शिक्षक र विद्यालय नै टेर्दैनन् जिल्ला शिक्षाको निर्देशन

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, २३ माघ । जिल्ला शिक्षा कार्यालयले छापाहिले–३ को मालिका प्राविका शिक्षक मेघलाल अर्याललाई तीन महिनाअघि सोही विद्यालयमा काज फिर्ता गरेको थियो । उनलाई २३ पुस ०७२ मा अर्जै मावि अर्र्जैमा काज खटाएको थियो । तर, उनी काज फिर्ता जान अटेरी गरेर बसेका छन् ।

अर्जै माविमा चन्द्रकला अर्याल हाजिर भएपछि गत २ मंसिरमा शिक्षाले अर्याललाई काज फिर्ता गरेको हो । तर, उनी अर्जे माविमै हाजिर भइरहेको दोहोली स्रोत केन्द्रका स्रोतव्यक्ति लालबहादुर कुँवरले बताए । स्रोत व्यक्ति कुँवरले अर्जे माविले शिक्षक अर्याललाई सोही विद्यालयमा पदस्थापन गर्न खाजेको बताए । तर, मालिका प्राविले स्वीकृति नदिएकाले समस्या भइरहेको कुँवरको भनाइ छ ।

‘पदस्थापन वा फिर्ता जे भए पनि छिटो निर्णय भएर कार्यान्वयन हुनुपर्छ,’ स्रोतव्यक्ति कुँवरले भने । यता, शिक्षक अर्यालले शिक्षा कार्यालयको निर्देशन पाएको भए पनि विद्यालयले रमानापत्र नदिएकै कारण रोकिएको बताए । ‘मैले रमानापत्र नै पाएको छैन,’ उनले भने, ‘निर्देशनको अटेर गर्न खोजेको होइन ।’
deo gulmi
मालिका प्रावि छापाहिलेमा प्रधानाध्यापिका माया अर्यालले मात्र विद्यालयका ६० विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ । विद्यालयले पनि शिक्षक मेघनाथ अर्याललाई पटक–पटक पत्र पठाएको र टेलिफोन गरेको प्रधानाध्यापिका माया अर्यालले बताइन् । ‘म एक्लैले करिब ६० जना विद्यार्थीलाई पढाउनुपर्छ,’ प्रधानाध्यापिका अर्यालले भनिन्, ‘पटक–पटक जिल्ला शिक्षा कार्यालय पुगेर गुनासो राख्दा पनि सुनुवाइ भएन ।’

पहिलोपटक सात दिन, दोस्रोपटक तीन दिन, त्यसपछि थप तीन दिनभित्र हाजिर हुन विद्यालयले पत्र पठाएको प्रधानाध्यापिका अर्यालले बताइन् । मालिका प्रावि व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष टीकाराम अर्यालले भने, ‘पटक–पटक पत्राचार गर्दा र जिल्ला शिक्षा कार्यालयमा पुगेर मौखिक गुनासो गर्दा पनि उनलाई शिक्षा कार्यालयले फिर्ता पठाउन सकेन ।’

समाधानको पहल भइरहेको छ : जिशिअ
जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले अरू जिल्लाभन्दा गुल्मीमा धेरै राम्रो सुधार भएको दाबी गरे । केही स्थानमा भने समस्या देखिएको उनको भनाइ छ । समस्या भएका ठाउँमा समाधानका लागि छलफल र पहल भइरहेको उनले जानकारी दिए ।

Comments

comments

Comments are closed.