बाला चतुर्दशीमा शान्तिपुरमा भब्य कार्यक्रम हुने, राष्ट्रियकलाकारहरुको बेजोड प्रस्तुती रहने

  •  
  •  
  •  
  •  
  •  

गुल्मीन्युज डट कम कार्यक्रमको अफिसियल अन्लाईन मिडिया पार्टनर

कमल सुवेदी
शान्तिपुर, कार्तिक २७ । प्रत्येक वर्ष बाला चतुर्दशीको अवसर पारेर गुल्मी जिल्लाको उत्तर पूर्वी भेगमा रहेको शान्तिपुर बजारस्थित चक्रेश्वर मन्दिरमा मनाइने चक्रेश्वर मेला २०७३ को तयारी आयोजक स्थानिय क्लब श्री उदय शान्ती युवा क्लबले सुरु गरि सकेको छ ।

धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक पर्यटन तथा व्यापार प्रवर्द्धनमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो मेलामा यस वर्ष पनि थुप्रै चर्चित राष्ट्रिय एवम् स्थानिय कलाकारको आगमनले मेलाको उचाईलाई अझ बढाउने विश्वास गरिएको छ । क्लबका सांस्कृतिक विभागका प्रमुख सुवास केसी भन्छन, ‘ गत वर्ष झैं यो वर्ष पनि हामीले राष्ट्रिय र स्थानीय कलाकारलाई निमन्त्रणा गरेका छौं । यसपाली भने चर्चित नायिका एवम् निर्देशक रेखा थापा, लोकप्रिय गायक हेमन्त शर्मा र लोक गायक विष्णु खत्रीले चक्रेश्वर मेलालाई रंगीन बनाउनु हुनेछ । त्यस्तै बैकुण्ठ महत, रिता थापा , रोमा न्यौपाने (एक खुट्टामा नाच्ने कलाकार ), माइला बा लगायत थुप्रै शान्तिपुर सेरोफेरोका कलाकारहरु पनि दर्शकको मनोरञ्जनका लागि उपस्थित हुनुहुनेछ ।’
shree-udaya-shanti-yuwa-club-shantipur
मेलाको विविध पक्षको बारेमा जानकारी दिदै क्लबका सचिब देवेन्द्र शाह भन्छन, ‘यो मेला हाम्रो संस्कृती र परम्परासंग संबन्धित भएकोले हामीले स्थानीय क्लबहरुसंग समन्वय गरेर अझै प्रभावकारी बनाउने योजना गराएका छौं । सोही अनुरुप शनिबार बृहत् भेला गरि कार्यविभाजन पनि गरि सक्यौं। चक्रेश्वर मेला र यसको गरिमा प्रती सबैको अपनत्व होस भनेर गरिएको यो प्रयासप्रती छिमेकी क्लबहरुले देखाएको सकारात्मकताप्रती हामी आभारी छौं ।’

आगामी मंसिर ८ देखि १४ गते सम्म संचालन हुने उक्त मेलामा सांस्कृतिक एवम् धार्मिक गतिविधि संगै खेलकुदका दुईवटा प्रतियोगिता समेत आयोजना गरिएको छ । क्लबका अध्यक्ष यादवमान श्रेष्ठका अनुसार ५०००० रुपैयाँ पुरस्कार राशीको स्व.सुर्य बहादुर थापा स्मृती वार्ड स्तरिय भलिबल प्रतियोगिता र रु. २०००० राशीको ब्याडमिन्टन प्रतियोगिताले मेलाको रौनक बढाउनुको साथसाथै खेलकुद प्रवर्द्धनमा सहयोग पुर्याउने छन् । गत वर्षहरुमा खुल्ला प्रतियोगिताको रूपमा आयोजना गरिने प्रतियोगिता यो पटक किन वार्ड स्तरिय बनाइयो भन्ने प्रश्नको जवाफमा भलिबल खेल संयोजक अर्जुन थापा भन्छन, ‘हामी वार्ड स्तरिय प्रतियोगिता मार्फत स्थानिय स्तरमा लुकेर रहेका प्रतिभाहरुको उजागर गर्न चाहन्छौं ।’

कार्यक्रम संचालनका क्रममा आवश्यक पर्ने अर्थ संयोजनका लागि क्लबका कोषाध्यक्ष गोपाल शर्माको अध्यक्षतामा आर्थिक व्यवस्थापन समिती बनाइएको छ र उक्त समितिले स्थानीय एवम् उक्त क्षेत्रबाट देशका अन्य क्षेत्र वा विदेशमा रहेका उद्योगी, व्यवसायी, व्यापारी एवम् विभिन्न पेशाकर्मीहरुलाई सम्पर्क गरि अर्थ संयोजन गर्ने काम तीव्र रूपमा अगाडी बढाइसकेको छ ।

shantipur-photoसमाज परिवर्तनका लागि शिक्षा भन्ने मूल मन्त्रका साथमा सामाजिक गतिविधिमा सकृय श्री उदय शान्ती युवा क्लबको आयोजना र शान्तिपुर गाबिस , चक्रेश्वर मन्दिर ब्यबस्थापन समिति ,होटल ब्यबसायी संघ शान्तिपुर, उद्योग बाणिज्य संघ शाखा शान्तिपुर, उदय उच्च माबि शान्तिपुर, चक्रेश्वर इङ्ग्लिस बोर्डिंग स्कुल शान्तिपुर र भानु इङ्लिस सेकेण्डरी बोर्डिंग स्कुल हराचौरको सहआयोजनामा सम्पन्न हुने उक्त मेलाको अफिसियल अनलाइन मिडियाको रूपमा गुल्मीन्युज डटकमलाई छनोट गरिएको छ भने अफिसियल मिडिया पार्टनरका रूपमा रुरु एफएम र बिहानी एफएम रहेका छन्। त्यसैगरी गुल्मी जिल्लाको पहिलो टेलिभिजन रेसुंगा टेलिभिजन अफिसियल भिडियो पार्ट्नर, चर्चित युटुब च्यानल पौडेल डिजिटल युट्युब पार्टनर अनि स्थानिय केबल नेटवर्क शान्तिपुरले ब्रोडकास्टरको रूपमा मेलाको प्रवर्द्धन गर्नेछन्। जिल्ला खेलकुद विकास समिति, गुल्मीले प्राविधिक सहयोग गर्ने उक्त मेलाको बारेमा विस्तृत जानकारी गुल्मीन्युज डट कम सहित यसका सबै सोसल मिडिया पेजहरु र क्लबको अफिसियल पेज https://www.facebook.com/USYC.Shantipur/ बाट प्राप्त गर्न सकिनेछ ।

Comments

comments

Comments are closed.