यसरी घट्छ ३६ प्रतिशतको ब्याज दर ६ प्रतिशतमा, सयकडा ५० पैसाका दरले ऋण

  •  
  •  
  •  
  •  
  •  

रासस
महोत्तरी । पुस्तौँसम्म चर्को ब्याजदरमा ऋणको सहारामा गृहस्थी चलाउँदै आएका बर्दिबास नगरपालिका–२ का मुसहरले बचत गर्न थालेका छन् ।

स्थानीय रातु नदीमा बालुवा चालेर, नजिकैको जङ्गलबाट ल्याएको दाउरा बजारमा बिक्री गरेर र ज्याला मजदुरी गरेर आय आर्जन गर्दै आएका उनीहरुले एक समूह बनाएर बचत गर्ने बानी बसालेका हुन् ।

छोराछोरीको पालनपोषण गर्न, शिक्षा दिलाउन तथा जीवन धान्नका लागि दर्जनौँ मुसहरले सामूहिक रुपमा बचत गर्न थालेका छन् ।

स्थानीय मुसहर युवाको सक्रियतामा आर्थिक विकासका लागि गठन गरिएको ‘मुसहर बचत समूह’ नामक संस्थामा उनीहरुले तीन महिनाको अवधिमा ९० हजार रुपैयाँ बचत गरेका हुन् ।

समूहमा हरेक सदस्यले मासिक ५०० बचत गर्दै आएका छन् भने समूहमा आबद्ध सदस्यका लागि सयकडा ५० पैसाका दरले ऋण प्रदान गर्दै आएको समूहका अध्यक्ष मञ्जय सदाले जानकारी दिए । प्रत्येक महिनाको १५ गते बैठक बसी रकम सङ्कलन गर्नुका साथै सुख दुःखका कुरा एकापसमा बाँड्दै आएको स्थानीयवासी विल्टु सदाले बताए ।

समूह गठन भएपछि हरेक कामकाजका लागि बाहिरबाट ३६ प्रतिशत व्याजमा ऋण लिन परेको छैन भन्दै समितिका सदस्य मनिसा सदाले बिगतमा घर चलाउनका लागि साहुसँग चर्को व्याजमा लिएको ऋण तिर्न नसक्दा वर्षौंसम्म नोकरी गरेर पैसा चुक्ता गर्नुपथ्र्यो तर अहिले सस्तोमा ऋण लिन र बचत सङ्कलन गर्ने परिपाटीले यस समुदायको मुहार फेरिने आशा व्यक्त गरिन् ।

आर्थिक, सामाजिक, शैक्षिक, सरसफाइलगायतका क्षेत्रमा अन्य समुदायको तुलनामा अत्यन्त पिछडिएको कमजोर सो समुदायलाई दिइएको चेतनामूलक सन्देशले धेरै नै परिवर्तन आएको स्थानीय सामाजिक कार्यकर्ता राजकरण महतो बताउँछन् ।

“गत पुस महिनामा सरकारको सरसफाइ दूतका रुपमा आएका हास्य कलाकारद्वय धुर्मुस र सुन्तलीले सो बस्तीमा चेतना फैलाएपछि अहिले समाज परिवर्तनको पथमा लम्किरहेको उनको भनाइ छ ।

बस्तीका बासिन्दाले अब शैक्षिक र आर्थिक विकासतर्फ ध्यान दिएका कारण चाँडै नै दलित समुदायको अन्य बस्तीको तुलनामा उत्कृष्ट एवम् नमुना बस्तीका रुपमा परिचित हुने स्थानीय युवा नेता शङ्कर महतो बताउँछन् ।

आर्थिक रुपमा अति नै विपन्न रहेको सो बस्तीमा ६० घरपरिवारका ३६५ व्यक्ति बसोबास गर्दै आएका छन् ।

Comments

comments

Comments are closed.