वाहुनीसंग प्रेम सम्वन्ध राख्ने दलितलाई गाउँ निकला

  •  
  •  
  •  
  •  
  •  

८१ वर्षिय बृद्धलाई  परस्त्री गमनको आरोपमा वनवास पठाईयो
प्रेम सुनार
गुल्मी, पौष–५ । व्राम्हण महिलासंग प्रेम सम्वन्ध राखेको आरोपमा यो २१ औं सताव्दीको गणतान्त्रिक युगमा आई पुग्दा पनि सताव्दीऔं अघिको राणा शासनकालमा जस्तै एक दलित बृद्धलाई उर्दि जारी गर्दै र राणकालिन हैकम लाद्दै गाउँ निकाला गरिएको छ ।

गुल्मीको अर्वेनी गाविस वडा नम्वर ५ का ८१ वर्षिय बृद्ध लालबहादुर सुनारलाई स्थानिय ४२ वर्षिया न्यौपाने थरकि महिलासंग पुष १ गते राती रंङ्गेहात पक्राउ गरिएको आरोप लगाउँदै उनिहरु दुवैलाई बाँधेर निर्घात कुटपिट गरी कानुन हातमा लिई वनवास पठाईएको हो ।
अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने र ति महिलाका भतिजाको अगुवाईमा सयडेढ सय जनाको हुल–जत्थाले उनिहरु दुवैलाई गाउँ निकालाको कागज पत्रमा जवरजस्ती औठा छाप गर्न लगाई गाउँ निकला गरिएको थियो ।

ति दलित बृद्धको घरमा त्यस दिन विहान करिव ५ वजेको समयमा आफु पुगेको केहि वेरमैं भतिजा सहितका मानिसहरु पुगेर आफुहरु दुवैका हात पछाडी पार्दै बाँधेर पारी गाउँमा लगेर गोरु चुटे झै चुटेको ति महिला र बृद्धले बताए । ति वृद्ध आज कुटाई खाएको पाँचौ दिन सम्म पनि हिड्न सकेका छैनन् । विशेषतः उनको खुट्टामा बढि मात्र लाठी प्रहार भएका डामहरु देख्न सकिन्छ ।
स्थानिय राजनैतिक दलका नेता र स्वयम भतिजाले पनि उक्त कार्य गरेको स्वीकार गरेका छन् । उनिहरु दुवैलाई बाँधेर कुटपिट गर्दै गाउँ डुलाएका र गाविसमा पुराएर गाउँ निकला गर्ने कागजी निर्णय गराएका भतिजाले भने –‘मैले मात्रै गरेको होईन् यहाँका सय ढेढ सय जनाले गाउँ निकाला गर्ने निर्णय गरे पछि त्यो निर्णयलाई कार्यन्वयन गर्न उनका छोरा अनुराम सुनारलाई लगेर घर भत्काउन लगाएको हुँ , त्यसमा म मात्रै थिईन्। ’
त्यो घर नभत्काई दिए ति वनवास पठाईएका जोडी राती आएर बस्ने भएकोले दिउँसै कि घर छोराले नै घर भत्काई दिनु पर्ने अन्यथा साँझ आफुहरु नै जलाई दिन बाध्य हुनु पर्ने भएकोले त्यसो गरिएको न्यौपानेको भनाई थियो ।
अन्दाजी ३० वर्षिय ति बृद्धका छोरा अनुराम सुनारले भतिजा सहित ठुलो जत्थाले आफुलाई एक्लो पारी गलत्याउँदै घर भत्काउछस् कि जालाई दिउँ भने पछि आफु उनिहरुकै आँखा अगाडी घर भत्काउन बाध्य भएको बताए ।
वावुको गल्ती नै भए पनि घर नजलाई दिनुस् कमसेकम छानाको खर, डाँडाभाट र काठहरु त बचाउन सक्ने छु भन्दै हात जोडेर बरु म आफै भत्काउँछु भन्न बाध्य भएको पिडा उनले व्यक्त गरे । ‘वावु र ति महिलालाई थाङनावोटा बोकाएर वन पठाए पछि ठुलो जत्थाका सामु चुँ गरेर बोल्न सक्ने उपाए मेरो थिएन् ’–सुनारले गहभरी आँशु पार्दै भने कतैबाट गुहार पाईएन् ।’
आरोपित ८१ वर्षिय बृद्ध लालबहादुर सुनारकी श्रीमतिको २२ वर्ष अघि नै मृत्यु भएको थियो । छोरा बुहारी छुट्टिभिन्न भएर अर्कै गाउँमा बस्दै आएका थिए । विच जंगलको एकान्त स्थानमा रहेको घरमा उनका वावु एक्लै बस्दै आएका थिए । उक्त घर अहिले भत्केको ठाँटी जस्तै बनेको छ ।
वन पसेका ति दुवै जनालाई उनका छोरा र आफन्तजनले अर्को दिन देखि खोज्न थाले । दुई दिन पछि घर देखि धेरै टाढाको विच जंगल र अनकन्टार भिरमा ति दुवैलाई भेटेका थिए । दुई दिन दुई रात सम्म जंगलमा वसेका उनिहरुलाई त्यहाँका दलितहरुले गाउँ फर्काए पनि वस्ने वास र खाने गास नहुँदा ति दुवै विचल्लीमा परेका छन् ।
वाँधेर गाउँ डुलाईएका उनिहरुलाई नेपाली कांग्रेस अर्वेनीका सभापति रामप्रसाद न्यौपानेले यसरी नबाँध, फुकाई देउ भने पछि तल गाविस कार्यालय माथीको पिपलको चौतारीमा ल्याएर फुकाई दिएको बताए ।
कानुन हातमा लिएर गाउँ निकाला गर्ने निर्णय नगर भन्दा पनि ठुलो जत्थाले अटेरी गरेको र त्यस पछि आफु त्यो छलफलमा सहभागी हुन नचाहेको सभापति न्यौपानेले बताए । उनिहरु दुई विचको अवैध सम्वन्ध थियो र स्वीकार पनि गरे पछि उनिहरु आफ्नै घरमा बस्न पाउने अधिकारलाई कुण्ठीत गरिएको यस्तो घटना प्रति सभापति न्यौपानेले निन्दा गरे ।
नेकपा एमाले देविप्रसाद न्यौपानेलाई पनि थाहै नदिई गरिएको त्यो निर्णय मान्य नहुने र पछि मात्र थाह पाएकोले दुखद घटनाका रुपमा आफुहरुले लिएको बताए । नेकपा माओवादी केन्द्र अर्वेनीका प्रतिनिधी कमल न्यौपानेले उक्त घटनाको पार्टीले बैठक राखेर निन्दा गर्ने बताए ।
हामी यहाँका युवाहरुलाई बोलाईएको भए त्यस्तो हुन दिने नै थिएनौं भन्दै न्यौपानेले त्यहाँ सवै जना रुढीवादी सोच भएकाहरुले कानुन हातमा लिएर मानव अधिकार हनन् भएको प्रति दुख लागेको बताए । अर्वेनी स्थित भगवती उच्च माध्यामिक विद्यालयका प्रधानध्यापक थानेश्वर न्यौपानेले विद्यालय प्राङ्गणमै जुटेर गरिएको त्यस्तो अमानविय कार्य गरिएको बारे आफुलाई थाहै नदिईएको गर्न र ति विस्थापितहरुलाई पुनस्थापित गरिनु पर्ने बताए ।

उनि सहित पार्टीका जिम्मेवार नेता र ति बृद्धका आफन्तजन र त्यहाँका दलित अगुवाहरुलाई समेत नवोलाएर सिङ्गो व्राम्हण समुदायले गाउँ निकलाको एकलौटी निर्णय गरेर मानवअधिकारको धज्जी उडाएको त्यहाँका दलितहरुले गुनासो गरेका छन् । गाविस कार्यालय सहायक न्यौपानेले सदरमुकाममा रहेका गाविस सचिव भोजबहादुर रानालाई समेत फोन मार्फत नसोधेर त्यस्तो कार्य गरिएको त्यहाँका दलितहरुले आरोप लगाएका छन् ।
गाविस सचिव राना संग घटनाको पाँच दिन पछि आज विहान सोध्धा आफुलाई केहि थाह नभएको भन्दै आश्चर्य प्रकट गरे । ‘ सदरमुकामा भएका रानाले भने–‘खै मलाई त्यसबारे केहि थाह भएन , मलाई गाविस कार्यालय सहायक न्यौपानेले जानकारी गराउनु भएन क्यारे, गाउँवासीले जे भन्नु भयो त्यही गर्नु भए होला , के रहेछ म अव बुझ्ने छु ।’
गाविस सहायक न्यौपानेले किन त्यस्तो कागज गराएको भनेर प्रश्न गर्दा सुरुमा उक्त कागज गराएकै होईन् भनेर ढाँटे । पछि प्रत्यक्षदर्शी र हस्ताक्षरकर्ता बिक लगायतले त्यसरी ढाँट्न पाईन्छ भनेर सवाल उठाउँदै उक्त कागज मागे पछि हुन त हो तर च्यातेर फालियो , अहिले छैन् भनेर भने ।
आफ्नो बचाउका लागि आफु मात्रै बोलिरहेका  न्यौपानेले यस समाचारदातालाई समेत प्रश्न राख्दा विच विचमा चड्की रहे । उनले दलित समुदायलाई सुझाव दिदै भने–‘ हेर्नुस् तपाईहरुको घर सरसफाई हुनु प¥यो , जाँड रक्सी खाएर हिड्नु पनि भएन् । वाहुनहरुको सभ्यता अनुसार चलियो भने कसैले विभेद गर्दैन् र गरिएको पनि छैन् ।’
उनले राज्यले छुट्टाउँदै आएको लक्षित वर्गको रकम पनि आफैले छुट्टाई दिए जस्तो गर्दै त्यहाँका दलितहरुलाई भने–‘ तपाईहरुलाई कहिले विभेद गरिएको छ ? वर्षेनी दलित, जनजाती अपाङ्गहरुका लागि रकम छुट्टाईकै छ , अरु कुरामा पनि विभेद गरिएकै छैन् । ’ स्थानियवासी समेत भएकोले न्यौपाने संग दोहरो सवाल जवाफ समेत गर्न नसक्ने त्यहाँका दलितहरु दविएर बस्नु परेको गुनासो गर्दछन् ।
उनले दलितहरुलाई सरसफाईको पाठ सिकाई रहँदा उनको कपडा, दाँत र घर भन्दा सफा त्यहाँका दलितहरुको घर , लुगा र दाँत सफा देखिएको थियो । उनले सरसफाई र सभ्यताको पाठ सिकाएको सुनेर त्यहाँकी एक महिलाले नाक खुम्चाउँदै भनिन्–‘ त्यसो भन्न लाज पनि कति नलागेको होला, बरु हामी उनकै घरमा खुट्टा टेक्न घिनाउँ छौं । ’
उनले केहि दाजु भाई पक्षको आवेसका पछाडी लागेर ति ८१ वर्षिय बृद्ध र ४२ वर्षिया महिलालाई श्रीमान , श्रीमतिको नाता स्थापित र उता पुर्व पतिबाट विच्छेद गराई गाउँ निकालाको कागज पत्र गराएर मानव अधिकार हनन गरिएको र दलितहरु माथी १६ औं शताव्दीताको भन्दा पनि निकृष्टखालको विभेद गरिएको जिल्लाबाट त्यस घटनाको वारेमा बुझ्न पुगेका दलित अधिकारकर्मी विष्णु सुनारले बताए ।
सुनारले सरकारी तलव खाएका अर्वेन गाविस कार्यालय सहायक उति वेलाको मुखिया जिम्वाल जस्तो बनेर प्रस्तुत भएकोले उनि माथी कार्वाही हुनु पर्ने माग गरे । दलित प्रतिनिधीका रुपमा उक्त कागजमा हस्ताक्षर गर्न लगाईएका अर्वेनी ९ का बेलबहादुर बिकले आफुलाई धेरै ढिलो बोलाएर हस्ताक्षर गराएको बताए ।
‘आफुहरुले सवै निर्णय गर्दै र कागज पत्र समेत लेखि सके पछि म आएको हुँ , पढेर गाउँ निकलाको निर्णय सुनाउँदै मलाई हस्ताक्षर गर्न लगाएका हुन् बिकले भने –‘त्यत्रो गाउँ घोप्टीए पछि म बोल्न सक्ने कुरै भएन र हस्ताक्षर गर्न बाध्य भएको हुँ ।’
तर, गाविस सहायक न्यौपानेले गाविस कार्यालय अलि तल ५ मिनेटको बाटोमा रहेका त्यस गाविसका दलित वर्ग उत्थान गाविस समन्व्य समितिका अध्यक्ष टिकाराम सुनार र ति बृद्धका मावलीहरुलाई भने नवोलाएर त्यहाँ भन्दा धेरै टढा र अर्को वडाका वेलबहादुर बिकलाई बोलाएर हस्ताक्षर गर्न लगाएका थिए ।

‘उर्दि जारीले राणाशसनको झल्को आयो’
स्थानिय दलित अगुवाहरु भन्छन् हामी यहाँ थोरै घरधुरी भएकोले दमन र चरम विभेदमा पहिल्लै देखि बाँच्नु परेको छ । त्यस माथी ति दलितको घर भत्काउन र गाउँ निकालेर वनवासको उर्दि जारी गर्दा राणाशासनमा सुन्ने गरिएको हुकुमी साशनको झल्को लागेको छ ।
त्यहाँका दलित समुदायका युवा नेता सुर्य सोनीले यसपाली अत्यचारको प्रकाष्ठ नाघिएकोले कानुन हातमा लिनेहरुलाई कार्वाही हुनु पर्ने माग गरे । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गनाको ध्यानकृष्ट गराउँदा पिडित पक्षले जाहेरी दिए घटनाको सत्य तथ्य बुझेर दोषि ठहरिए कार्वाही हुने बताए ।
उनले भने –‘कस्तो खालको मुद्धा दिने हो , सार्वाजानिक अपराधको दिने भए सात दिन भित्र जाहेरी दिन लगाउनु होस् ।’ उनले प्रहरी प्रमुख संग समन्व्य गर्न सुझाए पछि हामीले जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावललाई पनि घटना विवरण वारे जानकारी गराएका थियौं ।
गाविस सहायक न्यौपानेले त्यहाँका दलका शिर्ष नेताहरुलाई त वोलाएनन् नै त्यहाँबाट नजिकै रहेको पुर्तिघाट प्रहरी चौकीलाई समेत त्यति ठुलो घटनाको जानकारी गराउने चेष्टा गरेनन् । प्रहरी प्रमुख रावलले तत्काल उक्त प्रहरी चौकीलाई बुझ्न पठाउने बताएका छन् । तस्वीरः भत्काईएको घर, जोगाईएको खर र दारपात देखाउँदै उनै बृद्धका छोरा र ति दुई आरोपितहरु

Comments

comments

Comments are closed.