पुरिँदै पोखरी, हराउँदै ताल

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी । पुर्कोटदह गाविसस्थित ताल पुरिएर खेलमैदान बनेको ५ वर्षभन्दा बढी भयो । स्थानीयले गाविसको नामकरणसमेत सोही तालको नामबाट गरेका थिए तर अहिले संरक्षण अभावमा तालै मेटिइसकेको छ ।

जिल्लाको दिब्रुङमा रहेको अर्को दहमा पनि पछिल्ला वर्षमा पानीको सतह घट्दै गएको स्थानीय समाजसेवी गोविन्द बलालले बताए । १० वर्षअघिसम्म शान्तिपुर गाविसमा मात्र सात ठूला पोखरी र एउटा ताल थियो । गाविसका ९ वटा वडामध्ये पाँचवटा पोखरीबाट नामकरण गरिएका छन् । २ नम्बरलाई कर्कले पोखरा, ३ लाई सतीपोखरा ४ लाई फुर्सेपोखरा, ५ आरुपोखरा र ७ लाई गैरीपोखरा भनिन्छ । यीबाहेक पनि साना पोखरीको संख्या जोड्दा एक दर्जनभन्दा बढी हुन्छ । तर, संरक्षण अभावले अहिले वर्षभरि पानी रहने पोखरी मुस्किलले ४ वटा छन् । १ हजार ७ सय मिटरभन्दा अग्लो स्थानमा जिल्लाकै आकर्षण बनेर अवस्थित छ टिमुरे ताल । यहाँ पानीको गहिराइ तीन मिटरसम्म पुग्छ ।
Purkot-Daha pond
पछिल्ला वर्षमा सडक निर्माणमा जथाभावी डोजर प्रयोग पनि ताल र पोखरी नासिनुको कारण बन्दै छ । वन कार्यालयका प्रमुख विशाल घिमिरे विकास पूर्वाधार निर्माणमा अदूरदर्शिता र अव्यवस्था रहेकाले ताल संरक्षण हुन नसकेको बताउँछन् । ‘वातावरणमैत्री विकास हुन सकेको छैन’, उनले भने, ‘अदूरदर्शी विकास र जलवायु परिवर्तनको असरले सुक्खा क्षेत्र बढ्दै छ, पोखरी, तालसँगै सिमसार क्षेत्र संकटमा छ ।’ टिमुरे ताल, दिब्रुङको दह, सालिमे दह, ठूलो जलाधार र सिमसार क्षेत्रका रूपमा रहेको रेसुंगा, मदाने संकटमा पर्दै गएको उनको भनाइ छ ।

स्थानीय बुढापाकाका अनुसार ५० वर्ष अघिसम्म हरेक गाउँमा एउटा पोखरी अनिवार्य हुनुपर्ने मान्यता थियो । बस्तुभाउले पानी खाने, बटुवा चौपारीमा बसेर स्वच्छ हावा लिने, विश्राम गर्ने परम्परा अहिले हराउँदै गएको उनीहरू बताउँछन् । ‘हाम्रा पालामा एक गाउँ, एक पोखरी, दुई रूख हुनैपर्ने भन्ने थियो’, अमरपुर १ का ७४ वर्षीय सिद्धबहादुर मुखियाले भने, ‘अहिले त गाउँमा पोखरी देख्नै छोडियो ।’ बाटो बनाउने भन्दै छेउछाउका वरपीपलसमेत फाल्ने प्रवृत्ति रहेको उनले बताए ।

वरपीपलको जराले जमिनको पानी संकलन र सञ्चार गर्न सहयोग पुर्‍याएको थियो । रूख काटिएपछि पोखरी रित्तिन थालेका छन् । कटान रोक्न र परम्परागत स्रोत सम्पदा संरक्षण गर्न गाउँबाटै अभियान सुरु गर्नुपर्ने वनप्रमुख घिमिरे बताउँछन् । ‘विकास निर्माण गर्दा कमभन्दा कम वातावरणीय क्षति हुने गरी काम गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि वन, वन्यजन्तु, वनस्पति, जलवायु, जलाधार र जैविक विविधता, जडीबुटी संरक्षणलाई प्राथमिकतामा राखिनुपर्छ ।’

जिल्ला भूसंरक्षण कार्यालयका प्रमुख विष्णु पोखरेलले परम्परागत पोखरी संरक्षण तथा व्यवस्थापनका लागि योजना बनाएर काम गरिरहेको बताए । ‘अहिले पोखरी नासिने क्रम बढ्दो छ’, उनले भने, ‘त्यसका लागि जलाधार क्षेत्र, मुहान संरक्षण, पोखरीको भुइँ व्यवस्थापन, पर्खाल निर्माण, वर्षातको पानी संकलन लगायत काम अघि बढाएका छौं ।’

Comments

comments

Comments are closed.