यात्रा छोटियो, भाडा घट्यो

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी । मंसिर १९, २०७३- कालीगण्डकी करिडोरको गुल्मी खण्ड निर्माण पूरा भएको छ । दुई जिल्ला जोड्ने पालुङखोलामा सेनाले बेलिब्रिज निर्माण गरेपछि सदरमुकामबाट ८ घण्टा पैदल दूरीमा पर्ने बागलुङ, छिस्तीको धुसका स्थानीयसमेतलाई राहत मिलेको छ ।

अहिले जिल्लाको रिडीदेखि खड्गकोटको बरल्बा हुँदै बागलुङको धुससम्म सीधा बस चल्न थालेको छ । ८ घण्टा हिँडेर बागलुङ–पोखरा हुँदै एक दिन लगाएर बुटवल झर्ने सर्वसाधारणको यात्रा अहिले ५ घण्टामा छोटिएको छ । भुर्तुङ र खड्गकोटका स्थानीय सदरमुकाम तम्घास र बुटवल जान बागलुङको बरेङ, नयाँबजार, गुल्मीको शान्तिपुर हुँदै जानुपर्ने बाध्यता पनि हटेको छ ।

करिडोर निर्माणसँगै दुर्गम गाउँ भुर्तुङदेखि खड्गकोट, पूर्तिघाट, हर्मिचौर हुँदै नियमित बस चल्न थालेको छ । भाडा पनि घटेको छ । पहिले ७ सय ५० रुपैयाँ तिर्दै आएकामा अहिले ४ सय ५० तिरे पुग्छ ।

भाडा घटेसँगै यात्रा पनि झन्डै २० किलोमिटर छोटो भएको भुर्तुङका राजेश विकले बताए । निर्माण सकिएको सबै सडक ८ मिटर चौडा छ । सवारी चलेसँगै दुर्गम मानिएका भुर्तुङ, खड्गकोट, पूर्तिघाट, जयखानी, अर्बेनी, हर्मिचौर सुगम बनेका छन् ।

कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले अब २६ किलोमिटर मात्र ट्रयाक खुल्न बाँकी रहेको जानकारी दिए । ‘अब रिडीदेखि छुटेको बस सजिलै खड्गकोटको बरल्बा हुँदै बागलुङको छिस्तीसम्म आइपुग्छ,’ उनले भने । ४५ किलोमिटर सडक निर्माणमा झन्डै ५० करोड रुपैयाँ खर्च भएको उनले बताए ।

बागलुङको मालढुंगादेखि बलेवा एयरपोर्ट, टुटुंगा हुँदै टाकुरेसम्म १४ किलोमिटर खण्ड पनि निर्माण सकिएको सेनाले जनाएको छ ।

करिडोरको हालै एमाले केन्द्रीय सचिव प्रदीप ज्ञवाली र बागलुङ क्षेत्र नं. २ का सांसद प्रकाश पौडेलले अनुगमन तथा निरीक्षण गरेका छन् । दुवैले करिडोरको छिस्तीदेखि टाकुरेसम्मको ट्रयाक खुल्न बाँकी खण्डको शिलान्यास पनि गरे । ज्ञवालीले बाँकी खण्डको काम पनि तीव्र पारेर जेठसम्ममा सजिलै बागलुङ पुर्‍याउन आग्रह गरे । ‘यो खण्डमा पनि ट्रयाक खुलेपछि करिडोरले उत्तरको कोरालादेखि दक्षिणको सुनौली नाका जोड्नेछ,’ उनले भने, ‘सरकारको राष्ट्रिय गौरवको योजना भएकाले रकम अभाव हुँदैन, काम तीव्र बनाउनुहोला ।’ २० वर्षे सडक नीतिअन्तर्गत गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुग्ने गरी सडकको अवधारणा तयार गरिएको छ ।

Comments

comments

Comments are closed.