बिक्नै छाडे हातले बुनेका घरेलु सामग्री

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
माघ ८, २०७३ । आठ दिन पैदल यात्रा गरेर रिडी आइपुगेकी रुकुमको काँक्री ६ की धनपुरा घलेले २५ वटा कम्बल ल्याएकी छन् । उनले एक वर्ष लगाएर भेडाको ऊन कातेर बुनेकी हुन् । रिडी आउनुको उद्देश्य बेचेर ६० हजार रुपैयाँभन्दा बढी कमाउनु हो । तर, उनी निराश छिन् ।

kambal rukum

गुल्मीको रिडीमा ग्राहक कुर्दै रुकुमका दुर्गम गाउँबाट आएका व्यापारी । विदेशी ब्लाङ्केटतिर ग्राहकको आर्कषण बढेपछि हातले बुनेर तयार गरिएका कम्बल बिक्न छोडेका छन् । फोटो: घनश्याम गौतम


‘पोहोर पनि घाटा भो,’ उनले भनिन्, ‘अहिले पनि घाटै लाग्ने भयो ।’ उनका १५ कम्बल त बिके तर निकै सस्तोमा । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा रुकुमका दुर्गम गाउँमा भेडाको उनबाट हातैले बुनेर तयार पारिएका कम्बल, राडी, पाखी ल्याएर बेचिन्छन् । रुकुमका दुर्गम गाउँ तकसेरा, लुकुम, कोल, मैकोट, काँक्रीलगायतका गाविसबाट २ सयभन्दा बढी व्यापारी रिडीमा आउँछन् । गाउँमा भेडा पाल्ने त्यसको उनबाट वर्षभरि तयार गरेका सामग्री बिक्री गरेर वर्षौंदेखि आम्दानी गर्दै आएका रुकुमेली व्यापारीको पछिल्ला वर्ष व्यापार घट्दो छ । उनीहरूले ल्याएका कम्बल १ हजार रुपैयाँदेखि २ हजार ५ सयसम्म पर्ने हुन्छन् । तर, ग्राहक त्योभन्दा महँगो मूल्य तिरेर विदेशी ब्लाङ्केट किन्ने गर्छन् ।

सबै गाउँबाट २ सयभन्दा बढीको टोली नै बनाएर घरेलु सामग्री, खाने खर्चदेखि दाउरासमेत पिठ्युँमा बोकेर रिडीमा आउने व्यापारीलाई विदेशबाट आउने ब्लाङ्केट र च्यादरप्रतिको बढ्दो आकर्षणले मर्कामा पारेको छ । ‘पहिलापहिला हाम्रा कम्बल, राडी, पाखी यो मेलामा खोसाखोस हुन्थे,’ रुकुमको कोल ९ का ७९ वर्षीय रामु पुन मगरले भने, ‘अहिले त मान्छे कम्बल देख्दा अर्कोतिर फर्केर हिँड्न थाले ।’ ल्याएको १/२ दिनमै बिक्री भएर सकिने यस्ता सामग्री हाल कमै बिक्छन् । आधा पनि बिक्री हुन मुस्किल भएको उनले बताए । कम्बलसँगै रुकुमकै ओखरको घाँजी पनि रिडीका लागि अर्को व्यापारिक वस्तु हो । घाँजी भने राम्रै बिक्री हुने गरेको छ ।
रुकुमका हाते सामग्रीसँगै पाल्पा र बाग्लुङका विभिन्न गाविसमा बाँस र निगालोबाट बुनेर तयार पारिएका डाला, नाङ्ला, कपाल कोर्ने बाँसको काइँयो पनि प्रख्यात मानिन्छ । अहिल बजारमा प्लास्टिकका सामग्री सस्तो पाइन थालेपछि बाँसका सामग्री पनि कम बिक्न थालेको जुठा ७ पाल्पाका नरबहादुर सारूले बताए । ‘रिडीमा बेच्न भनेर ३ महिना लगाएर बुन्यो,’ उनले भने, ‘यहाँ बिक्री हुनै छाडे ।’ मेलामा पुरानो पुस्ता आउनै छोडेको र नयाँ पुस्ताले घरेलु सामग्री किन्नै छाडेको उनले बताए । रिडीमा हातैले बुनेर तयार पारिएका राडी, पाखी, काम्ला तथा बाँसका सुपा, डाली, सोली, ओखरको घाँजी, गुँड र कन्दमूलहरूको व्यापारका लागि प्रख्यात मानिए पनि पछिल्ला वर्षहरूमा विदेशी सामग्रीमा ग्राहको आकर्षण बढेको स्थानीय व्यवसायी फर्सुराम पौडेलले बताए । ‘कन्दमूल भन्ने त हराउँदै गयो,’ उनले भने, ‘पहिला कम्बल बोकेर फर्कनेले अहिले ब्लाङ्केट लिएर जान्छन् ।’ त्यसले पनि घरेलु सामग्रीको व्यापारमा कमी आएको उनले बताए ।

Comments

comments

Comments are closed.