closed.