निजी लगानीमा अस्पताल भवन

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
मंसिर ५, २०७३ । वामीटक्सारमा आँखा अस्पताल सञ्चालनका लागि जिल्लाका एक व्यक्तिले डेढ करोड रुपैयाँ खर्चिएर भवन बनाइदिएका छन् । अस्पतालले मंसिर तेस्रो साताबाट नि:शुल्क सेवा सुरु गर्दै छ ।

बागलुङसँग जोडिएको जिल्लाकै दोस्रो ठूलो बजार वामी–३ टारका ६६ वर्षीय कृष्णहरि सापकोटाले अढाइतले १२ कोठे पक्की भवन निर्माण गरिदिएका हुन् । त्यसका लागि उनले ५० लाख मूल्यको डेढ रोपनी जग्गा सित्तै उपलब्ध गराए ।

‘बिल्डिङ बनाउन मात्रै अहिलेसम्म १ करोड १ लाख खर्च भइसक्यो,’ सापकोटाले भने, ‘अझै टायल, वायरिङ र रंगरोगन आदि काम बाँकी नै छन् ।’
gulmi-wami-news
नेत्रज्योति संघले तीन वर्षअघि वामीटक्सारमा आँखारोगीका लागि नि:शुल्क शिविर संचालन गरेको थियो । ८० जनाको तत्काल अप्रेसन नै गर्नुपर्ने अवस्था देखिएपछि संघले अस्पताल नै खोल्ने प्रक्रिया अघि बढाएको थियो । जग्गादाता खोज्ने क्रममा सापकोटा अघि सरे । उनले वामीटक्सारबाट बागलुङको बुर्तिबाङसहित चारतिर जाने चोकमा डेढ रोपनी जग्गा आँखा रोगीका लागि नि:शुल्क दिने वाचा गरे । जग्गा भए पनि संघले भवन बनाउन दाता नभेटिएको भन्दै आलटाल गरेपछि निर्माण गर्न पनि आफैं अघि सरेको उनले बताए ।

‘पहिला सानो घर बनाउने भन्ने थियो र सुरु गरियो’, उनले भने, ‘नक्साअनुसार बनाउँदै गर्दा ठूलो भयो । सोंचेको खर्चले नपुग्दा अहिले झन्डै १५ लाख रुपैयाँ ऋण लागेको छ ।’ दाता सापकोटाले आफ्ना विभिन्न ठाउँमा भएका जग्गा बेचेर भवन बनाउन सुरू गरेको बताए । सदरमुकाम तम्घासमा रहेको घर बिक्रीबाट आएको ३५ लाख, नारायणघाटको लीलाचोकमा रहेको घडेरी बेच्दा १३ लाख, गैंडाकोट कांग्रेस चोकको घडेरीबाट चार लाख, बागलुङको ढोरपाटनमा रहेको १२ रोपनी जग्गा बिक्रीबाट आएको सात लाख र वामीकै खेत पनि बेचेर अस्पतालमा लगानी गरेको उनले बताए ।

Comments

comments

Comments are closed.