थम बहादुरले बंशजको आधारमा नागरिता पाउने कि नपाउने ?

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
०७३ मंसिर २८ गते । जिल्ला प्रसासन कार्यालयको गेटमा उभिएका एक नब्बे बर्षे बृद्ध र दुई अर्धबैशे पुरुष । उ मानव अधिकारकर्मी, पत्रकार जर्नादन घिमिरेले उनीहरुलाई मेरो जिम्मा लगाए । मेरो सम्पती यहि हो । हातमा एउटा पुरानो नागरिता देखाउँदै ती बृद्ध बोले । नाम दल बहादुर मगर, जन्म स्थान बाग्लुङ छोरेगाउँ २ । हालको वतन वस्तु २ । जन्ममिती १९८३ भदौ ९ । यसको नागरिता भएको छैन हजुर । दल बहादुरले कोखमा रहेका छोरालाई देखाउँदै भने ।
लामो समय अगाडी बाग्लुङबाट आएर वस्तुमा बस्दै आएका उनी सुकुम्बासी हुन् । सरोकारवालाको पहलमा उनलाई २०५५ साल असोज २१ गते जिल्ला प्रसासन कार्यालय गुल्मीले ४४७१ नं को नागरिता दियो । उनका दुई वटा श्रीमति थिए । कान्छीका सन्तान छैनन । दल बहादुरका अनुसार जेठी पट्टी चार भाई छोरा । तीन भाई सम्पर्कमै छैनन, चारभाई मध्ये साहिँलो छोरा थम बहादुर मगर नागरिताको लागी बाबु खोज्दै आए । उनी पनि सानै देखि बेपत्ता नै भएका । केहिलेकाहि सानैमा वस्तु आएको सम्झना थम बहादुरसंग छ । पछि फेरी कता कता हराए, बिहे पनि गरे, चार जना सन्तान छन् । २०२० सालका उनी अहिले ५३ बर्षका भए, अब छोराछोरीको नागरिता बनाउने बेला भयो । तर उनकै नागरिता छैन ।
अहिले थम बहादुर स्याङजाको पञ्चमुल ६ मा बस्दै आएका छन् । त्यो पनि अरुकैमा । गत साल सोहि स्थानका डिल्लीराम ढकालसंग थम बहादुरको भेट भयो । संयोगले ढकाल गुल्मीमै केहि समय अघि अनुसन्धानको जागिरे रहेछन् । आफ्ना छोराछोरी संगै जनहित माविमा पढ्ने थम बहादुरका छोराले जन्मदर्ता नभएका कारण कक्षा ८ को जिल्ला स्तरिय परिक्षा दिन नपाएपछि ढकाललाई बल्ल रहस्य थाहा भयो । ढकालले थम बहादुरसंग सवै सोधिखोजी गरे । बुवा र बुवाको नागरिता रहेको पत्तो लाग्यो । अनि थम बहादुरलाई नागरिता दिलाउन ढकालले पहल गर्दै गरे ।
उनीहरु गत साल पनि वस्तु आए । सचिवले बोलाएरै आएको ढकाल बताउँछन् । तर गाविस सचिवले सिफारिस दिएनन, बरु उल्टै प्रमाण खोज्न बाग्लुङ्ग पठाएर दुख दिए । थम बहादुरलाई साह्रै समस्या पर्दै गयो । अहिले फेरी उनै ढकालले थम बहादुरलाई लिएर बस्तु आए । गाउँ बुझे, गाविस सचिवलाई आग्रह गरे तर तितो बचन दिएर रित्तो हात फर्काइयो । मंसिर २७ गते दिउँसो लाँकुरी मञ्चमा भेटिएका उनीहरुलाई मैले सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीकोमा लगें । त्यो परिवारको बारेमा सवै बताएँ, पन्थीले पनि थप सोधे । ‘बाउको नागरिता छ, उनले मेरो छोरो भने र गाउँकाले चिन्छौ जान्छौ भने नागरिता दिन मिल्छ’ पन्थीले भने ।
उनले गाविस सचिवसंग गएर मुचुल्का सहित सिफारिस लिएर आउन आग्रह गरे । प्रसासनको गेटमा झरेर गाविस सचिव सुरेन्द्र पाण्डेयलाई फोन गरे । कुनै प्रमाण बिना दल बहादुरले मेरो छोरो भनेका आधारमा नागरिताको रिफारिस दिन नमिल्ले पाण्डेयले जवाफ दिए । सोहि अवसरमा वस्तुका अगुवा युवराज भण्डारीसंग भेट भयो । उनले पनि त्यो परिवारलाई रामै्र चिन्ने । साथै नागरिताको लागी समेत पहल गरिरहेका रहेछन् । बाउको नागरिता गुल्मीमै भएकाले बंशजको आधारमा बाउले मेरो छोरो भनेपछि गाविस सचिवले सिफारिस दिनुपर्ने भण्डारीको भनाई छ । उनले गाविसका धेरै मान्छेले दल बहादुरलाई चिन्ने र छोरा थम बहादुर पनि बेला बखतमा आउने गरेका कारण बिना अवरोध नागरिता नदिएर सचिवले दुख दिने काम गरेको बताए ।
पछि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङगानालाई पनि भेट्यौ । उनले पनि निकै सोधिखोजी गरे । तर थम बहादुरले वंशजको आधारमै नागरिता पाउने भएकाले गाविसले सिफारिस दिनुपर्ने उनले बताए । के गाविस सचिवले सिफारिस गर्नुपर्छ, के सिफारिस नगर्नुपर्ने कारण सहितको लिखित पत्र उपलब्ध गराउनुपर्छ उनले भने । साथै ढुङगानाले यदि गाविसले सिफारिस नदिएमा अरु उपायबाट भएपनि थम बहादुरले नागरिता पाउने प्रतिक्रिया दिए ।
अझै दुई तीन दिन तम्घासमै बस्नुपर्ने । ९० बर्षिय दल बहादुर मगरलाई दमको रोग छ । बिहान खाए बेलुका के खाने । खर्च कम लिएर आएका थम बहादुर अझ बढि चिन्तीत भए । अरुकोमा बस्दै आएको मान्छे, पैसा छैन थम बहादुरले भने घर जान्छु । मैले थम बहादुर भन्दा पनि उनका स्कुल पढदै गरेका लालाबालाको लागी यहाँ सम्म आएको हुँ, उनीसंगै आएका ढकालले भने तर सचिव जी ले साह्रै दुख दिनुभयो । अहिले सम्म थम बहादुरकै कारण नागरिता नबनाएर दुख त सवैलाई भयो नै । यदि कुनै कारण नागरिता भएका दल बहादुरको मृत्यु भए ? थम बहादुर वा उनका छोराछोरीको अवस्था के होला । बाबु छोराको अनुहार मिल्छ । बाउले गुल्मीबाटै नागरिता पाए । नागरिता वंशज हो । उनले मेरो छोरो नै हो भन्छन् । गाउँका सरोकारवाला पाँच जना होइन सय जनाले हस्ताक्षर गर्छौ, नागरिताको सिफारिस दिनुपर्छ भन्दा गाविस सचिवले अटेर गर्नुपर्ने कारण के ?

Comments

comments

Comments are closed.