रेसुङ्गाको संरक्षण र विकासमा पर्यटन व्यवसायी जुट्न थाले

  •  
  •  
  •  
  •  
  •  

रेसुङ्गा (गुल्मी), २९ चैत । ऐतिहासिक तपोभूमिका रुपमा परिचित गुल्मी जिल्लास्थित रेसुङ्गा यहाँको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने देखिएको छ ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घासको शिरमा अवस्थित यो स्थल सदरमुकाम र आसपासको खानेपानीको मुख्य स्रोत हो भने ३१ प्रजातिका जडीबुटी, विशेष प्रकारका ३० थरी रुख तथा वनस्पति, १५ प्रकारका वन्यजन्तु, ४० प्रकारका पक्षी बसोबास गर्ने विविधतायुक्त स्थल हो ।

प्राचीनकालदेखि ऋषिमहर्षिले तपस्या गरेको यो स्थल धार्मिक पर्यटनको समेत उत्कृष्टस्थल भएको गुल्मीका पर्यटन व्यवसायी एवम् होटल व्यवसायी मञ्च गुल्मीका संस्थापक अध्यक्ष युवराज भण्डारीले बताउनुभयो ।

अत्यन्त मनोरम हिमाली तथा पहाडी दृश्य एक साथ अवलोकन गर्न सकिने यो स्थलको आवश्यक प्रचारप्रसारका साथै अत्यावश्यकीय पूर्वाधार विकास गर्नसकिए रेसुङ्गालाई स्वदेशी एवम् विदेशी पर्यटककको आकर्षक गन्तव्य बनाउन सकिने उहाँको भनाइ छ ।

समुद्री सतहबाट २,३४७.२ मिटरको उचाइमा रहेको रेसुङ्गाको चुचुरोमा प्राचीन सिद्धस्थान छ । यस स्थानमा साउन महिनामा गुल्मी, अर्घाखाँची, पाल्पा, बुटवललगायतका स्थानबाट भक्तजन सिद्धको दर्शनका लागि आउने गर्दछन् ।

सिद्धको पूजा गरेपछि मानिसलाई आयु आरोग्य प्राप्त हुने, गाईभैँसी सधैँ दुहुना हुने, अनिकाल हट्ने, अतिवृष्टि र अनावृष्टि रोकिने, सुख, समृद्धि र सम्मुन्नति हुने जनविश्वास छ ।

“रेसुङ्गा आसपासका क्षेत्रमा सिद्धस्थान, विष्णुपादुका, यज्ञशाला, महापोखरी, फूलबारी, सानो रेसुङ्गा, साउने, मैरा, कान्छा प्रभुको तपस्यास्थल, गौशालाजस्ता अत्यन्त दर्शनीयस्थल रहेका छन्,” भण्डारीले भन्नुभयो – “यी स्थलको प्रचारप्रसारका साथै आवश्यक पूर्वाधार विकास गर्नसके मात्र पनि समग्र जिल्लाकै आर्थिक समृद्धिमा यी स्थानले विशिष्ट योगदान गर्न सक्छन् ।”

रेसुङ्गाको पोखरीमा साउन महिनाभर स्नान गर्ने प्रचलन रहेको होटल व्यवसायी मञ्च गुल्मीका उपाध्यक्ष विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस पोखरीमा असारको हरिशयनी एकादशी, साउनको औँसी र कात्तिकको हरिबोधनी एकादशीमा विशेष मेला लाग्दछ ।

रेसुङ्गाको यज्ञशालामा बाह्रै महिना नित्य पूजा हुने र यस डाँडामा फागुन चैतको महिनामा फुल्ने गुराँसका कारण डाँडो नै गुराँसमय बन्ने बताउनुभयो ।

सयौँ वर्षदेखि आगो ननिभेको यज्ञशालास्थित अग्नि कुण्ड यहाँको अर्को धार्मिक विशिष्टतायुक्त स्थल भएको यज्ञशालाका प्रमुख पुजारी हरिराज भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार यज्ञशालामा पूजा गरी यहाँको विभूति(खरानी) लगाएमा भूतप्रेतले नतर्साउने, रोगव्याधिबाट मुक्ति पाइने विश्वासका साथ दर्शनाथी यहाँ आउने गरेका छन् ।

तम्घास क्षेत्रको पानीको मुख्य स्रोत रेसुङ्गामा रहेको रामकुवा यहाँको अर्को धार्मिक महत्वको जलाशय भएको यज्ञशालाका अर्का पुजारी शान्तराज पौडेल बताउनुहुन्छ ।

प्राचीनकालमा अयोध्याका राजा दशरथ र रामचन्द्रसँग यो कुवाको सम्बन्ध जोडिएको किंवदन्ति छ ।

किंवदन्तीअनुसार राजा दशरथका सन्तान नभएपछि रेसुङ्गामा तपस्या गर्दैआएका ऋङ्ग ऋषिलाई लगेर पुत्रेष्ठि यज्ञ गराए पछि राम लक्ष्मणको जन्म भएको थियो ।

भगवान् रामचन्द्रले ऋङ्ग ऋषि तपस्यारत रेसुङ्गा पुगी तपाईंका लागि एउटा कुनै काम गरिदिने इच्छा छ भन्दा ऋषिले पानीको अभाव भएको बताएसँगै बाणले हानेर कुवा खनिदिएका थिए ।
धार्मिक विश्वासमा आधारित उक्त कुवा हिउँदमा नसुक्ने र वर्षामा नबग्ने गरेको जानकारी पौडेलले दिनुभयो । त्यही कुवाको जलबाट यज्ञशालाको नियमित पूजाआजा हुने गरेको छ ।

यो क्षेत्रमा जडीबुटी तथा वनस्पतिको अपार भण्डार रहेको रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जङ्गबहादुर कुँवरले बताउनुभयो ।

“वन सम्पदाकै कारण यस क्षेत्रबाट आउने पानीले तम्घास र आसपासमा पानीको समस्या कम गराएको छ,” उहाँले भन्नुभयो, “जैविक विविधताको अध्ययन तथा अनुसन्धानका लागि पनि यो क्षेत्र उत्तिकै महत्वको छ ।”

पर्याप्त सम्भावना बोकेर पनि आवश्यक प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा रेसुङ्गा क्षेत्र ओझेलमा परेका कारण पछिल्लो समयमा यसको दीर्घकालीन विकास गर्नुपर्छ भन्ने भावनाको विकास भएको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कणेलले बताउनुभयो ।
पछिल्ला वर्षमा होटल व्यवसायी मञ्च, रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिजस्ता संस्थाले यस क्षेत्रको विकासमार्फत समग्र गुल्मी क्षेत्रकै आर्थिक एवम् सामाजिक विकास गर्न लागिपरेको उहाँको भनाइ छ ।

पछिल्ला वर्षमा यहाँ जाने बाटोलाई व्यवस्थित गर्न लागिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रको अवलोकनका लागि टावर निर्माण गरिएको छ ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया यस क्षेत्रको विकासका लागि स्थानीय बासिन्दाको जागरुकता आवश्यक भएको धारणा राख्नुहुन्छ ।

“यसको विकासका लागि राज्य एवम् स्थानीय सरोकारवालाले पूर्वाधारमा लगानी गर्नुका साथै निजी क्षेत्रको व्यवसायमा संलग्नता कायम गरिनु आवश्यक छ,” उहाँले भन्नुभयो – “विकाससँगै यसको दिगो संरक्षणका लागि समुदायको अपनत्व हुने गरी योजना अघि बढाउनुपर्छ ।” -रासस

Comments

comments

Comments are closed.