गुल्मेली स्वतः स्फूर्त सडकमा

  •  
  •  
  •  
  •  
  •  

गुल्मी । सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा गुल्मेलीहरू स्वतःस्फूर्त सडकमा निस्केका छन् । बिहान बैठक बसेर आन्दोलनका कार्यक्रम तय गर्ने भनिए पनि बैठक बस्न नपाउँदै गुल्मेली सडकमा निस्केका हुन् ।
सरकारको कदमको विरोधमा सडकमा निस्केका आन्दोलनकारीले संविधान संशोधन चाहिँदैन, प्रदेश नम्बर पाँचलाई टुक्राउन पाइँदैन’ भन्दै बुधबार बिहानैदेखि गुल्मीमा आन्दोलन सुरु गरे । गुल्मी उद्योग वाणिज्य संघको संयोजनमा राजनीतिक दल, एवं भ्रातृ संघसंगठन, विभिन्न संघसंस्था, नागरिक समाज, पत्रकार महासंघलगायतको समर्थनमा आन्दोलन सुरु भएको हो । सरकारले संविधान संशोधन प्रस्ताव विधेयक संसद्मा दर्ता गरेको विरोधमा बुधबार बिहानैदेखि जिल्लामा विभिन क्रियाशील सत्तापक्षलगायत विपक्ष सबै राजनीतिक दल आन्दोलनमा उत्रिएका हुन् ।

सदरमुकाम तम्घासका विभिन्न चोक, व्यापारिक केन्द्र, बजार, कलकारखाना, शिक्षण संस्था, व्यापार, सवारीसाधन ठप्प पारेर जिल्लावासी आन्दोलनमा होमिएका छन् । आन्दोलनकारीले सदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रहरूमा रहेका प्रमुख व्यापारिक केन्द्रहरूमा टायर बालेर नाराजुलुससहित प्रस्तावको विरोध गर्दै दिनभर नाराबाजी गरे ।

जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राप्रपानेपाल, नयाँशक्ति नेपाल, परिवार दल, अखण्ड नेपालपार्टी, नेकपा मालेलगायत राजनीतिक दलको समर्थनमा उद्योग वाणिज्य संघ गुल्मीले बिहीबारदेखिगुल्मी जिल्ला अनिश्चित कालका लागि बन्द गरेकोजनाएको छ । बन्दका कारण बिहानैदेखि छोटो तथा लामो दूरीमा चल्ने सबै गाडी दिनभर ठप्प भएका छन् । पसल, उद्योग, कलकारखाना, स्कुल, क्याम्पस सबै बन्द भएका छन् भने हजारौं मानिस सडकमा निस्केर आन्दोलन गरिरहेका छन् ।

यता, संशोधनको प्रस्ताव पास नहुने गुल्मेली सांसदले बताएका छन् । गुल्मेली सांसदहरूले सरकारले दर्ता गरेको प्रस्तावको विरोधमा उभिने चेतावनी दिएका छन् । गुल्मी क्षेत्र नम्बर ३ का सांसद गोकर्ण विष्टले ५ नम्बर प्रदेशको सीमांकनमा कुनै पनि फेरबदल नहुने बताएका छन् । विष्टले संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने चेतावनी दिए । सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीले प्रस्तावमा असन्तुष्टि जनाउँदै प्रस्तावको विपक्षमा संसद्मा मत हाल्ने घोषणा गरेका छन् । ‘यो प्रस्ताव कुनै पनि अवस्थामा पारित हँुदैन,’ सांसद भण्डारीले भने, ‘म यस प्रदेशका जनताको चाहनाविपरीत जान्नँ ।’ मालेकी सांसद कमला विश्वकर्माले सरकारले दर्ता गरेको प्रस्तावको विरुद्धमा सदन तताउने बताएकी छन् । ‘आमजनताको हितविपरीत सरकारले जुन कदम चालेको छ यो हामीलाई कुनै पनि अवस्थामा मान्य छैन,’ उनले भनिन् । -राजधानी दैनिकबाट

Comments

comments

Comments are closed.