गोर्खा सैनिकको गाउँमा शोक

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
जेष्ठ १२ । भारत नियन्त्रित कश्मीरमा खटिएका सैनिक हबल्दार ४० वर्षीय डम्बरबहादुर पुनको मृत्यु खबरले कालीगण्डकी गाउँपालिका–७ भुर्तुङको करङतुङ गाउँ शोकमा डुबेको छ । भारतीय सेनामा उनको थर पुन भए पनि गाउँमा उनीहरू कार्की परिवार हुन् ।

गत आइतबार पाकिस्तानी सैनिकको आक्रमणबाट जम्मु कश्मीर क्षेत्रको लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा गोली लागेर उनको मृत्यु भएको हो । उनीसँगै पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रविन शर्मा, कास्कीको नागिधार गाउँका ३८ वर्षीय गिरीश गुरुङको पनि गोली लागेर मृत्यु भएको छ । घटनामा भारतीय सेनामा कार्यरत थप ४ नेपाली घाइते छन् ।
girish pun
‘गाउँमा डम्मरको मृत्युको खबर आजै सुनियो,’ स्थानीय अनिश ढकालले भने, ‘पूरै करङतुङ गाउँ नै शोकमा छ ।’ आफ्नो पुरानो थलोबाट डम्बरले १० महिनाअघि परिवारलाई सन्तानको पढाइलेखाइका लागि सहज हुने भन्दै रूपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा राखेका थिए । उनको परिवारमा पिता, पत्नी कल्पना, १३ वर्षीय छोरा मिलन र १५ वर्षीया छोरी मोनिका छन् । सैनिक परिवारमा भए पनि गाउँ आएका बेला डम्बर र उनका दाजु मोहन गाउँको समाजसेवामा खट्ने गर्थे । १९९६ मा भारतीय सेनामा भर्ती भएका उनी भारतको फोर्थ फस्र्ट जीआर पल्टनमा दाजु मोहनसँगै कार्यरत थिए । उक्त पल्टनमा दाजु नायब सुबेदार छन् । मोहनमार्फत गाउँलेले पाएको जानकारीअनुसार गाडीमा गस्ती गरिरहेकै बेला एकोहोरो गोली चलेको थियो । निरन्तर ९ घण्टासम्म आक्रमण भएपछि उनीहरूले भाग्ने मौकासमेत पाएनन् ।

मिलनसार थिए गिरीश

पोखरा रामबजारका विमल गुरुङ बिहानै आफ्नो पसल खोल्दै थिए । एक जना छिमेकीले गिरीशलाई भारतको जम्मु कस्मिरमा गोली लागेको सुनाए । आफ्नो बच्चैदेखि मिल्ने साथीको मृत्यु खबरले उनलाई असिनपसिन तुल्यायो । गत वर्ष चैतमा भेट भएर सामाजिक काममा सक्रिय भएको साथीबारे यस्तो खबर सुन्नुपर्ला भन्ने उनले सायदै चिताएका थिए । विमल र गिरीशकै सक्रियतामा नैदा तमु सुधार समिति गठन भएको थियो । जसबाट आफ्नो जन्मथलो कास्कीको मिजुरेडाँडा नागिधारको विकासमा सहयोग जुटाउने दुवैको उद्देश्य थियो । ‘मेरो दाहिने हात नै भाँच्चिएजस्तो भएको छ,’ भावुक हुँदै विमलले भने ।

३८ वर्षीय गिरीश १९ वर्षअघि भारतीय सेनामा भर्ती भएका हुन् । ४/१ गोर्खा रेजिमेन्टमा उनी हवल्दार थिए । हिमाञ्चल प्रदेशको सुबाटोमा उनको तालिम केन्द्र थियो । चैत ६ गते नेपालबाट फर्केर जम्मु कश्मीरमा खटिएका उनी जेठ ७ गते उनी नौगाममा पाकिस्तानी विद्रोहीको आक्रमणमा मारिए । कास्कीको मिजुरेडाँडा घर भए पनि उनको परिवार पोखराको मियाँपाटनमा बस्छ । पत्नी, ३ छोरी र एक छोरा पोखरा बस्छन् । बुबाआमा भने गाउँमै छन् । उनका तीन बहिनीमध्ये दुईको विवाह भइसकेको छ । ठूली छोरी कक्षा ९ मा पढछन् ।

छोरा भर्खर ३ वर्ष पुगे । एक छिमेकी भूतपूर्व सैनिकको माध्यमबाट गिरीशकी पत्नी पञ्चमायालाई निधनको खबर सुनाइएको थियो । गिरीश विमलका साथी मात्रै होइनन् सोल्टी (मामाका छोरा) पनि हुन् । गिरीशले गत वर्ष नै पेन्सन निस्कने सोच बनाएको भए पनि प्लाटुनको आग्रहमा सेवा गरिरहेको विमल बताउँछन् । ‘पोहोर आउन पाइनँ, अब हबल्दार पेन्सन पकाएरै आउँछु भन्थ्यो,’ गिरीशसँगको भेटमा भएको कुराकानी स्मरण गर्दै उनले भने ।

गिरीशको बिहीबार नै भारतको हिमाञ्चलस्थित सोलनमा अन्तिम संस्कार गरिएको छ । उनको अन्तिम संस्कारमा बुबा दुर्गासिंह र श्रीमती पञ्चमाया पुगेका छन् । -कान्तिपुरबाट

Comments

comments

Comments are closed.