जिल्लामा २ सय ९५ क्षयरोगी प्रत्येक बर्ष ५ प्रतिशतको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, १२ चैत्र । गुल्मी जिल्लामा दुई सय ९५ क्षयरोगका बिरामी रहेका छन । महिला ९९ र पुरुष एक सय ९६ गरी दुई सय ९५ जनाले जिल्लाका विभिन्न स्थानमा रहेका उपचार केन्द्र मार्फत डट्स विधिबाट औषधी खाइरहेका छन ।

जस अन्तरगत खकारमा किटाणु देखिएका महिला ३६ र पुरुष ७१ र पुन उपचारमा आएका पुरुष २० जना गरी एक सय २३ जना रहेका छन । त्यस्तै खकारमा किटाणु नदेखिएका फोक्सोको क्षयरोगका बिरामी महिला २३ र पुरुष ४३ गरी ६३ जना रहेका छन । सो संख्यामा पुन उपचारमा आएका महिला एक र पुरुष चार जना रहेको जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कृष्ठरोग सुपरभाइजर शिसिर सिलवालले बताए । त्यस्तै शरिरका अन्य भागमा यो रोग भएका महिला ४० र पुरुष ६६ गरी एक सय छ जना रहेका छन् । जसमा दुई जना पुन उपचार गर्न आएको पुरुष रहेका शिलवालले बताए । ०७१÷०७२ मा कुल खकारमा किरा देखिएका एक सय १७ मध्ये छ जनाको मृत्यु भएको छ । एक आर्थिक बर्षको उपचार नतिजा एक बर्ष पछाडी आउने गर्दछ । सरदरमा प्रत्येक बर्ष पाँच प्रतिशतको मृत्यु हुने सुपरभाइजर सिलवालले बताए । आगामी बर्ष घरघरमै पुगेर बिरामीहरुलाई औषधी बितरण गर्ने कार्यक्रम शुरु भएको छ । औषधी खानकै लागी बिरामीहरु स्वास्थ्य संस्था धाउन नपरोस भनेर प्रत्येक स्वास्थ्य संस्था मार्फत समुदायमा आधारित डट्स विधी संचालन भएको छ । टोल टोलमा उपचार सहयोगी नियुक्त गरि तालिम दिने काम भैरहेका कार्यालयले जनाएको छ ।

जिल्लाका ७ स्थानमा खकार जाँच
जिल्लाका विभिन्न सात स्थानमा शंकास्पद क्षयरोगका बिरामीहरुको खकार जाँच गर्ने केन्द्रहरु रहेका छन् । जिल्ला अस्पताल तम्घास, जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, रुरु प्राथमिक स्वास्थ्य केन्द्र, शान्तिपुर स्वास्थ्यचोकी, श्रृङ्गा स्वास्थ्यकेन्द्र, धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र र इस्मा रजस्थल स्वास्थ्यचौकीमा खकार जाँच केन्द्रहरु रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । भने जिल्लाका ८१ वटा स्थाानमा क्षयरोगका बिरामी उपचारकेन्द्र रहेका छन् । त्यस्तै विगत तीन बर्षको स्थितीलाई हेर्दा खकारमा पोजेटिभ बिरामी पत्ता लगाउने दर घट्दै गएको छ । आव ०७०÷०७१, ०७१÷०७२ र ०७२÷०७३ पत्ता लगाउने दर क्रमश ः ९०, ८४ र ७९ रहेको छ । खकार परिवर्तन दर ०७०÷०७१, ०७१÷०७२ र ०७२÷०७३ मा क्रमश ः ९५, ९१ र ९१ रहेको छ । सफल उपचार दर पनि घट्दै गएको छ । ०७०÷०७१, ०७१÷०७२ र ०७२÷०७३ मा क्रमश ः ९६, ९२ र ९१ प्रतिशत रहेको क्षयरोग निवारण संस्था गुल्मीका सचिव कृष्ण पोख्रेलले बताए ।

१० स्थानमा क्षयरोग बिरामी बढि
जिल्लाका चार स्थानमा क्षय रोगका जटिल प्रकारका बिरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ । धुर्कोट गाउँपालिकाको पिपलधारा र जैसीथोक, इस्मा गाउँपालिकाको दोहली र छत्रकोट गाउँपालिकाको पल्लिकोटमा जटिल प्रकारका क्षयरोगका बिरामी रहेका छन् । भने अरु १० स्थानमा क्षयरोगका बिरामीको संख्या उच्च रहेको कार्यालयले जनाएको छ । रेसुंगा नगरपालिकाको तम्घासमा सात र दुविचौरमा चार, सत्यवति गाउँपालिकाका ठुलोलुम्पेकमा पाँच र जोहाङमा तीन जना, मुसिकोट गाउँपालिका अन्तरगतका वामीमा आठ र वडागाउँमा पाँच जना क्षयरोगका बिरामी रहेका छन् । त्यस्तै छत्रकोट गाउँपालिकाको बिरवासमा सात र दरवार गाउँपालिकाको दरवारदेस्थिानमा तीन जना बिरामी रहेका छन् ।

नियमीत औषधी सेवन गरौ ः डाक्टर
शुक्रबार विश्व क्षयरोग दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ । एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ । यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने जिल्ला अस्पताल तम्घासका डाक्टर प्रकाश पुनले बताए । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुने बित्तिकै नियमीत औषधी सेवन गरे यसबाट जोगिन सकिने पुनको भनाई छ । औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमीततामा दिनुपर्नेमा पुनले जोड दिए । नेपालमा वर्षेनी पाँच देखि सात हजार क्षयरोगीको मृत्यु हुने गरेको छ ।

Comments

comments

Comments are closed.