गुल्मीका दाह्रीवाल कनौजे तरकारी बेचेरै लखपती

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी । झुप्प दाह्री भएका गुल्मी अस्लेवा चौरका युवा अर्जुन कनौजे यतिवेला लखपति तरकारीवालाको रूपमा परिचित हुन थालेका छन् । दाह्रीवाला कनौजे भनेपछि सदरमुकामदेखि गाउँसम्म उनलाई नचिन्ने कोही छैनन् ।

कृषिसम्बन्धी जिल्लाका हरेक सेमिनारमा उनको उपस्थिति हुने गर्छ । तर, आजभोलि उनको पहिचान फेरिएको छ । अहिले धेरैले उनलाई तरकारीवाला कनौजे भन्छन् । कनौजेले पैँचो पसल बलेटक्सार तथा जिल्लाका विभिन्न बजारमा मात्रै वार्षिक ४०/५० लाखकोे तरकारी र पशुजन्य पदार्थ बिक्री गरी आम्दानी लिन थालेका छन् ।
arjun kanauje
अध्ययनशील कनौजे
कक्षा ६ देखि अखिल क्रान्तिकारीको राजनीति सुरु गरेका उनीसँग द्वन्द्वकालकोसमेत अनुभव छ । तत्कालीन माओवादीको विद्यार्थी विभाग सम्हालेका कनौजे करिब ४ वर्ष जंगल नै पसे । ०५८ देखि ०६२ सम्मको द्वन्द्वकालीन जंगली जीवन बिताएका उनी शान्तिप्रक्रियापछि घर फर्किएका थिए ।
त्यसपछि पढाइसँगै कृषि क्षेत्रमा होमिए । व्यवस्थापन संकायबाट स्नातकोत्तर तह दोस्रो वर्ष तथा मानविकी संकायबाट राननीतिशास्त्रमा स्नातक तह तृतीय वर्षमा अध्ययन गर्ने कनौजेले जिल्लाकै अगुवा युवा कृषकको उपमा पाएका छन् । ‘जंगलमा बमका डल्ला बनाउन सिकाइन्थ्यो,’ कनौजेले भने, ‘राजनीतिले कोल्टे फेरेपछि घर फर्किएँ । अहिले बन्दागोभीका डल्ला बनाउँछु ।’ ।

१२५ रोपनीमा व्यावसायिक तरकारीखेती
कनौजेले व्यावसायिक कृषि गर्न थालेको एक दशक पुगिसकेको छ । आफ्नै २५ रोपनी र एक सय रोपनी भाडाको गरी एक सय २५ रोपनीमा तरकारीखेती गर्दै आएका छन् उनले । उत्पादित टमाटर, काउली, बन्दा, काँक्रो र करेला बलेटक्सारमा रहेको पैँचो पसल, खैरेनी, रुद्रवेणी, रिडी तथा बुटवलका बजारमा खपत हुने गरेको कनौजेले बताए ।

दैनिक ५० लिटर दूध बिक्री
उनले पछिल्लो समय पशुपालन व्यवसाय पनि सुरु गरेका छन् । अहिले उनले ६० वटा उन्नत जातका र २० वटा साना बाख्रा बिउका लागि पालेका छन् । अर्गानिक तरकारी उत्पादन गर्न मल आवश्यक परेकाले १३ वटा भैँसी र दुईवटा उन्नत गाई पालेका उनको भनाइ छ । पशुपालनबाट दैनिक ५० लिटर दूध बिक्रीवितरण गर्दै आएको कनौजेले जानकारी दिए । उनकोमा अहिले सातजनाले फर्ममै काम पाएका छन् ।

कृषि कर्मले दिलाएको सम्मान
कृषिमा उनको आफ्नै मिहिनेत छ । थुपै्र समय कृषिमै बिताएका छन् । कनौजेले भने, ‘हिजो कृषिमा लगानी गर्दा धेरैले पत्याएनन्, बौलायो पनि भने । अहिले धेरै संघसंस्थाबाट सम्मानित हुँदा त्यसो भन्नेहरू अचम्ममा पर्छन् ।’कनौजे ०७९ मा जिल्ला विकास समितिबाट उत्कृष्ट युवा किसान पुरस्कारबाट पुरस्कृत भएका थिए । त्यस्तै, ०७० मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट जिल्ला कृषि विकास कार्यालयले कनौजेलाई सम्मान गरेको थियो ।

एकीकृत ग्रामीण विकास समाज र नयाँघरले सञ्चालन गरेको उत्कृष्ट उद्यमीको प्रतिस्पर्धाका १० उत्कृष्ट उद्यमी हुन् । त्यति मात्र नभएर उनलाई दर्जनौँ संघ–संस्थाले पनि सम्मान गरेका छन् । उत्कृष्ट अगुवा कृषक कनौजेले कृषि विकास मन्त्रालयमार्फत १० महिने कृषि प्राविधिक तालिममा इजरायल जाने तयारीमा छन् ।

कनौजेको पौरखमा खुसी परिवार
कनौजेको परिवार ठूलो छ । उनका परिवारमा हजुरबुबा, हजुरआमासँगै बुबाआमा, तीन बहिनी र श्रीमती छन् । व्यवसायसँगै उनलाई परिवार चलाउन पनि चुनौती छन् । तर, व्यावसायिक कृषि कर्मका कारण सजिलो गरी परिवार चलेको छ ।

खर्च कटाएर वार्षिक आम्दानी १५ लाख
आमाबुवाले घरको काम सुल्झाएपछि कनौजेलाई कृषिमा लाग्न सजिलो भएको छ । खर्च कटाएर वार्षिक १२ देखि १५ लाखसम्म कमाउने कनौजेको पारिवारिक खर्च पनि उत्तिकै छ । उनका तीन बहिनी काठमाडौंका विभिन्न क्याम्पसमा स्नातक तथा स्नातकोत्तर अध्ययन गर्छन् । श्रीमती सावित्रा पाण्डे कनौजे पनि विद्यार्थी हुन् ।

बजारभाउ चुनौती

खेतमा सोचेभन्दा राम्रो तरकारी फल्दा धेरैपटक कनौजे खुसी भए । तर, उत्पादनले आशा गरेकै मूल्य नपाउँदा कहिलेकाहीँ चित्त दुख्ने गरेको अनुभव उनले सुनाए । सानो बजार र अस्वच्छ प्रतिस्पर्धाले बजारमा उत्पादनले भाउ नपाउँदा व्यवसायमा चुनौती थपिएको उनको बुझाइ छ । कहिलेकाहीँ तरकारी नबिकेर गाईभैँसीलाई खुवाउनुपरेको अनुभव पनि उनीसँग छ । त्यस्तै, तत्काल परिवर्तन भइहाल्ने मौसम पनि किसानका लागि समस्या हुने गर्छ । जसले गर्दा तरकारीमा देखिने रोग किरा तथा बजारमा स्थान नपाउने अवस्था आउने गरेको कनौजे बताउँछन् ।

सामाजिक संघसंस्थामा आबद्धता
जिल्लामा उत्कृष्ट उद्यमीका रूपमा चिनिएका कनौजे विभिन्न सामाजिक संघसंस्थामा पनि जोडिएका छन् । उनी जनता मावि अस्लेवाको विद्यालय व्यवस्थापन समिति सदस्य, गाविसस्तरीय मूल कृषक समूह अस्लेवाका अध्यक्ष, किसान महासंघका जिल्ला अध्यक्ष तथा नेकपा एमालेको दुई नम्बर इलाका उपाध्यक्ष पनि हुन् । ‘म जुन संस्था भए पनि क्रान्ति चाहन्छु, त्यो क्रान्ति कृषिको हो,’ कनौजेले भने, ‘मेलै एउटै सन्देश दिन चाहन्छु– उच्च शिक्षा लिँदै गरेका युवाले सरकारी कार्यालयको कुर्सी र विदेश उड्ने जहाज नखोजौँ ।’ उनीसँग अहिले गाउँका अन्य युवा पनि कृषि व्यवसायमार्फत आर्थिक समृद्धि खोजिरहेका छन् ।

Comments

comments

Comments are closed.