मौरी पालनमा कृषकहरूको मोह बढ्दै

  •  
  •  
  •  
  •  
  •  

शिवलाल शुवेदी
गुल्मी । जिल्लाको गुल्मी दरबार गाउँपालिका बलिथुमका पदम बहादुर रानाले ७ वर्ष पहिलेदेखि मौरी पालन गर्दै आइरहेका छन् । १२ वर्ष अगाडि व्यवसायिक मौरी पालनको तालिम लिएका उनलाई मौरी पालनवाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै थिएन ।

मौरी पालन गरेर घरमै मात्र प्रयोग हुन्छ भन्ने कुरामा विश्वास गर्ने पदम बहादुरको आजभोली भने उनमा धेरै परिर्वतन आएको छ । पछिल्लो समय मौरी पालन शुरु गरेर घरमा मह किन्न विस्तारै विस्तारै मानिसहरू आउन थालेपछि उनले अहिले व्यवसायिक रूपमै मौरी पालन गरेर राम्रो आम्दानी गर्न थालेका छन ।maha katdai

अहिले उनले मौरी पालनबाटै घर व्यवहार चलाउनुका साथै वार्षिक केही रकम बचत गर्ने समेत गरेका छन् । ‘मैले अहिले वार्षिक करिव दुई लाख मौरी पालनबाटै कमाउँछु,’ रानाले भने ‘महको माग बढ्दै गएको हुनाले घारहरु पनि थप्दै गएको छु ।” उनले फुर्सदको केही समय मात्र मौरीलाई समय दिए पुग्ने बताए । रानाको घरमा आहिले करिव ४० भन्दा बढी आधुनिक घारमा मौरीहरू रहेका छन । रानाले पालन गरेको व्यवसायिक मौरी पालन देखरे बलिथुम गाउँमा माहुरी पालन गर्नेहरूको संख्या समेत बढिरहेको छ । साविकको बलिथुम गााविसमा विभिन्न मौरी पालन गरि अहिले करिव १ हजारभन्दा बढी आधुनिक घारमा मौरी पानल गरिएको छ । गाउँका १ दर्जन घर परिवारले व्यवसायिक मौरी पालन मात्रै गदै आएको छन । भने जिल्लामा समेत मौरी पालन गर्ने किसानहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

यता रेसुङगा नगरपालिका सिमिचौरका रोमलाल अर्यालले पनि मौरी पालन गरेर राम्रो आम्दानी गरेका छन । स्थानीय विद्यालयमा अध्यापन गराउँदै आएका उनले ९ वर्षदेखि माहुरी पाल्दै आएका हुन् । ‘बिहान बेलुका फुर्सदकै मेहनतले माहुरी पाल्न सकिदो रहेछ उनले भने ‘माहुरिबाट वार्षिक ४ देखि ५ लाख सम्म आम्दानी हुन्छ ।” उनले अहिले मह भन्दा पनि मौरीका घार बेच्ने गरेका छन । ‘प्रकृतिमा खेर गइरहेको पुष्पको प्रयोगले मौरी पालन गर्न सकिन्छ’, उनले भने ‘राम्रो परागसेचन भयो भने बालीनाली पनि सप्रँदा रैछन् ।” उनले आजभोलि गाउँ ठाउँमा डुल्दा घुम्दा सम्भावित ठाउँमा मौरी पालनका लागि अनुरोध गर्ने गरेको समेत बताए । उनले माहुरीको गोलामा पस्ने मैन पुतली पसे नपसेको बारेमा हेक्का राख्यो भने माहुरी पालनमा अरू अप्ठ्यारो नहुने बताए । मैन पुतली माहुरीको घारमा पस्यो भने त्यसले माहुरी भाग्ने वातावरण बनाउँछ । जिल्लामा मौरी पालन किसानहरुले उत्पादन गरेको मह १ हजार रुपैया प्रतिकिलोमा बिक्री हुँदै आएको छ । केही वर्षयता जिल्लामा मौरी पालन किसानहरुको संख्या बढ्दै गएकाले उनीहरुले मौरी व्यवसायी संघ नै गठन गरेका छन । अहिले जिल्लामा ५ सय देखि ६ सय मेट्रिक टन मह उत्पदान हुने गरेको सरकारी तथ्यांक रहेको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणि पन्थीका अनुसार जिल्लामा विशेषगरी युवा पुस्ता मौरी पालनमा आकर्षित भएको बताए । ‘अहिले जिल्लाका बिभिन्न गाविसहरुमा गरि ३ हजार देखि ४ हजारको हाराहारीमा मौरीका घारहरु होलान्’ कृषि कार्यलय प्रमुख पन्थीले भने ‘विशेष गरी युवा पुस्ताले यसमा चासो देखाएका छन् ।’ उनका अनुसार प्रत्येक वर्ष कृषि कार्यलयले जिल्लाका मौरीका घारहरु वितरण गर्ने र मौरी पालन गर्न चाहाने किसानहरुलाई व्यवसाियक मौरी पालन गर्नका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनले जिल्लामा अझैपनि ४० प्रतिशत परम्परागत खोपे तथा मुडे घारहरू भएकोले ती घारहरू हटाएर आधुनिक घार राख्नुपर्ने बताए । ‘आधुनिक घारमा ४ गुणासम्म उत्पादन बढाउन सकिन्छ,’ उनले भने, ‘माहुरी पालनमा खासै समस्याहरू पनि छैनन् ।’ पन्थीले जाडो महिनामा माहुरीलाई बचाउन सकेमा अरू बेला समस्याहरू नआउने पनि बताए । साविकका बडागाउँ, नयाँगाउँ, पीपलधारा, हाडहाडे, दुबिचौर, पौँदीअमराई, बलिथुम, अर्लाङकोट, अम्मरअर्बाथोक, कुर्घा, खड्गकोट, ग्वादी, जयखानी, जुनिया, दरबार देबिस्थान, भनभने, दिव्रुुङ, पराल्मी, बिशुखर्क, भार्से, रिमुवा, वामी, सिर्सेनी, सिमिचौर, शान्तिपुर, मलागीरी, हर्मिचौर, हँसरा, हर्दिनेटा, हस्तिचौर, हुँगा, धुर्कोट रजस्थल गाविसमा माहुरी पालनको ठूलो सम्भावना रहेको छ ।

नेपाल माहुरी पालन संघ गुल्मीका अध्यक्ष चेतमान कुँवरले पछिल्ला दुई बर्ष यता जिल्लामा माहुरी पालनमा कृषकहरूले रुची बढाएको बताउँछन् । ‘मैले पहिले मह बेच्थेँ, अहिले गोलाको माग बढेपछि गोला बेच्न थालेको छु । यो बर्ष पनि ५० घार माहुरी त बेच्छु होला,’ उनले भने, ‘अरू कृषि पेशा भन्दा माहुरी पालनमा थोरै मेहनत पर्ने भएकोले किसानहरू यो पेशा पट्टि आकर्षित भएका छन् ।’ साथै उनले आफ्नो रेसुङगा नगरपालिका–३ को अर्खले गाउँलाई माहुरी पालनकै गाउँ बनाउने तयारी गरिरहेको बताए । ‘हाम्रोमा तरकारी, तोरी र सुन्तला धेरै हुन्छ,’ उनले भने, ‘त्यसैले माहुरी पालनका लागि समस्या छैन । गाउँभरिनै माहुरी बनाउने अभियान थालेको छु ।’ उनले जिल्लाभरनै माहुरीलाई खासै चरनको समस्या नभएको बताए । पछिल्लो समय किसानहरुले जग्गा भाडामा लिएर समेत मौरी पालन गदै आएका छन ।

Comments

comments

Comments are closed.