‘म महिला भएकै कारण मेयर पदको टिकट नपाउने ?’

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, १८ वैशाख । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा गुल्मी जिल्लाको मुसीकोट नगरपालिकामा मेयर पदमा दाबी प्रस्तुत गरिरहेकी कांग्रेस नेतृ विष्णुकुमारी सापकोटाले आफ्नो प्रचार–प्रसारलाई तीब्रता दिएकी छन् ।

मुसीकोटबाट मेयर पदका लागि कांग्रेसबाट पहिलो नम्बरको सिफारिसमा परेकी सापकोटाले चुनावी माहोल आफ्नो पक्षमा रहेको दाबी गरिन् । ‘मुसीकोट नगरपालिका स्थापना गर्दा मेरो ठूलो भूमिका छ’, उनले भनिन्, ‘यहाँका जनतासँग मेरो आत्मियता जोडिएको छ । गाउँटोलीसँग म परिचित छु ।’

कांग्रेस नेतृत्वले आफूलाई मेयर पदमा टिकट दिने सापकोटले दाबी गरिन् । नेपाली कांग्रेस गुल्मी जिल्ला कार्यसमितिको वर्तमान सचिव समेत रहेकी सापकोटाले गुल्मी महिला संघको दुई कार्यकाल अध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेकी छन् ।

तपाईलाई मेयर पदमा कांग्रेसले किन टिकट दिने ? भन्ने प्रश्नमा सापकोटाले भनिन्, ‘मैले दाबीका साथ भन्न सक्छु । मुसीकोट नगरपालिकामा मेरो जित सुनिश्चित छ । म महिला भएकै कारण टिकट नपाउने भन्ने प्रश्नै आउँदैन । ३० वर्षदेखि मैले कांग्रेसमा लगानी गरेको छु ।’ उनले प्रतिप्रश्न गर्दै भनिन्, ‘म महिला भएकै कारण मेयर पदको टिकट नपाउने त ?’

कांग्रेसले उपमेयरमा टिकट दियो भने के गर्नु हुन्छ नि भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले मेयरमा टिकट पाउनु पर्छ भनेर केन्द्रीय नेतृत्वसँग पनि कुरा गरेको छु । जिल्ला तहमा पनि कुरा भएको छ । सबैले हुन्छ भन्नु भएको छ । मेरो दाबी मेयरमा हो । उपमेयरमा होइन ।’

विजयी भएमा मुसीकोट नगरपालिकामा रहेका तत्कालीन चार वटा गाविस र ३ वडाहरूलाई पर्यटन, कृषि, हाइड्रोपावर, सडक निर्माण, कालोपत्रे, चक्रपथ निर्माण, लंगिक हिंसाको अन्त्य, शैक्षिक क्षेत्रमा सुधारका साथै गाउँटोलका सर्वसाधारण जनतालाई ध्यानमा दिएर कार्यक्रम ल्याउने सापकोटाले उल्लेख गरिन् ।

मुसीकोट नगरपालिकाको रुद्रावती क्याम्पसलाई आफ्नो चार रोपनी जग्गा दिएर सहयोग गरेको स्मरण गरेकी कांग्रेस नेतृ सापकोटाले भनिन्, ‘विपक्षी उम्मेदवारभन्दा म धेरै बलियो छु ।’ उनले आफ्नो टिममा उपमेयरका लागि कृष्णप्रसाद सापकोटालाई राख्ने उल्लेख गरिन् ।

‘अर्लाङकोट गाविसका पूर्वउपाध्यक्ष भइसकेका युवा नेता कृष्णसापकोटालाई उपमेयरमा टिकट दिनुपर्छ’, उनले भनिन्, ‘नगरको विकासका लागि टिमवर्क चाहिन्छ ।’ मुसीकोट नगरपालिकको उपमेरमा कृष्णप्रसाद सापकोटाले दाबी गरिरहेका छन् ।दैनिक नेपाल

Comments

comments

Comments are closed.