दुषित पानीको भर

  •  
  •  
  •  
  •  
  •  

गंगा खड्का
हस्तीचौर । खानेपानीको मुहान संरक्षण नहुँदा हस्तीचौरका स्थानीय दूषित पानी पिउन बाध्य भएका छन् । हस्तीचौर ८ पालुखामा रहेको खानेपानीको मुहान संरक्षण अभावमा बर्सौंदेखि यहाँका स्थानीय दूषित पानी पिउन बाध्य भएका हुन् ।

gulmi hastichaur news

हस्तिचौर ८ पालुखामा करिब ६ दशकदेखि संरक्षण पर्खाइमा रहेको पानीको मुहान ।

खुला एवं अव्यवस्थित रूपमा खोला किनारमा रहेको मुहानबाट गाउँमा पानी झारिएको छ । बर्खामा गाउँबाट भलले बगाएर ल्याउने फोहोर पनि मुहानमै मिसिने गरेको छ । सोही पानी आफूहरूले पिउनुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो छ ।
‘फोहोर पानीकै कारण बिसन्चो भइन्छ’, हस्तीचौर ८ पालुखाकी ३१ वर्षीय कविता कुँवरले भनिन्, ‘मुहान संरक्षण गर्न कसैले ध्यान दिएनन् । पँधेरो फोहोर छ भन्ने थाहा भए पनि बाध्यताले पानी प्रयोग गर्नुपर्छ ।’ गाउँका ३५ घरधुरीका करिब दुई सय ४५ जना उपभोक्ताले दूषित पानी उपभोग गर्दै आएको स्थानीय लुमबहादुर विकले बताए । ‘मुहान खुला छ ।
गाउँबाट आउने भलले सबै फोहोर मुहानमै मिसाउँछ’, उनले भने, ‘फोहोर पानी पिइरहेका छौं, बिरामी भइरहनुपर्छ ।’ उनका अनुसार मुहान संरक्षणका लागि पहल गरे पनि त्यसमा कसैले वास्ता गरेका छैनन् ।
बाह्रै महिना पानी निस्किने गरे पनि उचित संरक्षण अभावमा गाउँलेले दूषित पानी पिउँदै आएको स्थानीय कविता कुँवरले बताइन् । ‘रिजर्भ ट्यांकी बनाएर खुला आकाशबाट पानी सुरक्षित गर्नुपर्नेछ’, उनले भनिन्, ‘खानेपानीको क्षेत्रमा काम गर्ने थुप्रै निकाय छन् । हाम्रो समस्या कसैले सुनेनन् ।’
गाउँकै ६६ वर्षीय वृद्ध मानकुमारी मुखियाले ५० वर्ष अघिदेखि नै आफूले यही पानी पिउँदै आएको बताइन् । ‘गाउँले मिलेर बेलाबेला मुहान सफा गर्छौं’, उनले भनिन्, ‘तर के गर्नु गाईबाख्राले फोहोर गराइहाल्छन् ।’ स्थानीयले मुहान संरक्षणका लागि जिल्ला भूसंरक्षण कार्यालय गुल्मीलाई सहयोग गरिदिन आग्रहसमेत गरेको उनको भनाइ छ ।
यता जिल्ला भूसंरक्षण कार्यालय गुल्मीका प्रमुख विष्णुप्रसाद पोखरेलले केही समयभित्रै मुहान संरक्षणका लागि कार्यालयले पहल थाल्ने बताएका छन् । स्थलगत निरीक्षण गरिसकेको र लागत एस्टिमेट निकालेर काम सुरु गरिने कार्यालयका सहायक भूसंरक्षण अधिकृत विनोद ज्ञवालीले जनाए ।

Comments

comments

Comments are closed.