गुल्मीमा हराउन थाले बरपीपल

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी । धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्त्वपूर्ण मानिने बरपीपलका रूख जथाभावी डोजरको प्रयोग र संरक्षण अभावमा गाउँबाटै हराउन थालेका छन् ।

सार्वजनिक स्थल अतिक्रमण र गाउँमा सार्वजनिक स्थलबाटै डोजर प्रयोग गर्ने सडक निर्माण गर्दा बहुउपयोगी रूख लोपोन्मुख बन्दै गएका हुन् । पीपलसँगै हुने बरका रूख पनि संकटमा परेका छन् । सहरमा बढदो मानवबस्तीका कारण मासिने रूखमध्ये यी दुई अग्रणी छन् । सार्वजनिक जग्गा अतिक्रमण र वातावरणीय पक्षमा ख्याल नगरी सडक विस्तारका क्रममा सयौं वर्ष पुराना बरपीपलका रूख नष्ट हुँदै गएका हुन् ।
Peepal-Tree
अन्य ५० रूखबाट प्राप्त हुने अक्सिजनको मात्रा पीपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सक बताउँछन् । त्यस्तै जरा धेरै टाढासम्म फैलने भएकाले बाढी पहिरो नियन्त्रणमा समेत रूखले सहयोग पुर्‍याउँछ । सयौं पीपलका रूख रहेको अर्जैमा अहिले देखिनै छाडेको अर्जै ८ का ढालप्रसाद पोखरेलले बताए । अमरपुर हुँदै अर्जै–पोखराबारी जोड्ने मोटरबाटोमा मात्र १२ भन्दा बढी पीपल नष्ट भएको उनले बताए ।

‘जताजता पीपलका बोट छन् उतैबाट बाटो लगियो,’ उनले भने, ‘अब नयाँ रोप्ने कोही छैन, पुराना सबै सकिँदै गए ।’ अघिल्लो पुस्ताले पुण्य हुने भन्दै सार्वजनिक स्थानमा बरपीपल रोपेर चौतारी बनाउने चलन थियो । रोप्ने र संरक्षण गर्ने पाका पुस्ताको अभावमै बरपीपल संकटमा पर्न थालेको उनले बताए । पुराना रूखहरू नष्ट हुँदै जाने र नयाँ रोप्न कोही पनि अग्रसर नभएपछि गाउँमा रूख देखिन छोडेको अर्जैकै गोपाल गौतमले बताए । गुल्मीका अर्जै, दर्लामचौर, सिमिचौर, लिम्घा, अमरपुर, हुँगालगायत दर्जनौं गाविसमा सयौं बरपीपलका पुराना रूख नष्ट गर्दै सडक निर्माण गरिएको छ ।

यसले सार्वजनिक स्थानमा सयौं वर्ष पुराना बरपीपलका बोटसँगै निर्माण गरिएका चौतारीहरूसमेत नष्ट भएका छन् । जिविसका योजना फाँटका अधिकृत खड्गबहादुर थापाले भने, ‘हामीले काटनु, नास पार्नु भनेका छैनौं । बाटो बनाउँदा वातावरणीय पक्षको ख्याल गर्नैपर्छ ।’

कतिपय स्थानमा उपभोक्ता समितिकै चासोअनुसार काम हुने भएकाले पनि त्यस्ता रूखको संरक्षणमा समस्या परेको हुन सक्ने उनले बताए । जिल्लाका सहायक वन अधिकृत कर्ण पाण्डेले पीपल हिन्दु धर्म र वातावरणीय दृष्टिले महत्त्वपूर्ण हुँदाहुँदै पनि लोप हुने अवस्थामा पुगेको बताए ।

Comments

comments

Comments are closed.