गुल्मीमा चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, जेठ २९ । जिल्ला स्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिले स्थानीय निकाय निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति र महिला तथा बालबालिका कार्यालयको संयोजनमा गरिएको जिल्ला स्तरीय कार्यक्रममार्फत प्रमुख दलका प्रतिनिधिले बालबालिका कुनै अर्थमा प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

निर्वाचनमा दलहरूले बालबालिका प्रयोग गर्दै आएका घटना सार्वजनिक भएको र आसन्न निर्वाचनमा पनि प्रयोग हुन सक्ने भन्दै लिखित प्रतिवद्धता जनाएका हुन् । विगत अवस्थालाई मध्येनजर गर्दै आसन्न निर्वाचनमा बालबालिका प्रयोगलाई पूर्णरुपमा निषेध गर्न राजनीतिक दलहरूबाट प्रतिबद्ध गराइएको बालकल्याण समिति संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले बताए ।
gulmi chunab khabar
बालबालिकाको प्रयोग रोक्न प्रभावकारी अनुगमन संरचना भएपनि आफुसंग प्राप्त सुचना कार्यालयलाई जानकारी दिन महिला विकास अधिकृत प्रतिभा पन्थीले आग्रह गरिन । अनुगमनलाई प्रभावकारी बनाउन महिला विकास अधिकृतको संयोजकत्वमा स्थानीय निर्वाचन बालअधिकार अनुगमन समिति गठन गरिएको छ । ‘प्रत्येक गाउँटोलका घटना थाहा पाउने छुट्टै यन्त्र छैन,‘ प्रमुख जिल्ला अधिकारी ढुंगानाले भने,‘सुचना आए त्यसलाई गम्भिरताका साथ हेर्छौ ।’

निर्वाचनका क्रममा बालबालिकालाई प्रचारप्रसारका लागि पर्चा पम्पलेट तथा पोष्टर टाँस्न नलगाउने, जुलुस ¥यालीमा सहभागी नगराउने सहमती भएको छ । त्यस्तै उनीहरूलाई कुनै पनि सामग्री ओसारपसार, कलाकार, सभासम्मेलनमा सहभागी नगराउने, एकअर्का विरुद्ध जासुसी गराउने वा सूचना आदानप्रदानमा बालबालिका प्रयोग नगर्ने लिखित प्रतिबद्धतामा उल्लेख छ । निर्वाचन पुर्व, निर्वाचनका बेला र निर्वाचन पश्च्यात गरी तीन चरणमा बालबालिकाको प्रयोग हुने गरेको जिल्ला बाल कल्याण समितिका सदस्य घनश्याम गौतमले बताए ।
जुन दलले शुरुमा बालबालिका प्रयोग गर्छ त्यसलाई तत्काल कारबाहि गरे मात्र अरुले गल्ती नगर्ने र नदो¥याउने माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दिनेश पन्थीले बताए । ‘घरमा पार्टीका टिसर्ट र टोपी लिएर आउने,’ पन्थीले भने,‘ बच्चाले जिद्धी गरेर लगाएपछि आचारसंहिताका कुरा गर्नु अस्वाभाविक हो ।’ त्यस्ता उत्पादन र प्रचारमै रोक लगाउनुपर्नेमा उनले जोड दिए । त्यस्तै राष्ट्रिय जनमोर्चाका नेता हरि न्यौपानेले बिद्यायलयका शिक्षक र बिद्यार्थीलाई पार्टीको सदस्यता दिनुनै गल्ती भएको बताए ।

फोटो ः सदरमुकाममा चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्न आयोजना गरिएको कार्यक्रम ।

Comments

comments

Comments are closed.