गुल्मीको ३ नम्बर क्षेत्रमा एमालेको ‘साइज घटाउन’ कांग्रेस–माओवादी ‘सहकार्य’

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, ७ जेठ । गुल्मीको क्षेत्र नम्बर तीनमा नेपाली कांग्रेस र एकिकृत माओवादी केन्द्रबीच चुनावी तालमेल हुने सम्भावना बढेको छ । जिल्लाभर चुनावी तालमेल नहुने भएपछि तीन नम्बरमा ताममेल गर्ने बारे सल्लाह भइरहेको नेताहरुले बताएका छन् । गुल्मीमा दोस्रो चरणको निर्वाचन अन्तर्गत आउँदो जेठ ३१ गते स्थानीय निर्वाचन हुँदैछ ।

एमाले र कांग्रेसले गर्ने भनेको चुनावी तालमेल भाँडिएसँगै कांग्रेस र माओवादीबीच चुनावी तालमेलका विषयमा विभिन्न चरणमा छलफल भएका छन् । एमाले सचिव गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा कांग्रेस माओवादीले तालमेल गरेर एमालेको ‘साइज’ घटाउने रणनीति बनाएको बुझिएको छ ।
Congress and Maoist
यद्यपी क्षेत्र नम्बर तीनमा एमाले बलियो शक्ति भएको नेताहरु बताउँछन् । तालमेल भएमा एमालेलाई कमजोर बनाउन सकिने नेताहरुले विश्लेषण गरेका छन् । ‘आज (आइतवार) साँझ कांग्रेस र माओवादीबीच अन्तिम छलफल हुँदैछ, सकेसम्म माथिल्लो तहबाटै, नत्र तल्लो तहमा भएपनि मिल्ने विषयमा सोचेका छौं,’ एक कांग्रेस नेताले भने, ‘जसरी भएपनि एमालेको साइज घटाउने हाम्रो उदेश्य हो ।’

अहिले सम्म पद बाँडफाँडमा कुरा मिलेको छैन । आज पनि कुरा मिल्ने सम्भावना निकै कम छ । गुल्मीका क्षेत्र नम्बर एक र दुईमा कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने भएपनि क्षेत्र नम्बर तीनमा एमालेले यी दुई पार्टीको तुलनामा केही बलियो मानिन्छ ।

त्यसैले क्षेत्र नम्बर तीनमा चुनावी तालमले गर्ने विषयमा छलफल भएको हो । क्षेत्र नम्बर तीनमा मदाने, मालिका र धुर्कोट गरेर तीन वटा गाउँपालिका रहेका छन् । यी तीन गाउँपालिकामा कांग्रेस र माओवादी मिलेर जान खोजेका हुन् ।

माओवादीले सबै ठाउँमा ५०/५० को हिस्सा मागेको छ । तर कांग्रेस उक्त हिस्सा दिन सहमत भएको छैन । मालिका बाहेकका ठाउँमा कांग्रेस प्रमुख पद माओवादीलाई दिन तयार छैन । उप प्रमुखमा चाहिँ सल्लाह गर्न सक्ने बताएको छ । तर माओवादीले बराबर हिस्सा मागेको छ ।

एमाले नेताहरुले चाहिँ कांग्रेस माओवादीको तालमेल भएपनि आफूहरुले चुनाव जित्ने बताउँछन् । क्षेत्र नम्बर तीनमा आफूहरुको सजिलो बहुमत भएको उनीहरुको दावी छ । तर कांग्रेस एमालेले यस पटकको स्थानीय निर्वाचनमा ‘कुनैपनि हालतमा’ एमालेको साइज घटाउने विषयमा सोचिरहेको देखिन्छ ।

आज साँझ पाँच बजे कांग्रेस माओवादीको उच्चस्तरीय बैठक तम्घासमा बस्दैछ । यदि यी दुई दलबीचमा एकता नभएमा गुल्मीमा कांग्रेस, एमाले र माओवादी त्रिपक्षिय मैदानमा हुनेछन् । यो भिडन्तमा एमाले केही बलियो देखिने धेरैले आंकलन गरेका छन् । त्यसैले आफूहरु तालमेलका लागि अन्तिम कोशिश गरिरहेको कांग्रेस तथा माओवादी नेताहरुले बताएका छन् । -लोकान्तर डट कम

Comments

comments

Comments are closed.