चुनावको लहरले बढायो आर्थिक कारोबार

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी, चैत्र ३० । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै छ । गाउँगाउँमा दलका बैठक, सभा र छलफल जारी छन् । वडादेखि नगर र गाउँपालिकामा उम्मेदवार छनोट चर्चा चुलिँदै छ । निर्वाचन माहोल तातेसँगै गाउँदेखि सहरसम्मै सुस्ताएको आर्थिक कारोबार पनि बढ्न थालेको छ ।

सबै राजनीतिक दलको निर्वाचन अभियानले ग्रामीण क्षेत्रका सामान्य किराना व्यवसायी, होटल, यातायात व्यवसायी, बैंक, वित्तीय संस्थादेखि सदरमुकामका ब्यानर छपाइ र इन्धन बिक्री गर्नेसम्मको व्यापार बढेको हो । ठूला तीन दलका अगुवा कार्यकर्ता दिनहुँ सवारी साधन रिजर्भ गरेर दुर्गम गाउँसम्म पुगेका छन् । सबै राजनीतिक दलले कार्यकर्ता प्रवेश गराउने होडबाजीले गाउँसम्मै खादा र अबिरको व्यापार बढेको छ । ‘कहिल्यै बिक्री नहुने खादा मात्र अहिले झन्डै एक हजारको बिक्री गरें,’ अर्खाबाङका व्यवसायी हीरामणि अर्यालले भने, ‘चुनाव भए पनि नभए पनि गाउँमा व्यापार बढेको छ ।’
दलका कार्यकर्ताले सवारी साधन नै रिजर्भ गरेर हिँड्न थालेपछि साना जिपको आम्दानी पनि हातै बढेको छ । ‘अहिले कुनै जिप, डबल क्याब, निजी गाडी कुनै खाली छैनन्,’ गुल्मी यातायात व्यवसायी समितिका कर्मचारी डोलबहादुर कुँवरले भने, ‘चुनावले गाडीको किस्ता तिर्न सजिलो बनाएको छ ।’ चैत महिना सवारी धनीका लागि ‘अफ सिजन’ भए पनि चुनावी माहोलले त्यो महसुस नभएको उनले बताए । तम्घासको बोहोरा आयल स्टोर्सका प्रोप्राइटर वीरेन्द्र भुसालले सवारी साधन बढी चलेसँगै पहिलाको तुलनामा २५ प्रतिशत इन्धन आपूर्ति बढेको बताए । ‘विकास निर्माण पनि बढेका छन्,’ उनले भने, ‘दलहरूको निर्वाचन अभियानले सवारी चल्ने क्रम पनि बढेकै छ ।’
जिल्लास्तरका नेता कार्यकर्ता भेटघाटका लागि गाउँगाउँसम्म पुगेका छन् । ‘चैत लागेसँगै होटल त्यति खाली छैन,’ पुर्कोटदहका होटल व्यवसायी धनबहादुर थापाले भने, ‘कार्यकर्तादेखि फुटकर सामान बिक्री गर्न आउने व्यवसायी पनि धेरै गाउँ आएका छन् ।’ त्यसले गाउँमा खुद्रा व्यापारसँगै अन्य खाना र खाजाको व्यापार पनि बढेको उनले बताए ।
निर्वाचनसँगै बढेका गतिविधिले बैंकमा रकम निक्षेप पनि बढेको छ ।

Comments

comments

Comments are closed.