गुल्मीमा बढ्यो चुनावी सरगर्मी, दलित बस्तीका २१ घरमध्ये १३ मा दुवै पार्टीका झन्डा

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी, जेष्ठ २२ । तीनपटक मिति सर्दा पनि गाउँमा चुनावी चहलपहलको रौनक उत्तिकै छ । स्थानीय जनप्रतिनिधि चुन्न मतदाताको व्यग्र प्रतीक्षा र उत्साहले सदरमुकामभन्दा गाउँ चुनावमय बनेका छन् ।

नाम टुंगो लागेका उम्मेदवार घरदैलोमै व्यस्त छन् । उम्मेदवारको टुंगो नलागेका गाउँमा राजनीतिक दलहरू उम्मेदवार बिनै पार्टीका झन्डासहित प्रचार गर्दै छन् । एमालेले २ नगर र १० गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएपछि प्रचार गरिरहेको छ । माओवादीले पनि अधिकांश स्थानीय तहमा उम्मेदवार तोकेको छ । chunab news gulmi

कांग्रेसले सदरमुकाम रहेको नगरपालिकाबाहेक अन्य सबैमा प्रमुख पदमा उठाउनेको नाम टुंगो लगाएको छ । वडामा समेत उम्मेदवार छनोट बाँकी रहेकाले तुलनात्मक रूपमा कांग्रेसको प्रचार केही कम छ ।

ग्रामीण क्षेत्रका सार्वजनिकस्थल देखि बजार र चिया पसलमा चुनावकै चर्चा छ । दुर्गम गाउँ बस्तीका घर राजनीतिक दलका झन्डाले रंगिएका छन् । व्यापार व्यवसायमा पनि चुनावी चहलपहलको प्रभाव सकारात्मक छ । नेता, कार्यकर्ता पार्टीका चुनाव चिहन अंकित झन्डावाल गाडी र मोटरसाइकलमा दिनहुँ ओहोरदोहोर गर्दै छन् ।

‘दुर्गम गाउँ बल्ल चुनावमय बन्दै छन्,’ मालिका गाउँपालिका २ दर्लिङका भुपाल सुनारले भने, ‘मिति सरेको सर्‍यै गरे पनि चुनावी रमाइलो सेलाएको छैन ।’ द्वन्द्वका समयमा माओवादी प्रभावित क्षेत्र मानिएको दुर्गम क्षेत्र दर्लिङमा अहिले बिस्तारै अन्य पार्टीको प्रभाव पनि बढिरहेको छ । ‘अहिले माओवादी र एमालेबीच प्रतिस्पर्धा हुँदै छ,’ उनले भने, ‘अहिले सबै पार्टीका उम्मेदवार जनताको घरघरमा पुग्दै छन् ।’

गुल्मी दरबार गाउँपालिकाको जुभुङको झिरबासदेखि हटियासम्मको झन्डै २ किमि बस्तीका ९० प्रतिशत सबै घर चुनावी झन्डाले रंगिएका छन् । ‘पहिला एमालेले राख्यो,’ झिरबासकी जुना विकले भनिन्, ‘पछि आएर कांग्रेसले पनि झन्डा राख्छौं भनेपछि हुन्छ भन्यौं ।’

दलित बस्तीका २१ घरमध्ये १३ मा दुवै पार्टीका झन्डा छन् । ‘भोट त हामीजस्ता गरिबलाई बास र जागिरको व्यवस्था जसले गर्छ उसैलाई दिन्छौं,’ झिरबासकै माया परियारले भनिन्, ‘भोट माग्न पनि धेरै आए, झन्डा पनि सबैले राखेका छन् । तर, भोट त हाम्रो समुदायको विकास गर्नेलाई मात्र हो ।’

नेता, कार्यकर्ता भोट माग्न र चुनाव प्रचारमै व्यस्त छन् । गाउँका किसानको कामको चटारो पनि सुरु भएको छ । खेतबारीमा व्यस्त किसानसँग भोट माग्ने उम्मेदवार खेत बारीमै पुग्ने गरेका छन् । घर–घर पुग्ने उम्मेदवार खेत बारीमै पुग्दा नेता कार्यकर्तासँगै मतदातामा समेत चुनावी उत्साह बढेको छ ।

‘असार १४ अघि नै धान रोपेर सक्ने तयारीमा छौं,’ चन्द्रकोट गाउँपालिका ६, हरेवाका खिमबहादुर गुरुङले भने, ‘छिटो खेती लगाएर अलिअलि त प्रचार गर्न पनि हिँड्नु पर्ला ।’ सरकारले धेरैपटक चुनावको मिति सार्दा किसानलाई मर्का परेको उनले सुनाए । ‘अब त पक्कै नसर्ला नि,’ उनले चिन्ता व्यक्त गरे ।

चुनावी चहलपहल बढेसँगै केन्द्रीय नेता गाउँ आउने क्रम पनि बढिरहेको छ । एमालेका सचिव प्रदीप ज्ञवाली ४ दिनदेखि पूर्वी क्षेत्रका सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका उम्मेदवारसँगै चुनाव प्रचारमा छन् । गोकर्ण विष्ट पश्चिमी क्षेत्रका मदाने, मालिका, इश्मा गाउँपालिका र मुसिकोट नगरपालिकाको चुनावी प्रचार सकेर फर्किए । त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी २ नम्बर क्षेत्रका गुल्मी दरबार, छत्रकोट, रुरु गाउँपालिकामा प्रचारप्रसारमा सहभागी भएर फर्किएका छन् । ‘अब उम्मेदवार टुंगो लागेपछि फेरि आउने कार्यक्रम छ,’ कांग्रेस सचिव खिलध्वज पन्थीले भने ।

Comments

comments

Comments are closed.