पानी लिटरको २ रुपैयाँ !

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी, वैशाख १७ । छत्रकोट गाउँपालिका ६ दौंघाका बासिन्दा प्रतिलिटर २ रुपैयाँमा टयाक्टरबाट पिउने पानी खरिद गर्न बाध्य छन् । दौंघामा सक्नेले किनेर खाने गरे पनि विपन्न समुदाय पोखरीकै पानी पिउन बाध्य भएको गुनासो गर्छन् ।

‘सक्नेले तल गैरीखुट्टाबाट १ हजार लिटरलाई २ हजार १ सय रुपैयाँ तिरेर टयाक्टरबाट ल्याएर खाने गरेका छन्,’ दौंघाका पूर्वगाविस सचिव जुद्धबहादुर पछाईंले भने, ‘वर्षौंदेखिको यहाँको खानेपानी समस्या कहिल्यै सुल्झिएन ।’
pani-gulmi-30042017080506-1000x0
गुल्मी, दौंघाका महिला झन्डै ३ किलोमिटर टाढाबाट पानी बोकेर घर जाँदै । तस्बिर : घनश्याम गौतम

खानेपानी समस्याकै कारण चैतदेखि जेठसम्म दौंघाका नेपाल राष्ट्रिय मावि, काउले प्रावि, आलम प्रावि र कालिका प्राविमा ९५ प्रतिशत विद्यार्थी कम हुने र पढाइ पनि प्रभावित हुने गरेको नेपाल राष्ट्रिय माविका प्रअ लोकनाथ ज्ञवालीले बताए । विद्यार्थी मात्र नभई खानेपानी समस्याकै कारण शिक्षकसमेत समयमै विद्यालयमा उपस्थित हुन कठिन हुने अर्का शिक्षक बालकुमार अर्यालले बताए ।

गाउँलेले गाईबस्तुलाई समेत फारु गरेर पानी खुवाउन थालेका छन् । खानेपानी समस्याकै कारण बर्सेनि दौंघाबाट बसाइँसराइ गर्नेको संख्या बढ्दो छ । ७ सय घरधुरीमध्ये ५ सय परिवारका २ हजार ८ सय उपभोक्ता खानेपानीको समस्यामा छन् । ‘गाउँको खानेपानी समस्या सयौं वर्षअघिदेखिकै हो,’ पछाईंले भने, ‘खानेपानी नभएकै कारण अहिले हरेक वर्ष १५ देखि २० घर बसाइँ सर्छन् ।’

कुवा र पोखरीसमेत नहुँदा गाउँले खानेपानीका लागि घण्टौं टाढा पुग्न र पालो कुर्न बाध्य छन् । ‘खानेपानी पाउनकै लागि दिनमा ६ घण्टासम्म पालो कुर्नुपर्छ,’ स्थानीय कल्पना नेपालीले भनिन्, ‘हाम्रो गाउँमा कुवा र पोखरीसमेत नहुँदा समस्या भयो ।’ जीडब्लूएस पोखराले ड्रिलिङ प्रविधिबाट निकालेको पानी वितरण गरे पनि अहिले त्यसको समेत मुहान सुकेपछि समस्या बढेको हो ।

जिल्लाका बामी, दर्लामचौर, रिमुवा, बलेटक्सार, पुर्कोटदह, वीरबास, इस्मा, रेसुंगा नगरपालिकालगायतमा पानीका मुहान सुकेपछि सर्वसाधारण समस्यामा छन् ।

Comments

comments

Comments are closed.