भूकम्पको २० महिनापछि गाउँमा इन्जिनियर

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, माघ २३ । खड्गकोट–४ का यमनाथ ढकाल भूकम्पले घर भत्किएपछि नजिकै टिनको छाप्रो हालेर बसेको करिब वर्ष दिन भयो । उनले राहतका नाममा १५ हजार रुपैयाँ र एउटा त्रिपाल मात्र पाएका छन् । उनको दुई बर्खा र दुई हिउँद टिनको छाप्रोमै बित्यो । आउने बर्खासम्ममा घरमै बस्ने सपना छ, तर त्यो सपना पूरा नहुने लगभग पक्का भइसकेको छ ।

खड्गकोट–४ कै माया परियारको नौजनाको परिवार पनि भूकम्पले आधा भत्काएको गोठमा भैँसीसँगै अटाएको छ । आधा बाँकी रहेको गोठ पनि ढल्ने अवस्थामा छ । भूकम्पपछि उनले पनि राहतको नाममा १५ हजार रुपैयाँ र एउटा त्रिपाल मात्र पाएकी छिन् । भूकम्पलगत्तै पुगेका प्राविधिकले उनको गोठमा पनि बस्न नमिल्ने भन्दै रातो कार्ड दिएको थियो । तर, उनीसामु गोठमै बस्नुको विकल्प नै छैन ।
vukampa-625x405
सोही स्थानकी ७८ वर्षीया डिला ढकाल पनि भैँसी गोठमै बस्न थालेको दुई वर्ष पुग्न लाग्यो । ‘पोहोरको चिसो त खाइयो,’ उनले भनिन्, ‘यो वर्ष पनि न्यानोमा बस्ने सपना पूरा नहुने भयो । ‘राहत आउँला भनेको बल्ल इन्जिनियर आएका छन्’ उनले भनिन्, ‘राहत आउने कहिले हो, घर बनाउने कहिले हो ।’

भुर्तुङ–५ का ६१ वर्षीय बलिभद्र शर्मा पनि पूर्णक्षति भएका भूकम्पपीडितको सूचीमा छन् । सरकारले अनुदान दिएपछि घर निर्माण गर्ने उनको सपनाले अझैसम्म आकार लिन सकेको छैन । ‘गरिब–दुःखी मान्छे आफ्नै पैसाले घर बनाउन सकेका छैनौँ,’ उनले भने, ‘सरकारको भरोसा लाग्न छाड्यो, बल्ल इन्जिनियर आएका छन्, खै के भन्ने ।’ गुल्मीका अधिकांश भूकम्पपीडितले न्यानो कपडाको राहत पनि नपाएको उनले बताए ।

घर कस्तो बनाउने भन्नेमै अन्योल

भूकम्पपछि कस्तो र कसरी सुरक्षित घर बनाउने भन्नेमा व्यापक बहस भएको छ । सरकारले घर निर्माणको निश्चित मापदण्ड बनाएको छ । गुल्मीका सर्वसाधारण कस्तो घर बनाउने भन्नेमा अन्योलमा छन् । विवरण संकलन गर्नबाहेक प्राविधिकहरू गाउँ आएका छैनन् । ‘राहतको आशा त मर्न थाल्यो, घर बनाउन चाहनेहरू पनि दुविधामा छन्,’ खड्गकोटका यमनाथ ढकालले भने, ‘कस्तो घर बनाउने भन्नेमा कतैबाट पनि सल्लाह, सुझाब पाइएको छैन ।’

भूकम्पले बढी प्रभावित भएका खड्गकोट, भुर्तुङ, जयखानी, फोक्सिङ र पूर्तिघाट गाविसका भूकम्पपीडितले सुरुवाती राहतबाहेक अन्य पाएका छैनन् । आफैँ घर बनाउन सक्ने क्षमता भएकाहरूले पनि कस्तो घर बनाउने भन्ने अन्योलका कारण घर निर्माण गर्न सकेका छैनन् । जिल्लामा जिल्ला विकास समितिबाट सिफारिस गरिएका सात हजार चार सय ८८ भूकम्पपीडित परिवार रहेका छन् । सबैजना राहत र प्राविधिकको प्रतीक्षामा छन् ।

‘लगत संकलनल गत्तै पुनर्निर्माण’

भूकम्पको करिब २० महिनापछि भूकम्प प्रभावित गाउँहरूमा इन्जिनियर आएका छन् । भूकम्प प्रभावित क्षेत्रमा आवास पुनर्निर्माण कार्यक्रमअन्तर्गत २६ पुसबाट ३३ जना इन्जिनियरले गाउँ–गाउँमा पुगेर स्थलगत रिपोर्टिङ गरिरहेको र ४५ दिनभित्रमा सबै काम सम्पन्न हुने जिल्ला लगत संकलन व्यवस्थापन कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले बताए । यसअघि जिविसले सिफारिस गरेका सात हजार चार सय ८८ घरधुरीको अवस्था इन्जिनियरहरूले अध्ययन तथा अवलोकन गरेर फर्किएपछि पुनर्निर्माणको काम सुरु हुने उनले बताए ।

यसअघि रातो र पहेँलो जुनसुकै कार्ड पाए पनि इन्जिनियरको नयाँ मापदण्ड अनुसारको प्रमाणीकरण नै अन्तिम हुने र पुनर्निर्माणको काम थालनी हुने पोख्रेलको भनाइ छ । अहिलेसम्म पाँच हजार चार सय ७८ घरघुरीको लगत संकलन भएको छ भने चार हजार ४९ जनाको तथ्यांक केन्द्रीय तथ्यांक विभागमा पुगिसकेको छ । कार्यालयका अनुसार छुटमा परेका ७८ जनाको पनि लगत संकलन गरिएको छ । जिल्ला लगत व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले यो कामको थालनीबाट कोही अन्यायमा नपर्ने दाबी गरे । उनले प्रमाणीकरण गर्दै गर्ने र पुनर्निर्माणका लागि पहिलोचरणको रकम पनि छिटोभन्दा छिटो व्यवस्थापन गरिने बताए ।

Comments

comments

Comments are closed.