मुसीकोटमा कांग्रेस उम्मेदवारले प्रचार शैली परिवर्तन गर्दै, यस्तो छ नयाँ रणनीति

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, ६ असार । गुल्मी जिल्लाको मुसीकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरूले आफ्नो प्रचार प्रसारको कार्यलाई अन्तिम चरणमा पुर्‍याएको जनाएका छन् ।

कांग्रेसले मुसीकोटमा मेयरमा कृष्णहरि सापकोटा र उपमेयरमा विष्णुकुमारी सापकोटालाई टिकट दिएको छ । टिकट पाएरसँग कृष्णहरि र विष्णुकुमारीले समूह बनाएर कांग्रेसका पक्षमा मतदान गर्न आग्रह गर्दै गाउँ र टोलहरूमा घुमेका छन् ।

निर्वाचन कार्यालयले आज मंगलबार चुनाव चिन्ह वितरण गरेपछि चुनावी प्रचार प्रसारलाई रणनैतिक रुपमा अगाडि बढाउने तयारी भएको छ ।
Gulmi-Musikot-Congress
मुसीकोट नगरपालिकामा उपमेयरको टिकट पाएकी विष्णुकुमारी सापकोटाले एकल महिला र पुरुषका साथै युवा पुस्ताको चाहना बमोजिमका आर्थिक सवलताका कार्यक्रम ल्याउने बताउँदै आएकी छिन् । तपाईको चुनावी नाराहरू के छन् ? भन्ने प्रश्नमा उपप्रमुखको उम्मेदवार सापकोटाले भनिन्, ‘शिक्षा, स्वास्थ्य, आर्थिक समृद्धि, रोजगारी, पर्यटन, विकासहरू नै मेरा प्राथमिकतामा छन् । विशेष गरेर मुसीकोटको आर्थिक सम्भाव्यतालाई नै जनताको सहभागितामा अगाडि बढाउने योजना बनाएकी छु ।’

मेयर पदका उम्मेदवार कृष्णहरि सापकोटाले पनि स्थानीयस्तरमा उपलब्ध स्रोत साधनलाई नै प्रयोग गरेर आर्थिक समृद्धि र विकास गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताए ।

उनले भने, ‘मुसीकोट नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूको जित सुनिश्चित देखेको छु । हाम्रो समूहले जित हासिल गरेमा स्थानीय साधन स्रोतहरूलाई प्रयोग गरेर विकासका कार्यक्रम अगाडि बढाउँछौँ ।’

मुसीकोट नगरपालिकामा कांग्रेसका सबै उम्मेदवारहरू लोकप्रिय र स्थानीयसँग घुलमिल भएका रहेको कांग्रेसका युवा नेता कृष्णप्रसाद सापकोटाले दाबी गरे । उनले भने, ‘मुसीकोटमा कांग्रेसका उम्मेदवारहरूले जित्छन् । अहिलेसम्मको रिर्पोटिङ कांग्रेसको पक्षमा छ ।’

प्रचार प्रसारमा सक्रिय रहेका सापकोटाले भने, ‘अब मतदानको दिन नजिकिँदै छ । मुसीकोट नगरपालिकामा कांग्रेसका उममेदवारहरूले चुनावी प्रचारको कार्यक्रमलाई अलिक फरक शैलीबाट अगाडि बढाउने तयारी गरेका छन् । अरुको भन्दा अब हाम्रो प्रचार शैली फरक हुन्छ ।’

असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा गुल्मी जिल्लामा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने स्थानीय नेताहरूको भनाइ छ । -दैनिक नेपालबाट

Comments

comments

Comments are closed.