गुल्मीमा जमिन बाँझिँदै, धान घट्दै

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी । पर्याप्त सिँचाइ र वर्षा दुवै भए पनि जमिन बाँझो रहँदा यो वर्ष गुल्मीमा धान उत्पादन घटेको छ । कार्यालयका कृषि विकास अधिकृत चक्रपाणि पन्थीले बर्सेनि झन्डै दुई हेक्टरका दरले खेतीयोग्य जमिन बाँझोमा परिणत हुँदै गएको बताएका छन् । ‘मुख्य त जनशक्ति अभाव नै हो,’ उनले भने, ‘युवा विदेश गए, बुहारीहरू सहर पसे, गाउँमा खेती गर्ने कोही छैनन् ।’ ज्याला–मजदुरी गर्ने कामदार अभाव, खेताला नपाउनु र आम्दानीभन्दा लागत बढी पर्ने गरेकाले उत्पादनमा कमी आएको उनले बताए ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार पोहोरको तुलनामा यो वर्ष तीन सय ७५ हेक्टर खेतीयोग्य जमिन बाँझो रह्यो । सिँचाइ सुविधा भएको १० हजार चार सय ३२ हेक्टर क्षेत्रफलमध्ये यो वर्ष १० हजार ५७ हेक्टरमा मात्र धानखेती भएको थियो । गत वर्ष सबै जमिनमा खेती हुने गरेको थियो । गत वर्षको तुलनामा जमिन बाँझो भएसँगै धानको उत्पादन नौ सय एक टन कम भएको छ । गत वर्ष २६ हजार दुई सय ५६ टन फलेकोमा यो वर्षको उत्पादन २५ हजार तीन सय ५५ टन रह्यो ।
gulmi barren land
जनशक्ति अभाव र लागतको तुलनामा आम्दानी कम हुने गरेको भन्दै जिल्लाका उर्वर खेत खैरेनी, चौरासी, रूपाकोटको सोता, शान्तिपुर, हरेवा, खज्र्याङ, भुवाचिदी, वामीटक्सार र छल्दीलगायतका स्थानमा प्लटिङ गर्दै घडेरीमा किनबेच फस्टाएको छ । ‘माटोमा मिहिनेत गर्ने कोही नभएपछि खेत बाँझोमा परिणत हुँदै छन्,’ हरेवाको किसान विक्रम गुरुङले भने, ‘गोरु नपाइने, जनशक्ति अभाव, बीउ समस्याले गर्दा लागतभन्दा आम्दानी कम हुने अवस्था आएपछि सबैले खेत घडेरी बनाएर सक्दै छन् ।’ दिनभर खेत जोत्नका लागि एक हल गोरु र जनशक्तिको अहिले १५ सय रुपैयाँ पर्ने गरेको र त्यसमा पनि थप काम गर्ने खेताला नै पाइन छोडेकाले खेत बाँझिँदै गएको उनले बताए ।

कृषि प्राविधिक सहायक सनबहादुर रानाका अनुसार जिल्लामा रामधान, खुमल–४, खुमल–६, खुमल–१०, हंसराज, मकवानपुर–१, खुमल–८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात, अनदी र घैयालगायतका धान रोपिन्छ । घैया धान उत्पादन हुनै छाडेको छ ।

कार्यालयले धान उत्पादनका लागि बीउमा अनुदान, साना सिँचाइ, सहकारी सिँचाइमा सहयोग, बाली संरक्षण, रोग कीरा नियन्त्रणका लागि प्राविधिक र अनुदान सहयोग गर्दै आएको रानाले बताए । जिल्लाको कुल खेतीयोग्य जमिन ८५ हजार छ सय ७१ हेक्टरमध्ये तीन हजार छ सय ३२ हेक्टर क्षेत्रफलमा वर्षभरि नै सिँचाइ हुन्छ । छ हजार छ सय २८ हेक्टर क्षेत्रफल खेतमा आंशिक सिँचाइको सुविधा छ ।

Comments

comments

Comments are closed.