बूढानीलकण्ठका बिद्यार्थीहरुद्वारा गुल्मीको बिद्यालयलाई कम्प्युटर र शैक्षिक सामाग्री सहयोग

  •  
  •  
  •  
  •  
  •  

तम्घास (गुल्मी), १३ वैशाख । काठमाडौँस्थित बूढानीलकण्ठ ‘ए’ लेबलमा अध्ययनरत विद्यार्थीले गुल्मीको एक सामुदायिक विद्यालयलाई कम्प्युटरसहित शैक्षिक सामग्री र खेलकुद सामग्री सहयोग उपलब्ध गराएका छन् ।

‘ए’ लेबलमा अध्ययनरत ११ जना विद्यार्थीले गठन गरेको शैक्षिक नेपाल अभियान क्लबबाट रिमुवास्थित जनज्योति माविका विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको क्लबका संयोजक सुलभ खनालले बताउनुभयो । सूचनाको पहुँचमार्फत शैक्षिक गतिविधिलाई अघि बढाउन मद्दत गर्ने उद्देश्यसहित विभिन्न सङ्घसंस्था र सहयोगीसँग रकम सङ्कलन गरेर सामग्री वितरण गरिएको खनालले जानकारी दिनुभयो ।

बूढानीलकण्ठका शिक्षक कुमार अधिकारीको नेतृत्वमा क्लबमा आबद्ध विद्यार्थी शाश्वत बस्नेत, रोहन अधिकारी, अमृत पण्डित, आभाष राजभण्डारी, मालिका पुडासैनी, सविना न्यौपाने, हिमा कार्की, स्पन्दन विष्ट र पायोजा अधिकारीले विद्यालयका प्राचार्य हेमनाथ पौडेललाई संयुक्तरुपमा रु पाँच लाख बराबरका सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरित सामग्रीमा आठ थान कम्प्युटर, एक थान प्रिन्टर, ६ सयभन्दा बढी विभिन्न पुस्तक र खेलकुद सामग्री रहेको क्लबका संयोजक खनालले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदबहादुर दर्लामीको अध्यक्षता र सहायक जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

‘समाजका लागि हामी’ नारा लिएर उक्त क्लबले पहाडी क्षेत्रका विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको छ । गत वर्ष पनि डडेलधुराको एक विद्यालयलाई कम्प्युटर र शैक्षिक सामग्री हस्तान्तरण गरेको शिक्षक अधिकारीले बताउनुभएको छ ।

Comments

comments

Comments are closed.