बाढीले क्षति पुर्याएको सडक अझै सञ्चालनमा आएन, स्थानीयहरुलाई खाद्यान्न ढुवानीमा समस्या

  •  
  •  
  •  
  •  
  •  

सागर भण्डारी
कार्तिक २१, बागलुङ । गत श्रावण १० गते भुजीखोलामा आएको बाढीले मोटरबाटो बगाएपछि अवरुद्ध बनेको पश्चिम बागलुङ स्थित अधिकारीचौरको दोगाडी, गादीखोला र बोबाङको छ्यान्तुङ ढोरपाटन जोड्ने सडक सञ्चालनमा आउन नसक्दा स्थानीयहरुलाई समस्या परेको छ ।

बाढीले अवरुद्ध बनाएको मोटरबाटो सञ्चालनमा नआउँदा उनीहरुलाई खाद्यान्न ढुवानी देखि बुर्तिबाङ सम्म यात्रा गर्न पनि कठिनाई हुने गरेको छ । सडक अवरुद्ध हुँदा अहिले अधिकारीचौरको वडा नं ५ का बासिन्दा २ घण्टाको पैदल बाटो दोगाडी झरेर मात्रै त्यहाँबाट यातायातमा बुर्तिबाङ आउने गरेको स्थानीय खड्क बहादुर पुनले जानकारी दिनुभयो । खाद्यान्नका सामानहरु खच्चड मार्फत ढुवानी गर्ने गरेको भएपनि गाडीमा भन्दा खच्चडमा ढुवानी महगों हुने भएकाले आफुहरु समस्यामा परेको उहाँले बताउनुभयो ।

२०६८ सालमा जिल्ला विकास समिति र स्थानीयको चन्दा तथा श्रमदानबाट खनिएको ढोरपाटन जाने प्रमुख सडकको रुपमा समेत रहेको उक्त मोटरबाटो सञ्चालनमा आउन नसक्दा यतिबेला ढोरपाटन जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लामो पैदल यात्रा गर्नुपरेको उहाँले बताउनुभयो । विशेष गरी ढोरपाटन पुग्नेहरुलाई दोगाडी सम्म मात्रै यातायातमा आएर त्यहाँभन्दा माथी पैदल हिँड्नु पर्ने बाध्यतामा रहेका छन् । घोडा खच्चड समेत राम्रो सगं हिँड्न सक्ने अवस्था छैन उहाँले भन्नुभयो ।

उक्त मोटरबाटो पुन निर्माणका लागि हिँजो स्थानीय तेजेन्द्र थापाको अध्यक्षतामा ११ सदस्यीय मोटरबाटो पुननिर्माण समिति पनि गठन गरिएको छ । उक्त समितिले जिल्ला विकास समिति, गाउँ विकास समिति र सांसद विकास कोष मार्फत बजेट विनियोजन गर्नका लागि पहल गरी निर्माण सुरु गर्ने भएकाले मसिंरको अन्तिम सम्ममा बाटो पुन निर्माण गर्न सकिन्छ की भन्ने आफुहरुको योजना रहेको समितिका सहसचिव उमेश बुढा मगरले जानकारी दिनुभयो ।

बाढीले अधिकारीचौरको वडा नं ४,५ र ६ वडाका विभिन्न स्थानमा मोटरबाटोको नामनिसानै नरहने गरी बगाएको छ । मोटरबाटो अवरुद्ध हुँदा त्यसक्षेत्रका झण्डै ९ सय घरधुरी यातायातबाट बञ्चित हुनुपरेको बताईएको छ ।

Comments

comments

Comments are closed.