गुल्मीमा हल गोरुको मूल्य ४० हजार सम्म, दिनभर जोतेको दुई हजार रुपैयाँ तै पनि पाईन छाडे गोरु

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी, माघ २९ । गाई पाल्ने चलन घट्दै गएपछि गाउँमा खेतबारी जोत्न गोरु पाउनै मुस्किल भएको छ । प्रविधिको विकास र जनशक्ति अभावले पनि गोरु पाल्ने र खेत जोत्ने मजदुर पाउन समस्या भएको हो ।

शान्तिपुर २ का ५० वर्षीय मनबहादुर सार्कीले गोरु पाल्न थालेको ३२ वर्ष भयो । गाई पाल्ने र जन्मेका बाच्छा पालेर खेतबारी जोतेर आम्दानी गर्ने उनको मुख्य पेसा हो । तर, उनको गोठमा अब गाई–बाच्छा छैनन् । पाल्ने चलन घट्दै गएपछि पेसै संकटमा छ । उनले भने, ‘बुहारी डेरा गरी बस्न थाले, घाँस काट्ने र गाई वन लैजाने कोही नभएपछि पाल्नै छाडियो ।’ गोरु अभावसँगै मूल्य पनि बढेपछि पेसा संकटमा परेको उनले बताए । अधिकांशले दूध उत्पादनका लागि जर्सी गाई पाल्न थालेका छन् ।
goru joteko गाउँघरका गाई लोपोन्मुख बन्दै गएपछि जर्सीबाट जन्मेका बहरले जोत्न सक्दैनन् । स्थानीय गाई अभावसँगै गोरुको मूल्य बढेर किन्नै नसक्ने भएको छ । ‘अहिले गाउँमा खेतबारी जोत्ने हलगोरु पाइनै छाडे,’ हरेवा ७ का हुमबहादुर बस्यालले भने, ‘पाइए पनि किन्नै सकिँदैन ।’ गाउँमा एक हल गोरुको ३० देखि ४० हजार रुपैयाँसम्म पर्न थालेको उनले बताए । दिनभर जोतेबापत् गोरुको मात्र हजार रुपैयाँ दिनुपर्छ । त्यसमा जोत्ने मान्छेको ज्यालासहित गर्दा दिनमा २ हजार रुपैयाँ लाग्छ ।
गोरु नपाइने, किन्न महँगो पर्ने र गोरुले जोतेर बाली लगाउँदा उत्पादनपछिको आम्दानीभन्दा लगानी बढी पर्ने भएकाले पनि खेती गर्ने समेत घट्दै गएका छन् । गोरु अभावसँगै बजारउन्मुख गाउँमा जोत्ने हाते ट्रयाक्टरको प्रयोग बढिरहेको छ । हाते ट्रयाक्टर र हल गोरुको मूल्य उस्तै पर्ने भएकाले पनि किसानहरू यसतर्फ आकर्षित बनेको बडागाउँ २ का दुर्गा सूर्यवंशीले बताए । ‘हल गोरु किने ४० हजारभन्दा बढी पर्छ,’ उनले भने, ‘६५ हजारमा ट्रयाक्टर पनि पाइन्छ ।’ गोरुको तुलनामा ६ गुना छिटो र धेरै काम ट्रयाक्टरबाट हुने उनले बताए ।
गोरु अभाव, जनशक्ति पलायन र लागतअनुसार उत्पादन नहुँदा खेतीकिसानी गर्नेको संख्या घट्दो छ । त्यसको असर उत्पादनयोग्य जमिन र जंगलमा पनि पर्न थालेको छ । गाउँ छाडेर सहर झर्ने क्रम बर्सेनि बढ्दो छ । ‘१० वर्षअघिसम्म हरेवा ७ अर्जेवाका लगभग सबैका घरमा गाई गोरु हुन्थे,’ बस्यालले भने, ‘तर अहिले त ३ घरमा मात्र गोरु छन् ।’ गाई पाल्ने चलन हराएपछि गोरु र बहर (बाच्छा) को अभाव बढेको उनको भनाइ छ ।
जंगलमा गाईगोरु चराउन छाडेपछि अधिकांश जंगल वनमारा झारले ढाकेको उनले बताए ।
वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणि पन्थीले गाउँमा गोरुको अभाव बढेसँगै किसानको ध्यान हाते ट्रयाक्टरमा गएको बताए । ‘गोरुले गर्नेभन्दा ट्रयाक्टरको काम ६ गुणा बढी हुन्छ,’ उनले भने, ‘उत्पादन पनि बढ्ने भएपछि किसानले ट्रयाक्टर माग गर्न थालेका छन् । जिल्लामा कार्यालयले अनुदानमा २ सय बढी ट्रयाक्टर वितरण गरेको छ । त्यस्तै जिल्लाभर ४ सय बढी हाते ट्रयाक्टर प्रयोगमा रहेको कार्यालयले जनाएको छ ।
जिल्लाको कुल खेतीयोग्य ८५ हजार ६ सय ७१ हेक्टर जमिनमध्ये ३ हजार ६ सय ३२ हेक्टर क्षेत्रफलमा वर्षभरि नै सिँचाइ हुन्छ । ६ हजार ६ सय २८ हेक्टरमा आंशिक सिँचाइको सुविधा छ ।

Comments

comments

Comments are closed.