गुल्मीमा तरकारी उत्पादन बढ्यो, किसानको चिन्ता हटेन

  •  
  •  
  •  
  •  
  •  

किसानले प्रतिकिलो १० भन्दा घटीमा बेचेको टमाटर बजारमा ३० रुपैयाँभन्दा बढीमा बिक्री, उत्पादन गरेको तरकारीले बजार नपाउला कि भन्ने किसानलाई चिन्ता
घनश्याम गौतम
गुल्मी । जिल्लामा व्यावसायिक तरकारी खेतीबाट उत्पादन बढे पनि व्यवस्थित बजार नहुँदा किसानको चिन्ता हटेको छैन।

उत्पादन गरेको तरकारी बिक्रीका लागि किसान आफैंले बजार खोज्दै हिँड्नुपर्ने बाध्यता छ। यसबाट तरकारी खेतीमा लगाउनुपर्ने समय खेर जाने र उत्पादन सस्तोमा बिक्री गर्नुपर्ने किसानलाई समस्या परेको हो। जिल्लाकै अगुवा कृषक अस्लेवाका अर्जुन कनौजेले एकै सिजनमा ७० टनसम्म टमाटर उत्पादन गरेको बताए। आफैं बजारसम्म लैजाँदा खरिदकर्ताले उचित मूल्य नदिने र उल्टै बार्गेनिङ गर्ने समस्या रहेको उनको गुनासो छ।

‘मैले बिक्री गर्दा टमाटर प्रतिकिलो १० रुपैयाँमा बिक्दैन,’ उनले भने, ‘तर, बजारमा पुगेर किन्न खोज्दा तेब्बर मूल्यमा पनि पाइँदैन।’ बजार व्यवस्थापन नहुँदा उत्पादन सस्तोमा बिक्री गर्न बाध्य भएको र उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको उनले बताए। जिल्लाका झन्डै ३५ गाविसका ५५ भन्दा बढी युवा किसान व्यावसायिक तरकारी उत्पादनमा सक्रिय छन्। व्यापारी किसानकै बारीमा पुग्ने गरे बजारको समस्या हल हुने उनीहरू बताउँछन्।

वरिष्ठ कृषि विकास अधिकृत चेतनारायण पाण्डेका अनुसार जिल्लाभर १ हजार ६ सय प्लास्टिक टनेलमा व्यावसायिक टमाटर उत्पादन हुने गरेको छ। केही गाविसका किसानले टनेल बाहिरै पनि परीक्षणका रूपमा उत्पादन थालेका छन्। केहीअघि किसानले टमाटरको राम्रो मूल्य पाएपछि उत्पादन बढेको उनले बताए। १२ देखि १७ प्रकारका तरकारीजन्य वस्तु जिल्लामै उत्पादन हुन्छन्। व्यावसायिक किसानले एकै व्यक्तिले ३० टनसम्म तरकारी उत्पादन गर्दै आएको पाण्डेले बताए।

ठूलो लुम्पेकका किसान खड्गवीर थापाले किसानले टमाटरका बिरुवा रापेकै दिनदेखि बजारको चिन्ता गर्नुपर्ने अवस्था रहेको बताए। ‘मेरो बारीमा १२ हजार टन टमाटर उत्पादन हुँदै छ,’ उनले भने, ‘बजार व्यवस्थापन विश्वासिलो नहुँदा अब कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता सुरु भइसकेको छ।’ त्यसले किसानलाई निरुत्साहित गर्ने उनले बताए। यहाँका १५ गाविसमा उत्पादन भएका तरकारी पाल्पा र बुटवलसम्म निकासी हुन्छ। ‘२५ देखि ३० क्विन्टल तरकारी दैनिक बुटवल जान्छ,’ थापाले भने, ‘फोनमा सोध्दा प्रतिकिलो ३० रुपैयाँँ भने पनि तरकारी लिएर बुटवल पुग्दा १५ मा बार्गेनिङ हुन्छ।’ तरकारी फिर्ता गर्न नमिलेपछि त्यत्तिमै छोडेर हिँड्नुपर्ने बाध्यता सिर्जना हुने उनले बताए।

उद्योग वाणिज्य संघमा रहेको कृषि उद्यम केन्द्रका सल्लाहकार दामोदर पोखरेलले हरेक सिजनमा ७ हजार ५ सय टन तरकारी उत्पादन हुने गरेको बताए। टमाटर २ हजार टन, काउली २ हजार ३ सय टन, बन्दा २ हजार ८ सय टन, काँक्रो ६ सय टन उत्पादन हुने गरेको छ। त्यस्तै घिरौंला २ सय टन, तितेकरेला २ सय ५० टन, बोडी १ सय ५० टन, खुर्सानी १ सय टन उत्पादन हुने गरेको छ। ‘अहिले उत्पादन धेरै बढेको छ,’ पोखरेलले भने, ‘तत्काल विश्वासिलो गरी बजार व्यवस्थापन नगरे किसान निरुत्साहित हुन सक्छन्।’ भदौदेखि मंसिरसम्म बढी तरकारी उत्पादन हुने गरेको उनले बताए।

Comments

comments

Comments are closed.