‘पढाइ आफ्नै लागि’

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी, चैत्र १० । माध्यामिक शिक्षा परीक्षा प्रणाली सुधारसँगै विद्यार्थीमा पढाइ आफ्नै लागि हो भन्ने चेतनाको विकास भएको छ ।

एसएलसी परीक्षा प्रणाली हटेसँगै शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षा कार्यालय, शिक्षक र अभिभावककै पहलमा विद्यार्थीमा परिवर्तन आएको हो । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका गुल्मीका १४० विद्यालयका ५ हजार ५३ विद्यार्थी छन् ।

परीक्षा प्रणालीको सुधार, ग्रेडिङ र यस वर्षदेखिको एसईईले कक्षा १० उत्तीर्ण गर्ने विद्यार्थीलाई जसरी पनि पास हुनुपर्छ भन्ने मान्यता हटाइदिएको छ । ‘ग्रेड भनेको पासका लागि मात्र होइन,’ उदय मावि शान्तिपुरबाट परीक्षा दिँदै गरेका मोहित खत्रीले भने, ‘फरक सिकाइ विधिबाट सबैखाले ज्ञान आर्जन गर्नु मुख्य हो ।’ १० उत्तीर्णपछि आफूले व्यवस्थापन विषयबाट अर्थशास्त्र पढेर स्वदेशमै काम गर्ने इच्छा रहेको उनी बताउँछन् ।

जसरी पनि पास हुनुपर्छ भन्ने मानसिकताका विद्यार्थीका लागि शिक्षा कार्यालयले २०६७ बाटै परीक्षा सुधार योजना चलाएको थियो । पहिलो अभियानमा परीक्षा केन्द्र, केन्द्राध्यक्ष र निरीक्षकमा परिवर्तन सुरु गरिएको थियो । कार्यालयको अभियान ०७२/७३ मा आइपुग्दा शतप्रतिशत सफलता मिलेको जिशिअ मित्रमणि खनाल बताउँछन् ।

‘धेरै परीक्षा केन्द्रमा आफैं पुगेको छु,’ उनले भने, ‘अहिलेसम्म विद्यार्थीमा चिट चोर्ने, अभिभावक र निरीक्षकमा चोराउने भन्ने कुनै गतिविधि र सोच देखिएन ।’ विद्यार्थी आफैं सुध्रिएको उनले बताए । उनका अनुसार जिशिकाले जिल्लाभर प्रत्यक्ष र अप्रत्यक्ष सूचक तयार गरी परीक्षा अनुगमनको व्यवस्था मिलाएको छ । केन्द्राध्यक्ष द्रोण खत्रीले पछिल्ला ४ वर्षमा विद्यार्थीको पढाइ र शैली सुध्रिएको बताए । केही विषयगत शिक्षकमा समस्या भए पनि पछिल्ला वर्षमा शिक्षकले पनि अध्यापन शैलीमा सुधार गरेको उनले बताए । जिल्लामा यो वर्ष २७ केन्द्रमार्फत विद्यार्थी एसईईमा सहभागी छन् ।

Comments

comments

Comments are closed.