बिचार

सरकार फ्रि भिसा र फ्रि टिकटमा युवाहरुलाई खाडीमा कहिलेसम्म बेच्ने ?

कुसुम नेपाली
मेरो मनमा एउटा प्रश्न बारम्बार खड्किरहन्थ्यो, पढे लेखेका युवा युवती, दक्ष जनशक्ति अनि हिजोसम्म नेपालमै केहि गर्न सकिन्छ भनेर हिँड्नेहरु अन्ततः किन प्रदेशिन्छन् ? के नेपालमा कुनैै सम्भावनाहरु नभएकै हुन् त ? आफ्नै देशमा केहि गर्नुपर्छ भनेर सरकारी जागिर खाएका, गैर सरकारी जागिर खाएका, आफ्नै माटोमा सुन फलाउनु पर्छ भन्दै दिनरात माटोसँग रमाउने किसान दाजुभाइ, दिदि बहिनीहरु सबै छोडेर अन्ततः हातमा राहदानी बोकेर बैदेशिक रोजगारीका लागि भन्दै प्लेन चढ्नुहुन्छ । यि यावत कुराहरुले एकछिन् सोच्न बाध्य बनाँउछ, आखिर बैदेशिक रोजगारी रहर कि, बाध्यता ?

यहाँ थुपै्र युवा, युवतीहरु हातमा ब्याचलर, मास्टर डिग्रीको सर्ठिपिकेट बोकेर कयौँ ठाँउमा रोजगारीका निम्ति ढोका ढक्ढकाउन पुग्नु हुन्छ । तर अवसर कमैले मात्रै पाँउछन् । गाँउमा ऋण खोजेर छोरा छोरीलाई सहर पढ्न पठाउने बाबु आमाको अलिकति आशा पलाउँछ जब उनका छोरा छोरीहरुले ब्याचलर र मास्टर डिग्रीको सर्टिफिकेट प्राप्त गर्दछन् । तर विडम्वना छोरा छोरीलाइ एउटा कुराले सताउन थाल्छ आफुले पढ्दा बाबु आमाले लिएको ऋण कसरी तिर्ने ?
kusum nepali

भविष्य सबैलाइ बनाउनु छ । अब त्यही क्रम चल्छ हातमा सर्टिफिकेट बोकेर अवसरको खोजी गर्ने । कहिँ कतै अवसर नपाएपछि, राहदानी बनाउन बाध्य हुन्छन् अनि प्रदेशिन विवश हुन्छन् युवाहरु । हुन त पढेकाहरुले कोट लगाएर अफिस जानु पर्छ, जागिर खानु पर्छ नै भन्ने छैन । अरु विकल्पहरु पनि हुन्छन् आय आर्जनका । पछिल्लो समयमा युवाहरुमा पढेर के गर्नु ? जति नै पढेपनि आखिर विदेश जानै पर्छ यस्को कुनै विकल्प नै छैन भन्ने मानसिकतामा वृद्धि भइरहेको छ ।

यस्को जव्लन्त उदाहरणहरु मसँग प्रशस्तै छन् । वि.सं. २०६७/६८ सालमा मैले +२ पढ्दै थिएँ । त्यतिबेला हामीसँगै पढ्ने प्राय पुरुष साथीहरुले भन्नु हुन्थ्यो अब +२ पछि त विदेश गइन्छ होला । त्यो बेला मैले भन्थेँ आफ्नै देशमा पनि त केहि गर्न सकिन्छ नि । तिमीहरु जस्ता युवा विदेश गएर देशको गति के होला ? जवाफमा एकजना साथीले भने– मेरो आफ्नै दाइले मास्टर डिग्री गर्नु भएको छ । यहाँ केहि अवसर नै नपाएर अहिले सेक्युरिटि गार्डको भिजामा दुबै जानु भयो ।

अवसर नपाएपछि देशको मायालाइ मुटुमा राखेर थुप्रै युवाहरु प्रदेशिन बाध्य भएको कुरा हामी सबैलाइ जानकारी नै छ । हामी कुनै एउटा रेष्टुरेण्टमा बसेर खाजा खाँदै गर्दा होस् या, २/४ जना जम्मा हुँदा होस् आर्दशवादी गफ हाँक्न पछाडि नपरि भनिहाल्छौँ कैयौँ सम्भावनाहरु नेपालमै छन् । तर युवा विदेश पलायन हुँदै छन् । आर्दशवादी गफ हाँक्नेहरु आदरणीय यहाँहरुलाइ मेरो प्रश्न नेपालमै सम्भावना देखेर पनि तपार्इँ आफ्नो छोरालाइ किन अमेरिका, अष्ट्रेलिया पठाउनु हुन्छ ?

हामी भन्छौँ विदेशमा जस्तो सुकै काम गर्न लाज नमान्ने, तर नेपालमा लजाउने ? मेरै आँखाले देखेकी छु हर्क दाइ, राम दाइले सिमेन्टका बोरा बोकेर सिमेन्टसँग रात दिन लडेर दिनको ८ सय देखि हजारसम्म कमाउनु हुन्छ । यसरी हिसावमा महिनाको २४ देखि ३० हजारसम्म कमाउनु हुन्छ । तर खोइ त उहाँहरुको इज्जत ? खोइ त उहाँहरु प्रतिको सम्मान ? अन्ततः कैयौँ हर्क दाइ र राम दाइका छोराछोरीहरु बाबु प्रति समाजले दर्शाउने व्यवहार देखेर प्रण गर्छन् बरु विदेशमै गएर २/४ पैसा कमाउनु पर्छ । नत्र बाबाले जस्तै हेपिएर बस्नु पर्छ, समाजमा हाम्रो पहिचान नै हुने छैन ।

बाबुले नेपालमा त्यही सिमेन्टको काम गर्दा सम्मान नगर्ने हामीले, त्यही काम छोराले प्रदेशमा गर्छ भने छोरालाई समाजले हेर्ने दृष्टि भिन्दै हुन्छ । उस्ले आत्म सम्मानकै लागि भएपनि त्यो काम नेपालमा गर्दैन तर विदेशमा ढुक्क भएर गर्छ । हामी आर्दशवादी कुरा गर्छाैँ । खोइ त यहाँ दिनरात मेहेनेत गर्नेहरुको आर्दश कसले बुझ्यो ? उल्टै हर्क बहादुरलाइ हर्के अनि राम बहादुरलाइ रामे भनेर पुकार्छौ, जब उनिहरुले काम सानो ठुलो नभनि दिनरात मेहेनेत गर्छन् । विदेश पलायन हुनका लागि हामीले पनि त बाध्य बनाएका रहेछौँ होइन र? सरकारले नेपालका कयौँ युवा युवतीलाइ प्रदेशिन बाध्य बनाएको छ ।

खाली सत्तामा को पुग्ने ? सत्ताको खेल खेलिरहेको सरकारलाई मेरो प्रश्न– फ्रि भिसा र फ्रि टिकटको व्यवस्था मिलाएर खाडी मुलुकमा युवालाइ कति र कहिले सम्म बेच्ने ? वर्षाैँ बितिसकेछ नेपाललाइ स्विजरल्याण्ड बनाँउछौँ भनेको पनि तर हामीलाई स्विजरल्याण्ड होइन नेपालमै अवसर चाहिएको छ । बालुवा चाल्ने श्याम दाइलाइ सम्मान चाएिको छ । पढ्ने निहुँमा पैसाको जोहो गर्न विदेश पलायन हुन चाँहदैनौँ हामी । आफ्नै देशमा आफै कमाएर पढ्न चाहान्छौँ । चर्चित पत्रकार नारायण श्रेष्ठ, प्रेम बानियाँ अन्ततः विदेश पलायन हुनु परेको घटना अझै ताजै छन् । सपनाको देश अमेरिका पुग्नु उहाँहरुको सपना थियो होला ।

रहर थियो होला तर त्यही रहर भित्र पनि बाध्यता पक्कै थियो । आफ्ना सन्तानको भविष्यका लागि रहर भित्रै पनि बाध्यता बोकेर यहाँ कैयौँ नारायण श्रेष्ठहरु, कैयौँ प्रेम बानियाँहरु प्रदेशिएका छन् । प्रिय सरकार यो देशबाट एक छाक टार्नका लागि युवाहरु कहिलेसम्म विदेशिनु पर्ने हुन्छ अझै ? कहिलेसम्म चलाउने यो देशलाई प्रवासमा युवाले पसिनासँग साटेको पैसाको रेमिट्यान्सबाट ? म भर्खरै ब्याचलर सकाएकी युवती हुँ । म सँगै हुर्केका साथीहरु, मसँगै अध्ययन गर्न सुरु गरेका कतिपय साथीहरु यतिबेला खाडीको चर्काे घाममा पसिना बगाउँदै छन् । कतिपय साथीहरु पढ्ने बाहनामा पैसा कमाउन प्रवासमा छन् ।

यहाँ अवसर नपाएपछि मेरा साथीहरु प्रदेश पस्नुको कारण एउटै थियो आफ्ना भावी सन्तानको भविष्य बनाउनु थयो । अनि आफ्नो भविष्य खोज्नु थियो । म आफु चर्चामा आउनका लागि यो लेख लेखिरहेकी होइन । भोली यो देशबाट जोस र जाँगर बोकेका युवाहरु प्रदेशिन नपरोस् । मेरो बाबा जस्तै म भोली सन्तानको भविष्यका लागि प्रदेशिन नपरोस् भनी आज यो लेख लेखेकी हुँ ।

गुल्मी

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।