जिल्ला समाचार

गुल्मीमा चार सय ८९ जनाले निर्वाचन खर्च विवरण बुझाएनन्

हुमाकान्त पोखरेल
२६ भदौ, गुल्मी । स्थानिय निर्वाचनमा उम्मेदवारी दिएका गुल्मीका चार सय ८७ जनाले अझैसम्म निर्वाचन खर्च विवरण बुझाएका छैनन् । मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्रै निर्वाचन खर्च विवरण निर्वाचन कार्यलयमा बुझाउने प्रावधान भएपनि मतपरिणाम आएको ६७ दिन वितिसक्दा पनि ३५.१३ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

दुई नगरपालिका र सात गाउँपालिका गरी १२ स्थानिय तह रहेको गुल्मीमा चार सय ८९ पदका लागि १३८६ जनाले उम्मेदवारी दिएका थिए । तिमध्ये आठ सय ९९ जनाले मात्रै निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यलय गुल्मीले जनाएको छ ।

मुसिकोट नगरपालिकामा एक सय ४१ जनाले उम्मेदवारी दिएकोमा एक सय १६ जनाले मात्रै निर्वाचन खर्च विवरण बुझाएका छन् । रुरु गाउँपालिकामा ७१ जनामध्ये ४२ जना, रेसुङ्गा नगरपालिकामा दुई सय चार जनामध्ये एक सय ४३ जनाले निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । त्यस्तै मालिका गाउँपालिकामा एक सय २५ मध्ये एक सय ११, छत्रकोट गाउँपालिकामा ८० जनामध्ये ५४ जना, धुर्कोट गाउँपालिकामा एक सय तिन जनामध्ये ८५ जनाले मात्र खर्च विवरण पेश गरेका छन् ।

त्यसैगरि कालिगण्डगी गाउँपालिकामा ८८ जनाले उम्मेदवारी दिएकोमा ७० जनाले मात्रै खर्च बुझाएका छन् । चन्द्रकोट गाउँपालिकामा एक सय ४० मध्ये २६, इश्मा गाउँपालिकामा ९७ मध्ये ७१, सत्यवति गाउँपालिकामा ९८ मध्ये ५३, गुल्मीदरबार गाउँपालिकामा एक सय नौ जनामध्ये ६० जना र मदाने गाउँपालिकामा एक सय ३० जनामध्ये ७४ जनाले मात्र निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यलयमा बुझाएका छन् ।

नगरपालिकाको प्रमुख तथा उपप्रमुखका उम्मेदवारले चार लाख ५० हजार तथा वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारले स्थानिय निकायको चुनावमा दुई लाख रुपैँयासम्म खर्च गर्न पाउने प्रावधान निर्वाचन आयोगले गरेको थियो । त्यस्तै, गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले तिन लाख ५० हजार तथा वडाध्यक्ष र वडासदस्यका उम्मेदवारले एक लाख १५ हजार रुपैँयाभन्दा बढी खर्च गर्न नपाइने ब्यवस्था छ ।

विजयी प्रमुख र उपप्रमुख नै खर्च विवरण बुझाएनन्

असार १४ गते भएको स्थानिय निकायको निर्वाचनमा गुल्मीका प्रमुख र उपप्रमुख पदमा विजयी उम्मेदवारले समेत निर्वाचन खर्च विवरण बुझाएका छैनन् । सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकाल, मदाने गाउँपालिकाका उपप्रमुख सरिता खड्का र चन्द्रकोट गाउँपालिका उपप्रमुख राधिका अर्यालले मतपरिणाम आएको ६५ दिन वितिसक्दा पनि निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यलयमा नबुझाएको जिल्ला निर्वाचन कार्यलयका प्रमुख गणेश खत्रीले जानकारी दिए ।

खर्च विवरण बुझाउने प्रमुख –उपप्रमुखहरु

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले चार लाख ३२ हजार रुपैँयाको निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यलयमा बुझाएका छन् । त्यस्तै उपप्रमख कमला गौतमले चार लाख १८ को खर्च विवरण पेश गरेका छन् । त्यस्तै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले चार लाख १२ हजार एक सय ६६ रुपैयाँ र उपमेयर सिता भण्डारीले चार लाख दुई हजार तिन सय २५ रुपैँयाको निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको छ । उनीहरुले गत साउन १२ गते निर्वाचन खर्च विवरण बुझाएका हुन् ।

रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले दुई लाख ५६ हजार र उपप्रमुख लक्ष्मी देवी गौतमले दुई लाख ३८ हजारको निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यलयमा बुझाएका छन् । मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले तिन लाख १७ हजारको खर्च विवरण साउन १३ गते पेश गरेका छन् । त्यस्तै उपप्रमुख देवा रिजालले दुई लाख ९७ हजारको खर्च विवरण पेश गरेकी छिन् । छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले स्थानिय निर्वाचनमा तिन लाख २६ हजार र उपप्रमुख नर्मदा भण्डारीले तिन लाख छ हजार नै सय रुपैयाँ खर्च गरेको पाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले तिन लाख २१ हजार रुपैँयाको खर्च विवरण निर्वाचन कार्यलयमा पेश गरेका छन् । उपप्रमुख शिव बहादुर खत्रीले तिन लाख चार हजार रुपैँयाको खर्च विवरण निर्वाचन कार्यलयमा बुझाएको कार्यलय प्रमुख खत्रीले जानकारी दिए । कालिगण्डगी गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले एक लाख ५० हजार उपप्रमुख तारा थापाले दुई लाख १५ हजारको निर्वाचन खर्च विवरण पेश गरेका छन् । चन्द्रकोट गाउँपालिका प्रमुख दोर्ण बहादुर खत्रीले दुई लाख ७१ हजार को खर्च विवरण बुझाएका छन् । इश्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले दुुई लाख १७ हजारको खर्च विवरण पेश गरेका छन् भने उपप्रमुख बिमला खत्रीले तिन लाख रुपैँयाको निर्वाचन खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै सत्यवति गाउँपालिका उपप्रमुख शुवर्ण शाहीले तिन लाख २८ हजार नौ सय बराबरको निर्वाचन खर्च विवरण बुझाएका छन् । गुल्मी दरबार गाउँपालिकाका प्रमुख अशोक थापाले तिन लाख २० हजार तथा उपप्रमुख मिना भण्डारीले एक लाख ९८ हजारको खर्च विवरण पेश गर्नुभएको छ । मदाने गाउँपालिकाका प्रमुख दान बहादु केसीले दुई लाख ८१ हजार रुपैँयाको खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख खत्रीले जानकारी दिएका छन् ।

विजयी गाउँपालिका प्रमुखमध्ये सबैभन्दा बढी खर्च छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ र सबैभन्दा कम खर्च कालिगण्डगी गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले गरेका छन् । छत्रकोट अध्यक्ष पन्थले तिन लाख २७ हजार तथा कालिगण्डगी अध्यक्ष थापाले एक लाख ५० हजार खर्च गरेको विवरण आएको जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको छ ।

के हुन्छ कारवाही ?

राजनीतिक दल, उम्मेदवार तथा तिनका प्रतिनिधिले निर्वाचन परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने ब्यवस्था स्थानिय तह निर्वाचन ऐन २०७३ को दफा ६४ मा उल्लेख छ । निर्वाचन ऐन २०७३ मा राजनीतिक दल अथवा उम्मेदवारले निर्वाचन खर्चको विवरण भए÷नभएको विवरणमा पनि अस्वभाविक रुपमा निर्वाचनको स्वच्छतामा पतिकूल हुने गरी गैरकानुनी प्रयोजनको लागि खर्च भएको पाइएमा निर्वाचन आयोगले खर्च भएबराबरको रकम अथवा पाँच लाख रुपैयाँ जरिवाना तिराउन सक्ने कानुनी ब्यवस्था छ । गुल्मीमा निर्वाचनको अन्तिम नतिजा २३ असारमा आएपनि आयोगमा अधिकाशं उम्मेदवारले निकै पछि मात्रै खर्च विवरण बुझाएका थिए ।

तर जिल्ला निर्वाचन कार्यलय गुल्मीका पूमुख खत्रीले भने समयमै निर्वाचन खर्च विवरण नबुझाउनेलाई के कारबाही हुन्छ भन्ने स्पष्ट नभएको उल्लेख गरे । ‘निर्वाचन आयोगले कारबाही गर्न सक्छ भन्ने उल्लेख छ ।’ उनले भने, ‘तर, यस्तो किसिमको कारवाही हुन्छ भन्ने स्पष्ट पारिएको छैन ।’

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।