गुल्मीमा उपभोग्य वस्तुको मूल्य बढ्यो

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
आश्विन १४ । चाडपर्व नजिकिँदै गर्दा पश्चिमी क्षेत्रका दुर्गम बस्तीमा दैनिक उपभोग्य सामग्रीको मूल्य निकै बढेको छ ।
अनुगमन अभावले गाउँस्तरमा सञ्चालन भएका साना पसलेले म्याद सकिएका सामान बेच्न र मूल्यमा आफूखुसी गर्ने अवसर पाएका छन् । जिल्लाका म्यालपोखरी, बाँझकटेरी, मलायागिरी, अग्लुङ, पुर्कोटदह र सिर्सेनी गाविसमा २५ किलोको चामल प्रतिबोरा ३ सयदेखि ५ सय रुपैयाँसम्म बढेको छ । सदरमुकाममा भने १३ सय ५० मा पाइन्छन् । गाउँमा १७ सय पुगेको छ । त्यस्तै सनफलावर तेल प्रतिलिटर २७० बाट २९५ पुगेको छ । चिनी, मसलामा पनि मूल्यवृद्धि भएको छ । चाउचाउ, चिजबल, कुरकुरे, बिस्कुट, पेयपदार्थ प्राय: म्याद सकिएका भेटिन्छन् । ८० रुपैयाँको चिनी अहिले प्रतिकेजी ९५ सम्म पुगेको म्यालपोखरीकी सावित्री विकले बताइन् । ‘चामल, दाल, तेल चिनी सबैमा पहिलेभन्दा धेरै महँगी बढयो,’ उनले भनिन्, ‘किनेर खान नसकिने स्थिति आयो ।’
‘पहिला धेरै गाडी चल्थे, सामान ल्याउन पनि सजिलो थियो,’ म्यालपोखरीका व्यापारी रेश्मीराज भट्टराईले भने, ‘अहिले बर्खाले बाटो बिगारेकाले गाडी धेरै चल्दैनन्, चलेकाले पनि धेरै सामान ल्याउन मान्दैनन् ।’ गाउँमै बिक्रीका लागि आउने गाडीवालाले पनि बाटो अप्ठयारो भएकाले मूल्य बढाएको बताए ।
बाँझकटेरीका बाबुराम भुसालले बाटो बिग्रिएको भन्दै दैनिक उपभोग्य सामानको मूल्य अचाक्ली बढेको बताए । ‘दैनिक प्रयोग हुने घरायसी खाद्यान्न किन्नै नसकिने भइसक्यो,’ उनले भने, ‘किनेर खानेलाई मासिक २ देखि ३ हजार रुपैयाँ खर्च बढेको छ ।’ सामानको मूल्य यस्तै रहे सर्वसाधारणको दसैं महँगो हुने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बजार अनुगमनको काम पश्चिमी क्षेत्रबाट आफ्नै नेतृत्वमा तीव्र पारिएको बताए ।
मूल्य बढी लिने, दर्ताबिना चलेका, पसलको बोर्ड नराख्ने व्यापारीलाई प्रशासनमै उपस्थित हुन एक साताको अल्टिमेटम दिएको उनले बताए । टोलीले १५ हजारभन्दा बढी मूल्यका म्याद सकिएका खुद्रा सामग्रीसहित चामल, दाल र सुजी फेला परेको प्रशासनका प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

Comments

comments

Comments are closed.