चुनावी भिडन्तले सहोदर दाजुभाईको बोली बन्द गरायो, चलिरहेको ब्यापार नि बन्द

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, जेठ २३ । चुनावी माहौल नजिकीदै गर्दा गुल्मीका केहि घर परिवार विचमा पारिवारिक सम्वन्ध र घरयासी काम काज छैन । विहान उठे देखि एकातिर भाईका विरुद्ध दाजु चुनावी प्रचारमा जुटेका छन भने अर्कोतिर ससुराका विरुद्ध वुहारी घर घरमा पुगेकी छन् ।

यहाँको मुसिकोट नगरपालिकाको एक वडा र ईस्मा गाउँपालिकाको अर्को वडामा यसरी एकै घरका दाजु भाई र ससुरा वुहारी विच एउटै पदका लागि दुई अलग अलग पार्टीबाट चुनावी भिडन्त सुुरु भएको हो ।

मुसिकोट नगरपालिका वडा नम्वर ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट यमबहादुर खत्री (केसी) उमेदवार रहेका छन् भने नेकपा एमालेबाट उनका सहोदर भाई ओमबहादुर खत्री (केसी) वडा अध्यक्षका उमेदवार रहेर एक अर्का विरुद्ध कडा चुनावी मैदानमा उत्रेका हुन् ।

भाई ओमबहादुर पनि दाजु यमबहादुरलाई हराएरै छाड्ने दावि गदै आएका छन् भने दाजु एमबहादुर पनि भाईलाई हराएरै छाड्ने ठोकुवा गर्दै एक अर्का विरुद्ध गालि गलौजमा समेत उत्रिदै आएका छन् ।

‘एक अर्का विरुद्ध उत्रि रहेकै वेला आइतावर भने त्यस घरका पाँचै भाई एकै थलोमा नजुटी नहुने धर्म संकट आई प¥यो’ भाई ओमबहादुरले भने, ‘एक भाईको छोरी माग्न आएपछि पाँचै भाई जुट्न त जुटियो तर मेरा प्रतिष्पर्धी माईला दाजुसंग वोल चाल भने भएन ।’ उनले थपे–‘दाजुका नाताले मैल उहाँलाई दर्शन त गरे तर दाजु नबोले पछि मैले पनि बोल्न चाहिन ।’ दाजु यमबहादुर पनि भन्छन–‘एक अर्का विरुद्ध लागे पछि बोल्न किन पो¥यो र ? ।’ उनिहरुका स्वर्गिय पिता भिमबहादुर खत्री पनि तत्कालि जिल्ला पञ्चायतको सदस्य हुँदै लामो समय देखि राजनितीमा होमिएका व्यक्ति थिए । उनकै प्रेरणाबाट उनका माईला छोरा एमबहादुर नेपाली कांग्रेसमा र काईला छोरा ओमबहादुर नेकपा एमालेको सक्रिय राजनीतिमा लामो समय देखि जुट्दै आएका छन् ।

एक परिवारः तिन पार्टी
अहिले मात्र त्यस परिवारमा दुई भाई विच चुनावी प्रतिष्पर्धा चलेको होईन । पहिले देखि नै पाँचै भाई विचमा राजनैतिक कारणले तिक्तता रहँदै आएको थियो । एक समय जेठा दाजु नामबहादुर खत्री र माईला यम बहादुर नेपाली कांग्रेसमा आबद्ध थिए । साईला पुस्तकबहादुर र काईला ओमबहादुर नेकपा एमालेमा आवद्ध भई रहँदा कान्छा भाई रुद्रबादुर केसी राष्ट्रिय जनमोर्चा हुँदै नेकपा माओवादीमा लागेर एक परिवार तिन पार्टीमा विभाजित बनेका थिए ।

उनिहरुका श्रीमति र छोरा छोरी विचमा पनि तिन अलग अलग पार्टीको प्रशंसा चलि रहँदा विपरित पार्टीका दाजु भाई बुहारी र भाउजु विचमा नाक मर्काउने गरेको दृश्य छिमेकीका लागि रोमञ्चक बन्ने गर्दथ्यो ।

राजनितीले चलेको व्यवसाय नै बन्द

नेपाली सेनाको मेडिकल लाईनमा सत्र वर्ष सम्म जागिर खाएर त्यहाँ सिकेको सिप र प्रमाण पत्र भिडाएर अहिलेका प्रतिष्पर्धी यि दाजु भाई एकदमै मिलेर लामो समय सम्म संगै मेडिकल सञ्चालन गरेका थिए ।
मेडिकल निकै चलिरहेको अवस्थामा भाई ओमबहादुर नेकपा एमालेको राजनितीमा खुलेर लाग्न थाले पछि दाजु यमबहादुरको मन दुखेर विभिन्न कारण देखाई भाईसंग गर्दै आई रहेको मेडिकल व्यवसायबाट छुट्टिएका थिए ।

भाई ओमबहादुर भन्छन, ‘हाम्रो परिवारमा १६ वटा भोट छन त्यस मध्ये मेरो श्रीमती र छोरा बुहारी सहित कम्तीमा ८ भोट मलाई आउने पक्का छ भने दाजुलाई त्यस्तै ७ भोट जाने आँकलन गरेको छु ।’ उता दाजु ओमहादुरले भाईको आँकलनलाई नकार्दै भन्छन भन्न त जति पनि पाईयो, त्यसो त मेरा लागि हाम्रो परिवारले १० भोट मलाई दिन्छन् ।

यति बेला माईला भाई यमबहादुरका पक्षमा जेठा दाजु नामबहादुर र कान्छा भाई रुद्रबहादुरको परिवार सक्रिय भएका छन भने काईला एमाले उमेदवार ओमबहादुरका पक्षमा साईला पुस्तकबहादुरका परिवार जुटेका छन् । उता विवाहित उनिहरुका दुई वहिनीहरु पनि अलग अलग पार्टीमा आवद्ध छन् । चुनावी नजिकीदै गर्दा तिहारमा लहरै राखेर टिका लगाई दिने दुई दाजु मध्ये कुन चाँहीलाई समर्थन गर्ने भन्ने विषयमा उनिहरु पनि धर्म संकटमा परेका छन् । करिव १७ सय मत रहेको त्यस वडामा भारी मतले बिजयी हुने दुबै भाइको दावी रहेको छ ।

Comments

comments

Comments are closed.