श्रीमतिको उपचार गर्न नसकेर श्रीमान फरार, काजकिरिया रोकियो

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, चैत्र–१५ । गुल्मी दर्लामचौरका एक व्यक्ति विपन्नताका कारण श्रीमतिको उपचार गर्न नसकेर घरबाट फरार भएका छन् । ईस्मा गाउँपालिका अन्तर्गत साविकको दर्लामचौर ८ सेनखण्ड निवासी अन्दाजी ४० वर्षिय मंगल नेपाली श्रीमति पार्वती नेपालीको उपचार गर्न नसकेर फरार भएका हुन ।

स्थानिय समाज सेवी प्रेम भुसालका अनुसार मुटु सम्वन्धी रोगले ग्रस्त भएकी श्रीमति पार्वातीलाई जिल्ला अस्पतालले पाल्पा रिफर गरेको थियो । तर उनका श्रीमानले उपचार गर्ने खर्च नभएका कारण श्रीमतिलाई घर फर्काएका थिए ।

घरमा विरामी श्रीमतिको हेरचाह गर्नु पर्ने ठाउँमा १५ वर्षिय र ११ वर्षिय दुई छोराहरुलाई समेत संगै लगेर नेपाली चैत्र ९ गते फरार भएको र त्यसको दुई दिन पछि चैत्र १३ गते श्रीमतिको मृत्यु भएको थियो । भुसालले भने–‘ आज उनको मृत्यु भएको पनि पाँच दिन भई सक्यो । फरार उनका श्रीमानलाई तम्घास सम्म खोजतलास गर्न पनि गईयो । कहि फेला परेनन् । घरमा एक्ली पाँच वर्षकी छोरी मात्रै भएकोले हामी गाउँवासीले पालेर राखेका छौं । ’

उनको काज किरिया गर्ने कोही नभए पछि रोकिएको छ । उनको उपचारका लागि आफुहरुले गाउँमा चन्दा उठाएको तर त्यो रकमले नपुगे पछि ३० वर्षको उमेरमा उपचार पाउन नसकेर अकालमा ज्यान गुमाउनु परेको भुसालले बताए ।

गहुँगोरो वर्णका नेपाली र उनका दुई छोराहरुलाई देख्ने जो कोहीले खवर गरी दिनु हुन स्थानियले अपिल गरेका छन् । आमाको मृत्यु पछि काँख पाँच वर्षिया छोरीको विचल्लीको खवर बनाई दिन आउनका लागि समाजसेवी भुसाले पत्रकारहरुलाई अनुरोध समेत गरेका छन् ।

Comments

comments

Comments are closed.